दक्षिणी युक्रेनको ओडेसा र मोलिटोपोलमा भीषण आक्रमण भएको छ । रुसले ओडेसामा आक्रमण गरिरहँदा रुसी नियन्त्रणमा रहेको मोलिटोपोलमा युक्रेनी सेनाले आक्रमण गरेको छ। ओडेसामा प्रहार भएका १५ मध्ये १० ड्रोनलाई खसालिदिएको युक्रेनले दाबी गरेको छ।
बाँकी पाँच ड्रोनले विद्युत गृहलाई निशाना बनाएका छन्। जसका कारण ओडेसा सहरका १५ लाख मानिस विद्युतविहीन भएका छन्। यो आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको र कयौँ मानिस घाइते भएको बीबीसीले जनाएको छ।
मोलिटोपोलमा भने युक्रेनी सेनाले आक्रमण गरेको त्यहाँका निर्वासित मेयर बताएका छन्। मोलिटोपोलबाट सार्वजनिक भएका तस्बिरमा त्यहाँ भीषण आगलागी भएको देखिन्छ। ओडेसामा भएको आक्रमणमा इरानी ड्रोन प्रयोग भएको युक्रेनी अधिकारीको दाबी छ।
मोलिटोपोलमा भने अमेरिकी हिमार्स रकेट लञ्चरबाट आक्रमण भएको रुसी दाबी छ। यस्तै पूर्वी युक्रेनको लुहान्स्कमा युक्रेनी सेनाले रुसका लागि लड्ने भाडाका सैनिकको मुख्यालयमा बमबारी गरेको छ।
लुहान्स्कका निर्वासित मेयर सेह्रिय हैदाइले आक्रमणमा रुसले ठूलो क्षति व्यहोरेको दाबी गरेका छन्।