१९ पुस, काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडले गोरखाको सिरान्चोक गाउँपालिका र लम्जुङको राइनास गाउँपालिकाको सिमानामा बनाइरहेको चेपे ‘ए’ जलविद्युत परियोजनामा गलत हल्लाको भरमा आगजनी र तोडफोड भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । आयोजनाले क्षतिपूर्ति र सुरक्षाको प्रत्याभूतिको माग समेत गरेको छ ।
चम्पावती हाइड्रोपावर लिमिटेडले बनाइरहेको ७ मेगावाट चेपे ए जलविद्युत परियोजनामा गत मंसिर २४ गते आगजनी र तोडफोड भएको थियो । तोडफोड र आगजनीबाट ३ करोड ४० लाख जतिको प्रत्यक्ष भौतिक क्षति भएको लिमिटेडको दाबी छ । अप्रत्यक्ष रुपमा लागत बढ्न जाँदा र उत्पादनमा हुने ढिलाइका कारण आम्दानीमा पर्ने प्रभावले झण्डै थप ३० करोड क्षति हुने अनुमान आयोजना गरेको छ ।
यो परियोजना स्वदेश तथा विदेशमा रहेका नेपाली इन्जिनियरहरु सहितको लगानीमा निर्माण भइरहेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चम्पावती हाइड्रोपावर लिमिटेडका बोर्ड डाइरेक्टर रामेश्वर लामिछानेले नहरको इन्टेकभन्दा २०० मिटर तल पानी खसाल्न लागिएको भन्ने गलत हल्लाको भरमा आयोजनाको विद्युत गृह निर्माणस्थल र साइट अफिसमा आक्रमण भएको बताए । यसमा स्थानीय जनप्रतिनिधि र स्थानीय दलका कार्यकर्ताको प्रत्यक्ष संलग्नता रहेको आरोप उनले लगाए ।
लामिछानेले भने, ‘नहरसँग सम्बन्धित व्यक्तिहरुबाट काम रोक्न धम्की दिइरहेको अवस्था थियो । यो विषय आयोजनाले स्थानीय सुरक्षा निकायलाई जानकारी गराएको पनि थियो । तोडफोड र आगजनीमा जनप्रतिनिधिहरु स्वयंले अगुवाइ गरे भने स्थानीय रुपमा क्रियाशील राजनीतिक पार्टीको नेतृत्वमा रहेकाहरु नै संलग्न थिए भन्ने कुरा प्रहरी प्रशासनलाई पनि राम्रोसँग थाहा छ । सामाजिक सञ्जालहरुमा भेटिने आगजनीका फोटो तथा भिडियो, विभिन्न सञ्चारमाध्यममा दिइएका अन्तर्वार्ताहरुलाई हेर्दा पनि सो कुरा स्पष्ट हुन्छ ।’
नहरको इन्टेकभन्दा २०० मिटर तल पानी खसाल्न लागिएको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् । तरमा त्यसमा कुनै सत्यता नभएको लिमिटेडको भनाइ छ ।
पत्रकार सम्मेलनमा आयोजनाका डाइरेक्टर एवम् इन्जिनियर लक्ष्मण अर्यालले भने, ‘आयोजनाको विद्युत गृहबाट निस्कने पानी नहरको इन्टेकभन्दा माथि चिल्ली खोला र चेपे खोलाको दोभानभन्दा माथि फाल्ने भनेर वातावरणीय प्रतिवेदनमा उल्लेख भए अनुसार नै अहिलेको डिजाइनमा विद्युत गृहको टेलरेसबाट पानी जान्छ । जुन नहरको इन्टेकभन्दा १६० मिटर माथि रहेको छ । विद्युत गृहको टेलरेसबाट पानी निस्कने लेभल र नहरको मुहान(इन्टेक)को लेभल करिव २ मिटरको फरकमा रहेको छ । जलविद्युत आयोजनाको पानीको निस्कने लेभल ६३६.१२ मिटरमा छ । नहरको इन्टेकमा पानीको लेभल ६३३.४ छ । पानी भनेको माथिल्लो लेभलबाट तल बग्ने हो ।’
चम्पावती हाइड्रोपावर लिमिटेडले विगत दुई वर्षदेखि निर्माण कार्य शुरु गरेको यो आयोजना रन अफ दि रिभर प्रकारको र बाँध खुल्ला बहाव अर्थात फ्रि फ्लो वियरको रुपमा निर्माण भइरहेको छ । यस आयोजनाको हेर्डवर्क्सका संरचना कुयँलेमा र विद्युतगृह गोरखा जिल्लाको सिरानचोक गाउँपालिका २ कुविन्डेमा निर्माण हुँदैछ । विद्युत ऐन २०४९ बमोजिम इजाजत प्राप्त चेपे ए जलविद्युत आयोजनाको भौतिक प्रगति करिव ६५ प्रतिशत छ भने झण्डै ९० करोड बराबरको लगानी भइसकेको छ । आयोजनाले विद्युत उत्पादन मिति २०८० साउन ३ गतेभित्र निर्माण कार्य सकेर परीक्षण समेत गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडानको लक्ष्य राखेको छ ।