पोखरामा भएको यती एअरको विमान दुर्घटनाको शोकमा सरकारले आज सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्था भने खुल्ने भएका छन् ।
कुमारी, सानिमा, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, सनराइज, लक्ष्मी, माछापुच्छ्रे, एनएमबी, एनआईसी एसिया, सिद्धार्थ लगायतका बैंकहरुले सूचना निकालेर आज निश्चित समयको लागि बैंक खुला हुने जानकारी दिएका छन् ।
सानिमा बैंकले आज बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म सेवा दिने जनाएको छ । यस्तै, सार्वजनिक बिदामा सञ्चालन हुने काउन्टर सेवा भने साविकको समयतालिका अनुसार नै खुल्ने बैंकले जनाएको छ । साथै चेक क्लियरिङ्ग र आईपीएस सेवा शुक्रवारको समय तालिका अनुसार नै हुने सानिमा बैंकले जनाएको छ ।
यसैगरी कुमारी बैंकले पनि पुतलीसडक, न्युरोड, नारायणगढ, धनगढी, कञ्चनपुर र अत्तरियामा रहेका कार्यालयबाट आज सेवा दिने जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आज सेवा दिने कार्यालय र समय तालिका सार्वजनिक गरेको छ । नबिल बैंकले पनि विराटनगर, वीरगञ्ज, तीनधारा ललितपुर, काठमाण्डौका बिजुलीबजार र महाराजगञ्ज तथा पोखरा, बुटवल र धनगढीमा रहेका कार्यालयबाट सेवा दिने सूचना निकालेको छ ।
यी काउन्टरमार्फत् १० लाख रुपैयाँसम्म रकम जम्मा गर्न सकिने र दुई लाख रुपैयाँसम्म निकाल्न सकिने बैंकले जनाएको छ । यसैगरी सनराइज बैंकले पनि आज आफ्ना सबै सेवाहरुले दिने जनाएको छ ।