आइतबार, जेठ ६ गते २०८१

आफैँ हिरो भएर अभिनय गर्ने मन छ: सन्दीप क्षेत्री

आफैँ हिरो भएर अभिनय गर्ने मन छ: सन्दीप क्षेत्री

अखबार दैनिक
शुक्रबार, पुस २९ २०७९
  • आफैँ हिरो भएर अभिनय गर्ने मन छ: सन्दीप क्षेत्री

    अभिनेता सन्दीप क्षेत्री कार्यक्रम प्रस्तोताको रुपमा पनि परिचित छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट् द फ्लप’ बाट चर्चित बनेका उनले ‘छ एकान छ’ बाट फिल्म डेब्यु गरेका थिए । पछिल्लो समय स्टेज शो, नाटकदेखि फिल्मसम्म छाउन सफल उनले आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनी अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । हरेक फिल्ममा कमेडियनको रुपमा देखिँदै आएका उनलाई यो फिल्ममा कस्तो रुपमा देख्न सकिनेछ? प्रस्तुत छ, सन्दीप क्षेत्रीसँग फिल्म र अभिनयको विषयमा गरेको कुराकानीको सम्पादित अंशः

    images

     पछिल्लो समय केमा ब्यस्त हुनुहुन्छ ?
    टेलिभिजन कार्यक्रम त नियमित छँदैछ । त्यसबाहेक स्टेज शो र फिल्म अभिनय पनि निरन्तर जारी छ । मेरो अभिनय रहेको फिल्म ‘तिम्रो मेरो साथ’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । अहिले त्यसको प्रचार प्रसारमा समेत ब्यस्त छु ।

    भनेपछि टेलिभिजन कार्यक्रमदेखि फिल्मसम्म सबैतिर छाउने रहर हो ?

    – खासमा मलाई फिल्मको क्यानभास एकदमै मनपर्छ । टेलिभिजनमा एउटा कलाकारिताको पाटोलाई सन्तुष्टि दिइरहदा अभिनयको मोह भईरहन्छ । आफूलाई सुहाउँदो रोल, मनपर्ने कथाबस्तु पाउँदा भ्याएसम्म अभिनय गर्न मन लाग्छ ।

    ‘६ एकान ६’देखि अहिले ‘तिम्रो मेरो साथ’सम्म आउँदा तपाईंका आधा दर्जन बढी फिल्म रिलिज भैसके । तपाईं दर्शकको नोटिसमा परेजस्तो लाग्छ त ?

    – मेरो अभिनय रहेको फिल्म लगातार आएका छन् । फिल्मबाट नोटिसमा परे, परिनँ भन्ने कुरो अलग हो । मैले अभिनय गरेको ‘श्री’ फिल्म लकडाउनमा रिलिज भयो । त्यो अहिले युट्युवमा पनि छ । त्यो फिल्मबाट कलाकारको हिसावले सन्तुष्टि मिलेको थियो । मैले अभिनय गरेको मध्ये मलाई चिनाउने फिल्म ‘श्री’ नै हो । अहिले आउन लागेको ‘तिम्रो मेरा साथ’ ले पनि मलाई राम्रोसँग चिनाउला भन्नेमा आशावादी छु ।

    फिल्मको ट्रेलर हेर्दा ‘तिम्रो मेरो साथ’मा तपाईंको भूमिका नेगेटिभ भएको अनुमान गर्न सकिन्छ । त्यस्तै हो र ?

    – कहिलेकाहीँ एउटै फिल्मले कलाकारको सबै भाग्य लेखेर आएको हुन्छ । यो फिल्ममा मेरो इन्टे«स्टिङ भूमिका छ । यो सस्पेन्स, थ्रिलर फिल्म भएको कारणले अहिले मेरो भूमिका नेगेटिभ, पोजेटिभ वा कमेडी भनेर भन्दा पनि फिल्मप्रति हामीले एउटा जुन वातावरण क्रियट गर्न खोजेका छौ, त्यसलाई असर गर्छ ।

    समग्रमा फिल्ममा जति समय म प्रस्तुत हुन्छु, त्यसले दर्शकलाई बाँधेर राख्छ । मेरो भूमिका यो भनेर म भन्न सक्थे । फिल्म रिलिजका निर्माण युनिटले आफ्नो किसिमको वातावरण बनाइरहेको हुन्छ । यो समय मैले चरित्रबारे खुलासा गर्दा फिल्मलाई असर गर्न सक्छ । त्यो कुरोमा म अलिकति सचेत भएको कारणले फिल्मको चरित्र भन्न सकिन । अहिलेलाई यत्ति भनें– फिल्मले हसाउँछ, रुवाउँछ र दुःख महसुस सबैथोक गराउँछ ।

    कलाकारका हिसावले नयाँ फिल्म रिलिज हुँदै गर्दा कस्तो अपेक्षा हुँदोरहेछ ?
     साँच्चिकै भन्नुपर्दा फिल्ममा अभिनय गर्ने समय म धेरै एक्साइटेट भएर गर्छु । फिल्म रिलिज हुँदै गर्दा भने त्यसको बारेमा खासै चिन्तित हुँदिन । फिल्म तयार हुनु भनेको खानेकुरो पाकेजस्तो हो । हामीले दर्शकको स्वादअनुसार फिल्म तयार गरेका छौ । त्यो दिदा उहाँहरुले राम्रो मान्नुहुन्छ भन्ने अपेक्षा गर्ने बाहेकको बिकल्प रहँदैन । नयाँ फिल्म रिलिज हुँदै गर्दा एक्साइटेट त छु । तर त्यसैलाई लिएर के होला, कसो होला भनेर धेरै कौतुहलता राखेको छैन ।

    फिल्म खेल्न केले आकर्षित गर्छ ?
     म कलाकार नै हुन जन्मिएको हो । म टेलिभिजनको प्रोडक्ट हो । टेलिभिजनको कलाकार बनें, फिल्मको कलाकार बनें, स्टेजमा, सडक नाटकमा सबैमा कलाकार भएको छु ।  सबैतिर रमाइलो लाग्छ ।

    कलेज पढाउँदा पनि म आफूलाई कलाकार महसुस गर्थे । मेरा विद्यार्थी अडियन्स जस्तो लाग्थ्यो । कलाकार कहाँ बन्न पाइन्छ, म त्यो अवसर छोड्दिन । चाहे त्यो स्टेज होस् या फिल्म ।

    अभिनयका लागि फिल्म छान्ने तपाईंको आधार ?
     नीर शाह सरले फिल्म छान्ने तरिका सिकाउनु भएको थियो । तपाईंको पात्रले मुख्य कथामा असर गर्छ कि गर्दैन रु तपाईंको उपस्थितिले पुरै कथालाई समेट्छ कि समेट्दैन रु यदि तपाईंको चरित्रले पुरै कथामा प्रभाव पार्छ भने त्यो चरित्र गर्दा फरक पर्दैन भनेर सिकाउनु भएको थियो ।  कथासँग जुटेको पात्र हो भने म त्यस्तो किसिमको रोल गर्न उत्साहित हुन्छु ।

    सन्दीप कमेडियन त भयो, कलाकार भएन भन्छन् नि ?
    त्यो आरोप मिथ्या हो । मलाई राम्रोसँग नबुझेकाले यसो भन्छन् । आरोप लगाउनेलाई म एकपटक फिल्म ‘श्री’ हेर्न सुझाएँ । कलाकारिताको विधाभित्र कमेडी भन्ने हुन्छ । कमेडी भन्ने जनरामा आफूलाई प्रभाव पार्ने किसिमको अवसर र मौका पाएको कारणले त्यसमा म प्रतिभा देखाउन सक्छु । कमेडी बाहेकको को अवसर नपाएको कारणले गर्दा मानिसले मेरो प्रतिभा देख्न नपाएका हुन् । मलाई कमेडी बाहेकको अन्य चरित्रमा पनि हेर्न रुचाउने हो भने ‘श्री’ फिल्म हेरे हुन्छ । म यदि नन्कमेडियन अभिनेता भएको भए अभिनयमा कहाँ कति सफल भन्न मिल्छ ।

    मैले ती रोल गरेको र त्यो चरित्रमा पनि उतिकै मनपराइएको हिसावले त्यसो भन्न मिल्दैन । सफलता असफलता पाउनु भनेको फिल्मको भाग्य हो । हामीले लकडाउनमा प्रदर्शनमा ल्याएको ‘श्री’ अन्य समय रिलिज भएको भए त्यसले अर्को प्रभाव पाथ्र्यो । मैले कमेडियनको रुपमा धेरै ठाउँमा मौका पाएको र नन्कमेडियनको रुपमा मौका नपाएको हिसावले गर्दा अभिनेताको रुपमा मेरो प्रतिभा त्यति नदेखिएको हो ।

    टेलिभिजनमा फ्रिमा हेर्न पाउने तपाईंलाई हेर्न पैसा तिरेर दर्शक हलमा किन जाने ?
    – टिकट काटेर मानिसहरु मेरो लाइभ प्रस्तुति हेर्न आउँछन् भने टिकट काटेर फिल्म पनि हेर्छन् । त्यो मेरो विश्वास हो ।

    टेलिभिजनमा नेता तथा कलाकारलाई उडाउँदै अर्थात् ब्यङ्ग्य गर्दै आउनु भएको छ । तपाईंको अभिनय हेरेर अरुले पनि त उडाउँदा होलान् नि ?

    – हामी ब्यङ्ग्यकार सबैभन्दा पहिले सिक्नुपर्ने कुरो आफैमाथि हाँस्न हो । म कसैमाथि ब्यङ्ग्य गर्छु भने म माथि पनि ब्यङ्ग्य हुन्छ । त्यसरी म माथि गरिएको ब्यङ्ग्य मैले सहर्ष स्वीकार गर्नुपर्छ । त्यो ब्यङ्ग्य क्रियटिभ होस्, मलाई सच्याओस्, सजग बनाओस् । त्यतातिर भने म सजग हुन्छु । 

    म एकदमै ओपन माइन्डेट छु । म सबैभन्दा पहिले स्ट्याण्डअप गर्दा आफ्नै बारेमा भनेर हँसाउने हो । मलाई मेरो कमीकमजोरी सबै स्पष्ट थाहा छ । म आफ्नो कमजोरीप्रति आफै उदाङ्ग भएर प्रस्तुत हुन्छु । त्यो हिसावले पनि मलाई खासै असहज हुँदैन । उ ब्यङ्ग्यकार हो भने सबैभन्दा पहिले उसले आफूमाथि ब्यङ्ग्य गरेको कुरा सहर्ष स्वीकार्नुपर्छ ।

    आफूलाई मधेसी कलाकार भन्ने तर मधेस र मधेसका नेतालाई ब्यङ्ग्य गरेको कारण बेला बेलामा विवादमा पनि पर्नु हुन्छ नि ?

    – म एकदमै प्योर मधेसी कलाकार हो । मैले अझ झन् मधेसी बन्ने कोसिस गर्दा खेरी कहिलेकाहीँ गरेको प्रयास चाँहिदो भन्दा बढी हुन सक्छ । मेरो नियत भनेको मधेसको प्रतिनिधित्व गर्नु हो । त्यहाँको भाषा, संस्कृतिको प्रतिनिधित्व गर्नु हो ।

    ‘बक्रोल’ भन्ने शब्द जुन मैले कार्यक्रममा प्रयोग गर्छु । त्यो शब्द लेखेको टिसर्ट लगाएर अमेरिकामा ५० जना केटाहरु हिँडेको भेटे । उहाँहरुले मलाई बक्रोल लेखेको १०० वटा टोपी दिनुभयो । त्यो देख्दा निकै रमाइलो लाग्यो । मधेस मेरो आमा हो । आमासँग कहिलेकाहीँ ठट्टा गरिन्छ । तर उनको मजाक त उडाइदैन नि । त्यो कुरोमा म एकदमै सजग छु । कहिलेकाहीँ अनायसै विवाद आउँछ, त्यसलाई सच्याउँदै अगाडि बढ्छु ।

    तपाईंको क्रेज युवतीहरुमा बढी हो ?
    हो, पक्कै पनि । तर मलाई युवतीसँगै युवाले पनि बढी पछ्याउनु हुन्छ ।

    कलाकारितामा जति लाग्दै गयो, त्यति अभिनय मोह बढ्दै जान्छ रे हो ?
    त्यो सत्य हो । अभिनय जति गर्यो, त्यति लत लाग्दो रहेछ । यस्तो लत लाग्छ कि, त्योबाट उन्मुक्ति पाइँदैन ।  कलाकारितामा कहिलेकाहीँ अभाव हुन्छ, भनेको कुरो पुग्दैन, वितृष्णा पनि जाग्छ । तर जे भएपनि कलाकारिताबाट अलग हुन सकिदैन ।

    म रामै्र पढेलेखेको मानिस पनि हुँ । कुनै कर्पोरेट हाउसमा माथिल्लो तहमा बसेर आफ्नो जीवन चलाउन सक्थे । मलाई महिनाको पचास लाख रुपैया तलव दिन्छु, दशदेखि पाँचसम्म काम गर भन्यो भने दुई महिना पैसा सम्झदा रमाइलो लाग्छ । तर, तेस्रो महिनादेखि म निस्सासिन थाल्छु । कलाकारिताको लत भनेको बढ्दै बढ्दै जान्छ । किनभने उमेर बढेसँगै कलाकारिता छुट्नुपर्ने हो नि । तर जति उमेर भयो, त्यति कलाकारिता गर्न मन लाग्ने ।

    सपोर्टिङ भूमिकामा धेरै फिल्म अभिनय गर्नुभयो । हिरो भएर अभिनय गर्न मन छैन ?
    अब आउने सबै फिल्म आफै हिरो भएर अभिनय गर्ने मन छ । कलाकारको रुपमा सन्तुष्ट हुने काम त मैले धेरै गरे । सन्दीप क्षेत्री भन्ने एउटा पात्र दर्शकको माझमा त्यो हिरो हो भन्ने खालको भूमिका पनि गर्छ मन छ । मन खोलेर भन्दा रुखमुनि नाच्न, स्लो मोसनमा हिँड्न, ज्यान देखाएर फुर्तीफार्ती गर्न र ड्याम्म हिर्काएर दुईचार जना ढाल्न र हिरोइन उडाउन मन छ ।

    नायिकासँग पर्दामा रोमान्स गर्न पनि मन होला ?
    फिल्म ‘६ एकान ६’ सुटिङ गर्दा अभिनेत्री नीता ढुङ्गानासँग मेरो रोमाञ्चक सिन थियो । म एकदमै एक्टिभ हुनुपर्ने थियो । तर मलाई लाज लागेकोले मैले नीतालाई रिक्वेस्ट गरे । ‘मैले गर्ने भन्दा पनि म चुप लागेर बस्छु । म माथि गरियो भन्ने सजिलो होला’ भने । रोमान्स भन्ने बितिक्किै आम मानिसको मानसपटलमा जे कुरो आउँछ नि, त्यो गर्न असजिलो लाग्छ । मलाई फाइट गर भने सक्छु । हाम फाल भने सक्छु । प्रेम दृष्य भने अलिकति असजिलो लाग्छ ।

    ‘तिम्रो मेरो साथ’को बिषयमा दर्शकलाई केही भन्नु छ कि ?
    कलाकारको रुपमा जे जे गर्दै आएको छु । त्यसको अर्को स्वरुप ‘तिम्रो मेरो साथ’ हो । टेलिभिजन, स्टेजमा जसरी माया गर्दिनु भएको छ । फिल्ममा पनि केटाले गरेको छ, हेर्दिऊँ न एकपटक भन्ने मष्तिस्कमा राखिदिनु होला, दर्शकलाई यही भन्छु ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार