आइतबार, जेठ ६ गते २०८१

हिमालय लोकस्टार आजदेखि, अडिसन राउण्डमा ८० जनाको प्रतिस्पर्धा

हिमालय लोकस्टार आजदेखि, अडिसन राउण्डमा ८० जनाको प्रतिस्पर्धा

अखबार दैनिक
मंगलबार, माघ ३ २०७९
  • हिमालय लोकस्टार आजदेखि, अडिसन राउण्डमा ८० जनाको प्रतिस्पर्धा

    काठमाडौं । नेपाली मौलिक लोकसंगीतको पहिलो टेलिभिजन रियालिटी शो ‘हिमालय लोकस्टार’को प्रसारण आज (मंगलबार)देखि हुँदैछ । हिमालय टेलिभिजनमा मंगलबार र बुधबार राति ८ बजेदेखि कार्यक्रम प्रसाराण हुने जनाइएको छ ।

    images

    आगामी ६ एपिसोडसम्म अडिसन राउण्ड सञ्चालन हुनेछ । अडिसन चरणमा ८० जना सहभागीको प्रतिस्पर्धा हुँदैछ । त्यसपछिका दुई एपिसोडमा हुने मेगा अडिसनबाट उत्कृष्ट २५ जना छनोट हुनेछन् । त्यसबाट अन्तिम २० हुँदै फाइनलमा पाँच जनाबीच प्रतिस्पर्धा हुनेछ । कार्यक्रम प्रस्तोताको रुपमा पूर्वमिस नेपाल वल्र्ड नम्रता श्रेष्ठ र गायक प्रकाश सपुत हुनेछन् ।

    फिल्म निर्देशक समेत रहेका सिमोस सुनुवारले निर्देशन गर्ने रियालिटी शोमा वरिष्ठ लोकगायक कुमार बस्नेत महाजजको रुपमा हुनेछन् । जजको रुपमा चाहिं कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र रामजी खाँण हुनेछन् । महाजज बस्नेतलाई मेगा अडिसन राउण्डबाट मात्रै देख्न पाइने भएको छ । अडिसन राउण्डमा तीन जजले मूल्यांकन गर्नेछन् ।

    रोचक कुरा के छ भने विजेता छनोट जज र दर्शकको भोट दुवैलाई आधार बनाइने भएको छ । निर्देशक सुनुवारले प्रतिस्पर्धीलाई स्वच्छ र सन्तुलित तुल्याउन जजको मूल्यांकन र दर्शकको भोट दुवै माध्यमलाई आत्मसात् गरिने बताए । यो रियालिटी शोमार्फत मुलुकका सबै समुदायको विविधतालाई समेटिने र विशुद्ध लोकगीत मात्र प्रस्तुत गर्ने निर्देशक सुनुवारले जानकारी दिए ।


    ‘लोकगीतलाई प्राथमिकता दिएर प्रतिस्पर्धा हुनेछ । चार वर्ण छत्तीस जातको साझा फूलबारी जो भनिएको छ, यो विविधताको चित्रण हुने गरेर कार्यक्रम हुनेछ । वाद्यवादन यन्त्रदेखि गायकीसम्म सबै पक्षलाई हामीले प्रस्तुत गर्नेछौं,’ निर्देशक सुनुवारले अनलाइनखबरसँग भने ।

    यसअघि चाहना मिडियाको स्वामित्वमा रहेको शोको ब्राण्डलाई हिमालय टेलिभिजनले खरिद गरेसँगै नयाँ शैलीमा शोको नयाँ सिजन आउन लागेको हो । शोका विजेताले नगद २० लाख रुपैयाँ पुरस्कार पाउने घोषणा यसअघि नै भइसकेको छ । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल नेपालको मौलिक कला र संस्कृतिको जगेर्नाका लागि नेपाल लोकस्टारले महत्वपूर्ण योगदान दिने बताउँछन् ।

    निर्देशक सुनुवार चाहिं शोको निर्माणबाट आफ्ना बुवा एवं लोकगायक स्वर्गीय पाण्डव सुनुवारको सम्मानमा केही योगदान पुर्‍याउन सक्ने बताउँछन् ।

    आईएमई शोको टाइटल स्पोन्सरको रुपमा रहनेछ । यसैगरी पावर बाई स्पोन्सरको रुपमा शंकर ग्रुपअन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता रहेको छ । एसोसिएट स्पोन्सरमा आईएमई लाइफ इन्स्युरेन्स, सिमेन्ट पार्टनरका रुपमा रिद्धिसिद्धि सिमेन्ट र भोटिङ पार्टनरका रुपमा आईएमई रहनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार