काठमाडौं महानगरपालिका काठमाडौंकै ‘फोक्सो’ भनिने टुँडिखेलको खुलामञ्चभित्र तीनतले भूमिगत पार्किङ बनाउने योजनामा अगाडि बढेको छ । नगरविकास कोषलाई अध्ययनको जिम्मेवारी दिएको महानगरपालिकाले यो योजनाबारे स्थानीयस्तरमा कुनै छलफल चलाएको छैन ।
महानगरपालिकाको यो योजनाले भित्री शहरका जनताले सास फेर्न, कुलपूजा र भोज तथा आम जनताले राजनीतिक कार्यक्रम गर्न जनताले नै जोगाएको खुलामञ्चको अस्तित्वलाई नै जोखिममा पारेको छ ।
महानगरले गुपचुप रूपमा योजना अगाडि बढाएपछि शहरी यातायात विज्ञहरूले यसबारे स्पष्टीकरण मागेका छन् । तर, मेयर बालेन्द्र (बालेन) साहले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
शहरको पार्किङ समस्या हटाउने नाममा उनी किन खुलामञ्च नै खोतल्न चाहन्छन् त ? यसबारे महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरसँग गरेको संक्षिप्त कुराकानी : महानगरको कार्यपालिकाले खुलामञ्चमा भूमिगत पार्किङ बनाउनेबारे अध्ययन गर्न नगर विकास कोषलाई भनेको छ ।
त्यहाँभित्र पार्किङ निर्माण प्रक्रिया अघि बढेको हो ?
खुलामञ्चमा महानगरले के गर्न लागेको हो त ?
खुलामञ्चभित्रको खुला भागमा घाँसे चौर बनाउन डोजर चलाएको हो । खुलामञ्चमुनि तीनतले पार्किङको डीपीआर तयार गर्ने जिम्मा नगर विकास कोषलाई दिइएको हो । कोषले त्यहाँ खाल्डो नखनी बाहिरबाट हेरेरै अध्ययन गर्छ । त्यसबाट भूमिगत पार्किङ बनाउन लाग्ने समय, लागत सबै थाहा हुन्छ ।
डीपीआर आएपछि त्यस्तो पूर्वाधार महानगर आफैंले बनाउन सक्छ कि, प्रदेश सरकार वा अरू मुलुक वा दातृ निकायसँग सहकार्य गर्नुपर्छ भनेर हेरिन्छ । आगामी २० वर्षसम्म ट्राफिक व्यवस्थापन गर्ने सोचबाट महानगरले यो निर्णय लिएको हो ।
अहिले भइरहेको काम त खुलामञ्चलाई सफा राख्नलाई मात्र हो । वीर अस्पताल र दरबार हाईस्कुल बनाउँदा त्यहाँ राखिएका निर्माण सामग्री र अस्थायी टहराको फोहोर हटाएर सफा र सम्याउने काम भएको हो । अब त्यहाँ घाँस हुर्काइनेछ ।
परियोजनाको आवश्यकता, औचित्य बुझ्न गरिने पूर्वसम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन र जनताको रायसुझाव लिन गरिने सार्वजनिक सुनुवाइ जस्ता आधारभूत प्रक्रिया मिचेर डीपीआरको
तहसम्म पुग्न जायज हो र ?
डीपीआर तयार भएर सम्भावना देखिए सार्वजनिक सुनुवाइ पनि गरिन्छ । यातायात विज्ञहरूले यसलाई शहरभित्र निजी सवारीको चाप बढाउने योजना भनेका छन् । महानगरले पार्किङको लागि
किन खुलामञ्च नै रोज्नु परेको ?
२० वर्षसम्मका लागि पार्किङ समास्या सल्ट्याउन सकिन्छ कि भनेर यसमा लागेका हौं । भूमिगत रूपमै अरू बाटाहरू बनाउन सकिन्छ कि भनेर पनि हेरिनेछ । टुँडिखेलमा पार्किङ गरेर भित्रभित्रै न्युरोड, पुरानो बसपार्क, विश्वज्योति हल निस्कन सकिन्छ कि भनेर हेर्न खोजेका हौं ।
डीपीआरसम्म पुग्दा अहिलेको पार्किङ पूर्वाधारको क्षमता र थप पूर्वाधारको आवश्यकताबारे अध्ययन गरिसक्नुभएको छैन ?
सबै अध्ययन त डीपीआरको जिम्मेवारी पाएको नगर विकास कोषले नै गर्छ । अध्ययन र प्रस्ताव तयार भएपछि सबैको मत लिन्छौं, सबैसँग सहकार्य गर्छौं ।
काठमाडौंको ट्राफिक समस्याको प्राविधिक प्रकृति र पार्किङ लटहरूबारे सामान्य अध्ययन/छलफल नगरी खुलामञ्चमै पार्किङ
बनाउने हतार किन त ?
यसबारे विज्ञहरूसँग अस्ति मेरियट होटलमा छलफल गर्यौं । सबै विज्ञ, अरू निकाय र विश्व स्वास्थ्य संगठनका मानिसहरू समेत राखेर एक चरण छलफल गरिसक्यौं ।
स्वतन्त्र विज्ञहरूले त खुलामञ्चको पार्किङ भित्री शहर लक्षित हो भने झन् प्रत्युत्पादक हुन्छ भनिरहेका छन् नि ?
अरू मान्छेले के भन्छन्, त्यो हामीलाई थाहा छैन । आगामी २० वर्षसम्मको लागि समस्या समाधानको काम गर्न पाइन्छ भने हामीले त्यही गरेका हौं ।
खुलामञ्च सार्वजनिक जग्गा हो, सरकारी हैन । यस्तो जग्गाको संरक्षण गर्नुपर्ने महानगरले जथाभावी उपयोग गर्न पाउँदैन भन्ने आवाजहरू पनि उठेका छन् । यसबारे महानगरको धारणा के हो ?
महानगर सरकार हैन ? स्थानीय सरकार भनेरै बनाएको हैन ?
सार्वजनिक खुला स्थान त जनताको भोगाधिकारको क्षेत्र हो भन्ने छ नि ?
तपाईंहरू पनि ‘एड्भोकेसी’, अदालती कुरा गर्नुहुन्छ भने मसँग बहस नगर्नुस् । मैले त कुरा जे छ, त्यो तपाईंहरूलाई भन्दिने हो । मसँग वकिलले जसरी कुरा नगर्नुस् ।
त्यसो भए डीपीआरले अपेक्षित सम्भावना देखायो भने खुलामञ्चमा भूमिगत पार्किङ बन्छ त ?
अरे बाबा, यति कुरा त तपाईंले बुझ्नुपर्छ कि अन्तिममा हामी सरोकारवालासँग सार्वजनिक सुनुवाइ गर्छौं । उनीहरू सहमत भए हामी अगाडि बढ्छौं ।