आइतबार, मंसिर ९ गते २०८१

विपिनपछि ‘भष्मे डन’मा जोडिए सौगात

विपिनपछि ‘भष्मे डन’मा जोडिए सौगात

अखबार दैनिक
शुक्रबार, पुस २२ २०७९
  • विपिनपछि ‘भष्मे डन’मा जोडिए सौगात

    काठमाडौं । यदि सबै कुरा ठीकठाक अघि बढे, सन् २०२३ मा सौगात मल्लले साइन गर्ने फिल्मको संख्या सातभन्दा बढी पुग्नेछ । केहीमा उनी फाइनल भइसकेका छन् भने केहीमा छलफल चल्दैछ ।

    images

    एउटा कुरा पक्का के हो भने उनी धमाधम फिल्म साइन गरेर अघि बढ्ने पक्षमा छन् । हुन सक्छ, आफूले निर्माण गरेको पहिलो फिल्म ‘राधा’ बक्स अफिसमा कमजोर भएपछि सौगातमाथि आफूलाई अघि बढाउनुपर्ने दबाब पनि छ ।

    सौरभ चौधरीको ‘अगस्त्य’मा सौगात लगभग तय छन् । झरना थापाको ‘भगवत् गीता’मा पनि उनी हुने चर्चा छ तर औपचारिक सहमति भइसकेको छैन । यसबाहेक अन्य केही फिल्मले सौगातलाई प्रस्ताव गरिरहेको जानकारी अनलाइनखबरलाई प्राप्त छ ।

    यसैबीच, ‘पशुपति प्रसाद’को प्रतीक्षित स्पिनअफ (कुनै चर्चित फिल्मको एउटा पात्रमाथि केन्द्रित रहेर बनाइने श्रृंखला) ‘भष्मे डन’मा सौगात जोडिने पक्का भएको छ । निर्देशक दीपेन्द्र के. खनालले अभिनेता मल्लसँग मौखिक सहमति जुटेको बताए ।

    ‘हामीले मौखिक सहमति गरेका छौं । उहाँ हुने पक्का भएको छ । लिखित सहमति हुन बाँकी छ,’ निर्देशक खनालले अनलाइनखबरसँग भने । यो फिल्मको प्रमुख भूमिकामा पशुपति प्रसादका भष्मे डन अर्थात् विपिन कार्की देखिनेछन् । फिल्ममा विपिन र सौगातको समानान्तर भूमिका हुने निर्देशक खनालले जानकारी दिए । तर यो पशुपति प्रसादको सिक्वेल चाहिं होइन । यो फिल्मले ‘पशुपति प्रसाद’पछिको भष्मे डनको जीवन यात्राको कथा भन्नेछ । दर्शकले पशुपति प्रसादकै बेला यो चरित्रलाई रुचाएका थिए ।

    सौगात र विपिनबाहेक यो फिल्ममा मितबाको भूमिकामा प्रकाश घिमिरे र हनुमान बनेका रविन्द्रसिंह बानियाँको पनि अभिनय हुनेछ । फागुन १२ गतदेखि पशुपतिनाथ मन्दिर वरपर छायांकन हुने फिल्मको निर्माण खगेन्द्र लामिछानेले गर्दैछन् । पटकथा लेखन पनि खगेन्द्रकै हो ।

    टुकी आर्ट्स र दीपेन्द्र खनाल प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । आगामी दशैंमा प्रदर्शन लक्ष्य राखिएको फिल्मलाई लिएर दर्शकमाझ कौतुहलता समेत छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ