आइतबार, मंसिर ९ गते २०८१

के हो पोस्टपार्टम डिप्रेसन, कसरी बच्ने?

के हो पोस्टपार्टम डिप्रेसन, कसरी बच्ने?

अखबार दैनिक
बुधबार, मंसिर २८ २०७९
  • के हो पोस्टपार्टम डिप्रेसन, कसरी बच्ने?

    काठमाडौँ– कीर्तिपुर बस्ने एक महिला गर्भवती थिईन्। बिहेको गरेको केही वर्षपछि ती दम्पत्तिले योजना बनाएर नै बच्चा जन्माउने निर्णय गरेका थिए। उनी गर्भवतीको समयमा निकै खुशी थिईन्। उनी बच्चा जन्मिएपछि गर्ने विभिन्न योजना बनाएर बसिरहेकी हुन्थिन्। उनका श्रीमान पनि उनलाई निकै साथ सहयोग दिन्थे।

    images

    डाक्टरले तोकेको मिति कै आसपास ती महिलाले प्राकृतिक प्रकियाबाट बच्चालाई जन्म दिईन्। बच्चा जन्मिएपछि उनीहरू निकै खुसी थिए। बच्चा पनि स्वस्थ थियो। तर बच्चा जन्मिएको केही दिनलगत्तै त्यी महिलालाई बच्चाको माया नै लाग्न छाड्यो।


    श्रीमती जे कुरामा पनि रिसाउने, बोल्नै नचाहने, नकारात्मक कुरा गर्ने गर्न थालेपछि श्रीमानले आफ्नो एक जना साथीलाई उक्त कुरा सुनाए। ती साथीले डिप्रेसन हुनसक्ने भन्दै परामर्शमा लैजान सल्लाह दिए। त्यसपछि उनी आफैंले पनि इन्टरनेटमा बच्चा पाएपछि हुने मानसिक समस्याको बारेमा खोज्दा पोष्टपार्टम डिप्रेसनको बारेमा जानकारी पाए। त्यसपछि उनले श्रीमतीलाई मानसिक चिकित्सककोमा लिएर गए। परामर्श गरेपछि श्रीमतीको व्यवहारमा परिवर्तन आएको उनी बताउँछन्। 

    त्यस्तै पोष्टपार्टम डिप्रेसन कै कारण केही समय अघि एक महिलाले नारायणी नदीमा आत्महत्या गरेकी थिईन्। डेढ महिने छोरीलाई लिएर सुत्केरी खान झापाबाट चितवन माइती पुगेकी महिलाले नारायणी नारायणी नदीमा हाम फालेर आत्महत्या गरेकी हुन्। 

    पछिल्लो समय महिलाहरुमा पोस्टपार्टम डिप्रेसनका समस्या बढीरहेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र ९सिएमसी० नेपालकी मनोविद करुणा कुँवर बताउँछिन्। केहि अन्तर्राष्ट्रिय अनुसन्धानहरुले पोस्टपार्टम डिप्रेसन भर्खरै बुवा बनेकाहरुलाई समेत हुने देखाउँछ। तर नेपालमा भने महिलाहरुमा हुने पोष्टपार्टम डिप्रेसनको विषयमा नै  बल्ल चर्चा हुन थालेकोले पुरुषमा हुँदैन भन्ने बुझाईले पुरुषहरु खुलेर नआएको हुन् सक्ने कुँवर बताउँछिन्। 

    के हो पोस्टपार्टम डिप्रेसनरु
    कुनै पनि महिला सुत्केरी हुने बित्तिकै या बच्चा जन्माएको केहि समयपछि देखिने मानसिक समस्या पोस्टपार्टम डिप्रेसन हो। डा कुँवरका अनुसार यस अवस्थामा डिप्रेसनको जस्तै लक्षणहरु देखा पर्छन्। यसका लक्षणहरू गर्भावस्थाको समयमा वा बच्चा जन्मिएपछि केही हप्ताभित्र विकसित हुने उनी बताउँछिन्।

    यसका लक्षणहरु
    डा कुँवरका अनुसार पोस्टपार्टम डिप्रेसनमा सामान्यतया मुड स्विङ हुने, रोइरहने मन लाग्ने, चिन्ता र सुत्न गाह्रो लगायत विभिन्न लक्षणहरु देखा पर्छन्। उनका अनुसार यसका अन्य लक्षणहरू निम्न छन्:
    १. दुखको अनुभूति हुने
    २. झर्को लाग्नेर चिडचिडापन र क्रोध
    ३. आफैलाई वा बच्चालाई हानि पुर्याउने विचारहरू आउने
    ४. निन्द्रा नलाग्ने वा धेरै सुत्नु
    ५. खान मन नलाग्ने
    ६. जन्मेको बच्चाको समेत माया नलाग्नेर बच्चासँग रमाउन नसक्नु
    ७. झगडा गरिरहने
    ८. असल आमा हुन सक्दिनँ भन्ने डर
    ९. मृत्यु वा आत्महत्याको बारम्बार विचारहरू आउने
    १०.अरु समयमा रमाइलो लाग्ने गतिविधिहरूमा रुचि र आनन्द कम हुनु

    पहिलो बच्चा जन्मिदा मात्रै नभएर कुनै पनि बच्चाको जन्मपछि सुत्केरीले पोस्टपार्टम डिप्रेसन अनुभव गर्न सक्ने चिकित्सकहरु बताउँछन्। 'अन्य समयमा डिप्रेसन भएकाहरुमा, अघिल्लो गर्भावस्थापछि पोस्टपार्टम डिप्रेसन भएकाहरुमा, बच्चालाई स्वास्थ्य समस्या भएकाहरुमा, श्रीमान वा परिवारका अन्यसँग सम्बन्धमा समस्या भएमा, आर्थिक समस्या भएमा, गर्भावस्था अनियोजित भएको अवस्थामा यसको जोखिम बढी हुन्छ,' कुँवर बताउँछिन्।

    नेपाली समाजमा कतिपय परिवारमा छोरी पाउनु हुँदैन छोरा नै चाहिन्छ भने जस्तो व्यवहार हुँदा पनि पोस्टपार्टम डिप्रेसनको जोखिम बढ्ने उनले बताईन्।

    महिलाहरुमा नै बढी यो समस्या हुने हुनाले परिवारका सदस्यले उसलाई बुझ्न नसक्ने, उल्टै बच्चाको ख्याल नराखेको भनेर रिसाउने जस्ता व्यवहार हुँदा आत्महत्याको बाटोमा जाने जोखिम भएको मनोचिकित्सकहरु बताउँछन्। डा कुँवर भन्छिन्, 'यो आफैंले चाहेर हुने होईन्,कतिपय मनिसहरुले सुत्केरि हुन् मन नलागेर होला भन्ने जसरि पनि लिन्छन्। तर यसलाई निको हुने रोगकै रुपमा हेर्न जरुरी छ।'

    यदि कसैलाई पोस्टपार्टम डिप्रेसन या डिप्रेसनको हिस्ट्री छ भने, गर्भवती हुने योजना बनाउने समयमा या गर्भवती भएको थाहा पाउने बित्तिकै डाक्टरलाई भन्नुपर्ने कुँवर बताउँछिन्। कहिलेकाहीँ हल्का डिप्रेसनलाई परामर्श वा अन्य उपचारहरूद्वारा व्यवस्थित गर्न सकिन्छ। नत्र गर्भावस्थाको समयमा पनि एन्टिडिप्रेसन औषधिहरू खान सकिन्छ।

    पोस्टपार्टम डिप्रेसनको उपचार नगर्दा आमा र बच्चाको सम्बन्धमा असर पुग्न सक्ने र पारिवारिक समस्याहरू निम्त्याउन सक्ने हुनाले यस्तो अवस्थामा परिवार एकदमै समझदार हुनुपर्ने मानोचिकित्सकहरु बताउँछन्। सुत्केरीले त्यस्ता कुनै पनि लक्षण देखाएमा परिवारका सदस्यहरुले बुझेर परामर्श वा अन्य उपचारहरू सुरु गरिहाल्नु पर्ने कुँवर बताउँछिन्। उपचार र परामर्श पछि पोस्टपार्टम डिप्रेसनको समस्या सामान्य हुने र दैनिक जीवन सहज हुन्छ।

    पोस्टपार्टम डिप्रेसनको कारणले वर्षेनी धेरै महिलाहरुले ज्यान गुमाई रहेको र लामो समयसम्म मानसिक समस्या भोगिरहनु परेकाले यस विषयमा चेतना फैलाउन जरुरी भएको कुँवर बताउँछिन्। उनी भन्छिन्, 'नेपालमा बल्ल मानसिक स्वास्थ्यको विषयमा कुरा हुन थालेको छ, त्यसरी नै पोस्टपार्टम डिप्रेसनको विषयलाई पनि बहसको विषय बनाउनु पर्छ। त्यस्तै यसलाई निको हुने समस्या हो भनेर समुदायस्तरमा चेतना फैलाउनु पर्छ।'

    प्रतिक्रिया दिनुहोस

    थप समाचार