इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुन् ।
सेलरोटी बनाउन जान्ने उनीहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उनीहरु पनि आइलागेको जिम्मेवारी झर्को नमानी पूरा गर्थे ।
विसं २०७३ सालमा उनीहरु सदस्य भएको ‘मायाको घर’ संस्थाको वार्षिकोत्सवमा सहभागीलाई के खुवाउने भनि पदाधिकारीबीच छलफल हुँदा नन्द भाउजुले सेलरोटी पकाएर खुवाउने जिम्मा लिए । वार्षिकोत्सवका सहभागी सबैले उनीहरुले पकाएको सेलसोटी मीठो मानी खाए । सेलरोटीको स्वादका चर्चा इटहरी बजारमा फैलियो ।
वार्षिकोत्सवमा सहभागी भएका एकजनाले आफ्नो घरको पूजाका लागि त्यसै दिन एक सय वटा सेलरोटीको अर्डर दिए । नन्द, भाउजुले भोलिपल्ट सय सेलरोटी पकाएर सहभागीको घरैमा पुर्याइदिए । सेलरोटीको प्रसंशा त्यहाँ पनि भयो । यो उनीहरुको व्यावसायिक सुरुवात थियो । त्यसपछि इटहरी, धरान र विराटनगरका विभिन्न ठाउँबाट पूजाआजा, व्रतबन्ध, पास्नीका लागि अवसरमा सेलरोटीको अर्डर आउन थाल्यो ।
इटहरी, धरान र विराटनगरका सुपरमार्केटले पनि नन्द, भाउजुले पकाएको सेलरोटी खोज्न थाले । नन्द, भाउजुले सोखका रूपमा थालेको सेलरोटीले विस्तारै व्यवसायको रूप लियो । उनीहरुले यसका लागि कम्पनी दर्ता गरे र सेलरोटी पकाउँदै बिक्री गर्न थाले ।
उनीहरुले अहिले ‘अर्गानिक चन्द्रमा कोशेली तथा मसला उद्योग’मार्फत् सेलरोटी पकाउँदै आएका छन् । यहाँ उनीहरुबाहेक पाँच जनाले जागिर पाएका छन् । सेलरोटी पकाउने काममा मात्र सीमित नभएर नन्द भाउजुको जोडीले उद्योगको दायरा फराकिलो बनाउँदै लगेका छन् । हाल उनीहरुको कम्पनीबाट अनर्सा, सुत्केरी मसला, बेसार, मस्यौरा, मकैको चामल, जौ र चना मिश्रित सातुको पनि उत्पादन भइरहेको छ ।
हाल विराटनगर–२ स्थित शङ्करपुरमा आयोजना गरिएको ‘सिएनआइ एक्स्पो–२०७९’मा पनि उनीहरुले स्टल राखेका छन् । स्टलमा पकाएको सेलरोटी चाख्न उपभोक्ताको बाक्लो भिड देख्न सकिन्छ ।
एक्स्पोमा नन्द र भाउजुले दैनिक पाँच सयदेखि आठ सय सेलरोटी बिक्री गर्दै आएका छन् । एउटा सेलरोटीलाई ३० रुपैयाँमा बिक्री गर्छन् । भाउजु रिता मिश्रले संस्थामा खाजाका रूपमा पकाएर बाँडिएको सेलरोटीले आफूलाई उद्यमी बनाएको बताउँछिन् ।
उनले सेलरोटीको अर्डर अत्यधिक हुन थालेपछि उद्योग खोलेर काम सुरु गरेको बताइन् । अन्य खाद्यान्न सामग्रीसँगै उत्पादनको काम पनि थालेको बताइन् । मिश्रका अनुसार उनीहरुले हाल दैनिक तीन हजार सेल पकाउँछन् र यसबाट सबै खर्च कटाएर मासिक ५० देखि ६० हजारसम्म बचत हुन्छ ।
सीमित जनशक्तिका कारण उत्पादन विस्तार गर्न अझै नसकिएको उनको भनाइ छ ।