आइतबार, जेठ ६ गते २०८१

दोस्रो राजेश हमाल बन्ने दौडमा दयाहाङ र सौगात

दोस्रो राजेश हमाल बन्ने दौडमा दयाहाङ र सौगात

अखबार दैनिक
बुधबार, पुस २७ २०७९
  • दोस्रो राजेश हमाल बन्ने दौडमा दयाहाङ र सौगात

    निर्विवाद छ, नेपाली फिल्मका सबैभन्दा लोकप्रिय अभिनेता हुन्, राजेश हमाल । उनलाई चिन्ने हरेक उमेर समुहका मानिस छन् । विदेशी फिल्म हेरेर हुर्किएको सम्पन्न वर्ग होस् वा देशको दूरदराजमा बस्ने विपन्न वर्ग, उनलाई नचिन्ने र नाम नसुन्ने सम्भवतः सिला खोज्दा पनि भेटिन्न । आफ्नो अग्लो पहिचान बनाएका उनको नाम नेपाली फिल्मको इतिहासबाट हटाउने हो भने अधुरो बन्न पुग्छ ।

    images

    एक समय फिल्म क्षेत्रलाई काँध थापेका हमालको नेपाली फिल्मको संख्यात्मक वृद्धिमा पनि ठूलो भूमिका छ । जसले गर्दा फिल्म क्षेत्र छिट्टै हुर्किन पायो । तर, करिअरको उत्कर्षमा उनले फिल्मको गुणस्तरभन्दा संख्यात्मक वृद्धिमा बढी ध्यान दिए । यसैको प्रतिफल हो, आज उनी तीन सय फिल्ममध्ये आफैंलाई उत्कृष्ट लागेको फिल्मको नाम मुश्किलले दुई/तीनवटा मात्र लिन सक्छन् ।

    हमालपछि फिल्मको संख्या बढाउने दौड विराज भट्ट, निखिल उप्रेती, आर्यन सिग्देल जस्ता स्टार नायकहरुमा देखियो । यतिबेला यो दौडमा दयाहाङ राई र सौगात मल्ल निस्किएका छन् । अभिनयमा सशक्त मानिने यी दुईले आजभोली हातमा आएका फिल्म सकभर उम्काएका छैनन् । उनीहरुको व्यस्तता यो हदसम्म छ कि अबको एक/डेढ वर्ष फुर्सदको सास फेर्न पनि पाउने देखिन्न ।

    सोलो नायक भएर काम गरेका फिल्म दुवैका चलेका छैनन् । तर, दुवैले एकसाथ काम गरेका प्रायः फिल्म सफल छन् । ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ यसका उदाहरण हुन् । अब उनीहरु चाँडै फिल्म ‘हात्तीछाप’मा एकसाथ काम गर्ने तयारीमा छन् । योसँगै उनीहरुको पाइपलाइनमा फिल्मको चाङ छन्, जसको सेड्युल मिलाउन दुवैलाई महाभारत पर्नेछ । दुवैसँग अहिले आधा दर्जन फिल्म छन् ।

    दयाहाङ चाँडै रामबाबु गुरुङको एक नयाँ फिल्ममा काम गर्दैछन् । उनले निश्चल बस्नेतको नयाँ फिल्ममा पनि काम गर्ने सहमति जनाइसकेका छन् । ‘हात्तीछाप’ पनि पाइपलाइनमा छ । मंगलबार मात्र उनले दीपक श्रेष्ठको एक फिल्म सम्झौता गरेका छन् । उनले दीपक रौनियारको फिल्म ‘द स्काइ इज माइन’मा पनि काम गर्दैछन् । अन्य दुई/तीनवटा फिल्म पनि काम गर्ने सूचिमा छन् ।

    त्यस्तै, सौगातले ‘कबड्डी ४’ र ‘दुई नम्बरी’को सफलतापछि भकाभक नयाँ फिल्म साइन गरिरहेका छन् । ‘हात्तीछाप’, ‘भष्मे डन’, ‘अगस्त्य’, ‘एक्स ९’का साथै उनले अरु दुई/तीनवटा फिल्म पनि साइन गरेर बसेका छन् । झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’मा पनि उनको अभिनय रहने सम्भावना बलियो छ । यसरी हेर्दा उनी अर्को वर्षसम्म ‘प्याक’ भैसकेका छन् ।

    फुर्सद हुनुभन्दा व्यस्त हुनु राम्रो हो । तर, अहिले भकाभक फिल्म गरेर फुर्सदमा पछुताउने अवस्था आयो भने व्यस्तताको कुनै अर्थ रहँदैन । फिल्मको संख्यात्मक वृद्धिले आर्थिक वृद्धि हुन सक्ला तर गुणस्तरमा वृद्धि हुन नसके त्यो प्रतिउत्पादक बन्छ । भविष्यमा फिल्मको संख्या मात्र गनेर बस्ने अवस्था बनाउने अथवा गर्व गर्न लायक फिल्मको सूचि बनाउने, निर्णय दयाहाङ र सौगातसँगै छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार