‘कान्स’मा ग्राण्ड जुरी पुरस्कार जितेको ‘लोरी’लाई सट फिल्मतर्फ दर्ता गरिएको थियो भने नेपालको चर्चित ‘ऐना झ्यालको पुतली’ पनि अन्तर्राष्ट्रिय फिचर विधाको सर्टलिस्टमा पनि समावेश भएन ।
लोरीलाई जिताउन हलिउड फेसन डिजाइनर समेत रहेका प्रबल गुरुङ अन्तिम समयमा कार्यकारी निर्माताको रुपमा जोडिएका थिए । कान्सको महत्वपूर्ण विधा जितेपछि कम्तीमा लोरी ओस्कारको सर्टलिस्ट र मनोनयनमा छानिन सक्ने अनुमान गरिएको थियो ।
‘ओस्कारमा क्याम्पेन महत्वपूर्ण रहेछ । त्यसका लागि चाहिने आर्थिक पक्षलाई हामीले जुटाउन सकेनौं,’ लोरी निर्माता अनुप पौडेलले अनलाइनखबरसँग भने, ‘व्यक्तिगत रुपमा भन्दा पनि सरकारले नै यसमा सघाएन भने ओस्कार हाम्रा लागि कठिन हुनेछ ।’
नेपालमा समीक्षकबाट राम्रो प्रशंसा प्राप्त गरेको र बक्स अफिसमा डेढ करोड रुपैयाँ हाराहारीमा ग्रस कमाइ गरेको ‘ऐना झ्यालको पुतली’को लागि ओस्कार अभियान चलाउन निर्माता रामकृष्ण पोखरेल लस एन्जलस पुगेका थिए । दुई साता हलिउड सहरमा बसेर उनले ओस्कार क्याम्पेनबारे बुझे ।
‘ओस्कारमा मनोनयनका लागि कम्तीमा पनि करोडभन्दा बढी रकम आवश्यक देखियो । पैसा नभए हाम्रोजस्ता मुलुकलाई क्याम्पेन चलाउन मुस्किल पर्ने देखिन्छ । हामीले त्यहाँ अन्य देशका सरकारले पनि सघाएको देख्यौं,’ उनले भने ।
प्रचारमा पैसा खर्च गर्न सके, ओस्कार मतदाताको नजरमा पर्न सकिने यी दुई निर्माताको अनुभव छ । यति मात्र होइन, सन् २०१७ मा ओस्कारमा नेपालबाट सिफारिस भएको फिल्म ‘सेतो सूर्य’ निर्देशक तथा निर्माता दीपक रौनियारले पनि यस्तै अनुभव सुनाएका थिए ।
सन् १९९९ को ७२ औं ओस्कार संस्करणमा मात्र नेपालमा छायांकन भएको फिल्म ‘हिमालय-क्याराभान’ ओस्कारको अन्तर्राष्ट्रिय विधातर्फ मनोनित भएको थियो । तर यो फिल्म पनि फ्रान्सेली निर्देशक एरिक भ्यालीको फिल्म हो ।
‘क्याराभान’यता नेपालले मुकुण्डो, मुनामदन, बसाइ, सुनगाभा, झोला, टलकजंग भर्सेस टुल्के, कालोपोथी, सेतो सूर्य, पञ्चायत, बुलबुल र ऐना झ्यालको पुतलीलाई ओस्कारमा सिफारिस त गरेको छ तर कुनै पनि फिल्म मनोनयन त परेको कुरा सर्टलिस्टान समेत पर्न सकेका छैनन् ।
यस वर्षको ओस्कार संस्करणमा सार्क मुलुक पाकिस्तानको फिल्म ‘जोयल्याण्ड’ र भारतबाट ‘द लास्ट सो’ र ‘आरआरआर’मात्र ओस्कारमा सर्टलिस्टेड भएका छन् । गत वर्ष भुटानको फिल्म ‘लुनाना : अ याक इन द क्लासरुम’ मनोनयन भएको थियो । यी सबै फिल्मले अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा बटुलेर ओस्कार मतदातालाई आकर्षित गरेका थिए । ‘जोयल्याण्ड’लाई पाकिस्तान सरकारले रोक लगाएको थियो भने विरोध चर्किएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो ।