काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको फाइनल समिकरणको रोचकतासँगै सर्वाधिक गोल गर्ने खेलाडीले पाउने गोल्डेन बुटको रस्साकस्सी पनि रोचक बनेको छ । विश्वकपको फाइनलमा साविक विजेता फ्रान्स र अर्जेन्टिनाले स्थान बनाईसकेका छन् ।
दुई दुई पटक विश्वकपको उपाधि चुमेका फ्रान्स र अर्जेन्टिना आइतबार राति आमनेसामने हुँदा तेस्रो उपाधि चुम्ने लक्ष्यमा छन् । उपाधिसँगै दुवै टोलीका खेलाडीबीच गोल्डेन बुट लगायत ब्यक्तिगत पुस्कार थाप्ने होडबाजीले पनि विश्वकपलाई थप रोचक बनाउने छ ।
विश्वकपमा गोल्डेन बुट सर्वाधिक गोल गर्ने एक खेलाडीलाई दिईन्छ । यस दौडमा अहिले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी हुनुहुन्छ । ३५ वर्षीय मेस्सीले जारी विश्वकपमा ६ खेलमा पाँच गोल गर्नुभएको छ । यसैगरी फ्रान्सका २३ वर्षीय स्टार केलियन एमबाप्पेले पनि पाँच नै गोल गर्नुभएको छ ।
दुवै खेलाडीको समान पाँच पाँच गोल भएपनि गोलका लागि गरेको असिस्टका आधारमा मेस्सी अगाडि हुनुहुन्छ । मेस्सीले गोलका लागि तीन असिस्ट दिनुभएको छ भने एमबाप्पेले दुई असिस्ट दिनुभएको छ ।
त्यसैले गोल्डेन बुटको लागि पनि फाइनल खेलमा यी दुई खेलाडीका लागि महत्वपूर्ण हुने देखिएको छ । फाइनल सम्ममा गोल र असिस्ट समेत बराबरी भएका कम समय खेलेर गोल गरेको आधारमा गोल्डेन बुट विजेताको छिनोफानो हुनेछ ।
मेस्सी र एमबाप्पेसँगै गोल्डेन बुटको दौडमा फ्रान्सकै ३६ वर्षीय ओलिभर गिरोड र अर्जेन्टिनाका २२ वर्षीय जुलिय अल्भारेज पनि हुनुहुन्छ । उहाँहरु दुवै जनाले चार चार गोल गर्नुभएको छ । गिरोड र अल्भारेजलाई यस उपाधि जित्न फाइनलमा थप मिहेनत गार्नुपर्ने देखिन्छ । एजेन्सी