आइतबार, जेठ ६ गते २०८१

कबीर खड्का : ‘लम्फू’बाट उदय, ‘गुञ्जन’बाट सफलताको आश

कबीर खड्का : ‘लम्फू’बाट उदय, ‘गुञ्जन’बाट सफलताको आश

अखबार दैनिक
बिहीबार , पुस २८ २०७९
  • कबीर खड्का : ‘लम्फू’बाट उदय, ‘गुञ्जन’बाट सफलताको आश
     

    चकलेटी अनुहार, अग्लो कद र हसिलो मुस्कानले कबीर खड्का हिरोको परम्परागत मानकभित्र अटाउँछन् । उनको अनुहारको बनावट साउथ सुपरस्टार विजय देवरकोन्डासँग मिल्दोजुल्दो भएकाले पनि उनलाई कसैको नजरमा पर्न समय लाग्दैन । त्यसमाथि यतिबेला नेपाली फिल्म क्षेत्र यस्तै रुपरंगको पछाडि दौडिएको अवस्था छ । र, त्यसको फाइदा उनलाई पनि राम्रै मिलिरहेको छ ।

    images

    फिल्म ‘लम्फू’बाट कबीरको उदय भएको हो । तर, पहिलो गाँसमै उनलाई ढुंगा लाग्यो । अर्थात् फिल्म व्यवसायिक रुपमा सफल हुन सकेन । तथापि, उनको अभिनय र लुक्सको चर्चा भयो । फलतः उनलाई नेपाली फिल्मले खोज्न थाल्यो । उनले दोस्रो फिल्मको रुपमा ‘गुञ्जन’ र तेस्रो फिल्मको रुपमा ‘लण्डन टू पेरिस’मा काम गरे । जसमध्ये ‘गुञ्जन’ यही पुष २९ गते भोलिबाट प्रदर्शन हुँदैछ ।

    फिल्मको प्रचार-प्रचार र हाइप औसत छ । तर, कबीर फिल्म सफल हुनेमा आशावादी छन् । फिल्मको ट्रेलर हेर्दा उनको भूमिका नकारात्मक देखिन्छ । यसलाई नयाँ अनुभवको रुपमा लिएका उनी भविष्यमा अभिनय देखाउन सक्ने जुनसकै चरित्रमा काम गर्न आफू तयार रहेको बताउँछन् । कलाकार भएपछि अभिनय र चरित्रमा विविधता पस्कनु सक्नुपर्छ भन्ने सोच उनमा पलाएको छ ।

    खड्का भन्छन्, ‘२/३ वर्षको मिहिनेतको नतिजा अब पाउँदैछौं । केही रोपेपछि फलको आशा हुन्छ नै । मलाई पनि यो फिल्मबाट ठूलो आशा छ । त्यसमाथि मैले फरक खालको भूमिका निर्वाह गरेको छु । दर्शकले कस्तो रुपमा लिनुहुन्छ भन्ने उत्सुकता पनि छ ।’ ‘लम्फू’मा द्वन्द्व निर्देशन गरेका अष्टमान महर्जन (निर्देशक) ले त्यसमा कबीरको कामबाट प्रभावित भएर ‘गुञ्जन’मा लिएका थिए ।

    युवापुस्तालाई लक्षित गरेर फिल्म बनेको जिकिर गर्दै अभिनेता खड्काले गीत-संगीतले आनन्दित तुल्याउने विश्वास व्यक्त गरे । उनी फिल्मबारे भन्छन्, ‘प्रेम सम्बन्धमा हरेकले मेरो रिलेसनमा यस्तो भैदियोस्, यसरी प्रपोज गर्दियोस्, यसरी ‘ट्रिट’ भैदियोस् भन्ने सपना बुनेका हुन्छन् । तिनै सपनालाई फिल्मले अभिव्यक्त गर्न खोजेको छ । धेरैजसो युवतीहरुले आफूमा गुञ्जन देख्छन् जस्तो लाग्छ ।’

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार