शुक्रबार, मंसिर १४ गते २०८१

अमेरिकी राष्ट्रपतिद्वारा अफ्रिकी राष्ट्रको भ्रमण गर्ने घोषणा

अमेरिकी राष्ट्रपतिद्वारा अफ्रिकी राष्ट्रको भ्रमण गर्ने घोषणा

अखबार दैनिक
शुक्रबार, पुस १ २०७९
  • अमेरिकी राष्ट्रपतिद्वारा अफ्रिकी राष्ट्रको भ्रमण गर्ने घोषणा

    राष्ट्रपति जो बाइडेनले आगामी वर्ष अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने घोषणा गर्नुभएको छ । यहाँ आयोजित अमेरिकी–अफ्रिकी नेताहरूको शिखर सम्मेलनलाई समापन गर्दै उहाँले उक्त घोषणा गर्नुभएको हो ।

    images

    राष्ट्रपतिले भ्रमणको घोषणा गरेपनि त्यसलाई औपचारिक भ्रमणसूचीमा समावेश गरिएको छैन । विकासको पथमा अग्रसर भइरहेको अफ्रिकी महादेशप्रति आफ्नो ध्यान केन्द्रित रहेको बताउँदै उहाँले अफ्रिकी राष्ट्रहरूलाई सक्दो सहयोग गर्ने दृढता पनि व्यक्त गर्नुभयो । दश वर्ष यता अमेरिकी राष्ट्रपतिबाट अफ्रिकाको औपचारिक भ्रमण भएको छैन । आगामी वर्ष राष्ट्रपतिबाट निजी भ्रमण हुनसक्नेछ । उहाँले सम्मेलनमा सहभागी ४९ देशका सरकार वा राष्ट्रप्रमुखसमक्ष भ्रमण गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

    अमेरिकाको तुलनामा चीनले अफ्रिकी देशहरूमा अधिक व्यापार गरिरहेको तथा सैन्य उपस्थिति पनि बढाउने प्रयास गरिरहेका बेला अफ्रिकी नेतासँग बाइडेन प्रशासनले शिखर सम्मेलन आयोजना गरेको हो । अफ्रिकी राष्ट्रहरूसँग अमेरिकी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अफ्रिकी नेताहरूको शिखर सम्मेलन आयोजना गर्नुभएको थियो । उक्त सम्मेलन सोही उद्देश्य प्राप्तिका निम्ति राष्ट्रपति बाइडेनले यो वर्ष आयोजना गर्नुभएको हो । विश्वका शक्ति राष्ट्रहरूका लागि अफ्रिकी मुलुकहरू प्राकृतिक स्रोतका साथै संयुक्त राष्ट्रसङ्घमा मत प्राप्त गर्न महत्त्वपूर्ण मानिन्छन् ।

    टर्की र चीनका लगानीकर्ताले नाइजरमा लगानी बढाइरहेका बेला अमेरिकाले पनि त्यसो गर्नसक्ने नाइजरका राष्ट्रपति मोहम्मद बजुमले बताउनुभएको छ ।

    अमेरिकी राष्ट्रपतिले अफ्रिकी सङ्घलाई विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च ‘जी ट्वेन्टी’को स्थायी सदस्य बनाउन अमेरिकाको समर्थन रहने औपचारिक घोषणा गर्नुभएको छ । साथै, उहाँले अफ्रिका महादेशको खाद्य सुरक्षाका निम्ति दुई अर्ब अमेरिकी डलर खर्च गर्ने योजनाबारे जानकारी पनि दिनुभएको छ । उहाँले अफ्रिकी राष्ट्रहरूमा आगामी वर्ष हुने आम निर्वाचनलाई शान्तिपूर्ण एवम् पारदर्शी तुल्याउन १६ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ । रासस/एपी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार