मंगलबार, मंसिर ११ गते २०८१

५० हजार वर्षपछि देखिँदैछ जेटीई पुच्छ्रेतारा, भोलिदेखि देख्न सकिने

५० हजार वर्षपछि देखिँदैछ जेटीई पुच्छ्रेतारा, भोलिदेखि देख्न सकिने

अखबार दैनिक
बिहीबार , पुस २८ २०७९
  • ५० हजार वर्षपछि देखिँदैछ जेटीई पुच्छ्रेतारा, भोलिदेखि देख्न सकिने

    २८ पुस, काठमाडौ । आजभन्दा ५० हजार वर्ष पहिले अर्थात हिमयुगमा देखिएको हरियो रङको पुच्छ्रेतारा भोलि शुक्रबार पुन: पृथ्वीबाट देख्न सकिने भएको छ ।

    images

    वैज्ञानिकहरुले C/2022 E3 (ZTE) नाम दिएको यो पुच्छ्रेतरा शुक्रबार बिहानबाट अवलोकन गर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए ।

    उनले अनलाइनखबरसँग भने, ‘आजभन्दा ५० हजार वर्ष पूर्व हिम युगमा देखिएको हरित रङ्गको पुच्छ्रेतारा पृथ्वीबाट फेरि देख्न सकिन्छ । होमो सेपियन्स अर्थात हाम्रा पूर्वजहरु पृथ्वीमा विचरण गरिरहेको समयमा सौर्यमण्डलमा देखिएको थियो । भोलि शुक्रबारबाट नेपालबाट पनि देख्न सक्छौं।’

    उनका अनुसार यो पुच्छ्रेतारा सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पुसमा सूर्यको सबैभन्दा नजिक आउने भएकोले त्यस पश्चात् केहि हप्तासम्म अवलोकन गर्न सकिनेछ ।


    आँखाले देख्न नसके पनि वाइनाकुलर तथा टेलिस्कोपको सहायताले अवलोकन गर्न सकिने उनले बताए । अहिले आँखाले देख्न नसक्ने भए पनि माघ १८ गतेपछि भने केही समय आँखाले पनि देख्न सकिने उनले बताए ।

    नेपालबाट पनि यस दुर्लभ हरित पुच्छ्रेतारालाई ध्रुवताराको नजिक माघ महिनाको दोश्रो सातासम्म बेलुकी ७ बजेपछि देख्न सकिने उनले बताए । उनले भने, ‘हाम्रा पूर्खा तथा होमो सेपियन्सले सायद उक्त पुच्छ्रेतारालाई विगतमा अवलोकन गरेका होलान् र कालान्तरमा उक्त पुच्छ्रेतारा काल चक्रमा प्रवाहित हुँदै सौयमण्डलको वृहत्तर विशाल दुरीलाई छिछोल्दै पुनः हामी सामू प्रकट भएको छ ।’

    यो पुच्छ्रेतारा माघ १८ गते मा पृथ्वीको नजिकमा ४२ करोड कि.मि.को दूरीसम्म आइ पुग्ने शर्माले बताए । उनले थपे, ‘अहिले हाल उक्त पुच्छ्रेतरालाई पृथ्वीको उत्तरी गोलार्धमा बस्नेले अवलोकन गर्न सक्नेछन् भने माघपछि दक्षिणी गोलार्धमा बस्नेले पनि अवलोकन गर्न सक्नेछन् ।’

    पुच्छ्रेतारा एउटा टाउको र दुईवटा लामो र छोटो पुच्छरको रूपमा देखिनेछ । डाइकार्बन अणुहरुको कारणले गर्दा यो तारा हरियो रङ्गको देखिने भएको हो । कुनै समयमा कुनै संकटको संकेत भनेर मानिने पुच्छ्रेताराहरु वैज्ञानिक जगतका लागि अहिले अनुसन्धानको विषय भएको छ ।

    वैदिक युग तथा महाभारत युगभन्दा पनि धेरै पहिला पृथ्वीको नजिकमा आइसकेको उक्त पुच्छ्रेतारालाई वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले पनि निरन्तर रुपमा अध्ययन-अवलोकन गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार