गर्भावस्थाको समयमा धेरै शारीरिक परिवर्तन हुन्छन् । जब निषेचित अण्डा पाठेघरमा जोडिन्छ, तब गर्भावस्था सुरु हुन्छ । तर कतिपय गर्भवती महिलाहरूमा भने पाठेघर बाहिर बच्चा बस्ने समस्या पनि हुन्छ ।
श्रीमानको शुक्रकीट र अण्डाशय मिलेर ‘जाइगोट’बन्छ । त्यो जाइगोट बन्ने प्रक्रिया अण्डबहिनी नलीमा हुन्छ र पछि त्यो पाठेघरमा आउँछ । पाठेघरमा त्यो नौ महिना हुर्किन्छ । विभिन्न कारणले त्यो जाइकोज पाठेघरमा नआएर अण्डबाहिनी नली, अण्डाशयमा, आन्द्राको माथि बोसोमा, आन्द्रामा, पाठेघरको तल्लो तहमा गएर टाँसिन्छ र त्यहाँ हुर्कने प्रयास गर्छ । यसलाई पाठेघर बाहिर बच्चा बसेको वा ‘एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ । सामान्यतया एकदेखि १० प्रतिशत गर्भवती महिलामा ‘एक्टोपिक प्रेग्नेन्सी’ हुन्छ ।
फर्टिलाइज भएको भ्रुण पाठेघरमा आएर विकास हुनुपर्ने हो । तर पाठेघरमा नगई त्यो अण्डबहिनी नलीमा वा अन्यत्र बस्छ । त्यहाँ त गर्भ हुर्कन सक्दैन जसले गर्दा फुट्छ । धेरै अवस्थामा फुटेर रगत बगेपछि मात्र थाहा पाउँछन् ।
लक्षण
पाठेघरबाहिर बच्चा बस्दा देखिने पहिले लक्षण गर्भावस्थामा जस्तै महिनावारी रोकिनु हो । साथै धेरै वाकवाकी लाग्ने, तल्लो पेट दुख्ने र रगत बग्ने समस्या हुन्छ । बच्चा बसेर पनि फुटिसकेको रहेछ भने बेहोस हुने, चक्कर लाग्ने, धेरै रगत बग्ने र मृत्यु समेत हुन सक्छ ।
पाठेघर बाहिर बच्चा बस्ने कारण
– पाठेघरको भित्री तहमा संक्रमण
– पहिला संक्रमण भएर ट्युबमा क्षति भएको अवस्थामा
– पाठेघर तथा अण्डबहिनी नलीको अन्य समस्या
– ट्युबको पहिला शल्यक्रिया भएको भए
– जन्मजात पाठेघर र ट्युबमा समस्या
ध्यान दिनुपर्ने कुरा
पाठेघर बाहिर बच्चा बसेका अधिकांश महिला अवस्था खराब भएपछि अस्पताल पुग्छन् । यो समस्या गर्भवती भएपछि तीन महिनाभित्रको समस्या हो । महिनावारी रोकिएपछि गर्भ रहेको छ कि छैन भनेर जाँच गर्नुपर्छ । गर्भ रहेको छ भने ६ देखि ८ हप्तामा अल्ट्रासाउन्ड गर्नुपर्छ । अल्ट्रासाउन्ड गर्दा बच्चाको अवस्था थाहा हुन्छ ।
उपचार
पाठेघर बाहिर बच्चा बसेको छ भने तुरुन्त उपचार गर्नुपर्छ । आठ हप्ताअघि नै समस्या पत्ता लाग्यो भने उपचार अलि सहज हुन्छ । त्यसपछि भने फुट्ने सम्भावना हुन्छ । फुटेर रक्तस्राव हुन्छ र रगतको कमी हुन्छ । फुटेको ठाउँलाई शल्यक्रिया गरेर काटेर हटाउनुपर्छ । रगतको कमी भएको छ भने रगत दिनुपर्छ ।
बच्चालाई बचाउन सकिन्छ ?
पहिले यसरी पाठेघर बाहिर बच्चा बस्दा आमा बच्चा दुवैलाई बचाउन सकिंदैन थियो । पछि आमालाई बचाउन सकिने भयो । अहिले आमा र आमाको प्रजनन् क्षमतालाई बचाउन सकिन्छ । तर अक्टोपिक प्रेग्नेन्सी नफुटेको अवस्थामा नै पत्ता लाग्यो भने पनि बच्चालाई भने बचाउन सकिंदैन ।
त्यसैले गर्भ राख्नुभन्दाअघि दम्पतीले योजना बनाउनुपर्छ । चिकित्सकसँग परामर्श लिएर स्वास्थ्य जाँच गरियो भने केही समस्या छ भने पत्ता लाग्छ र त्यो समस्याको उपचार गरेपछि गर्भ राखियो भने आमा र बच्चा दुवै स्वस्थ हुन सक्छन् ।