मंसिर ७ सिन्धुली । सिन्धुली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन (क) र (ख) मा सत्तारुढ गठबन्धनका उमेदवार विजयी बन्नुभएको छ ।
गठबन्धनबाट प्रदेशसभा (क) मा नेपाली कांग्रेसका उमेदवार छेत्रबहादुर बम्जनले १६ हजार ८३५ मत र प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र)का गंगानारायण श्रेष्ठले १३ हजार एक मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रदेशसभा (क) मा निर्वचित बम्जनले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उमेदवार बिनोदकुमार खड्कालाई पाँच हजार १५४ फराकिलो मतको अन्तरले पराजित गर्नुभएको छ । एमालेका खड्काले ११ हजार ६८१ प्राप्त गर्नुभएको छ ।
राप्रपाका राजेशविक्रम बस्नेतले एक हजार ८०८ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ । मजदुर किसान पार्टीका संगिता दुवालले १३५ र मंगोल नेशनल अर्गनाईजेशनका वोजनकुमार बलले २१६ मत प्राप्त गर्नुभएको छ ।
पराजित खड्का २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । बम्जन २०७४ कोे निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेससभा (ख) मा माओवादी केन्द्रका वुद्धिमान माझीसँग पराजित हुनुभएको थियो ।
त्यस्तै, प्रदेशसभा (ख) मा निर्वचित श्रेष्ठले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उमेदवार रामकुमार पौडेललाई तीन हजार २१२ मतको अन्तरले पराजित गर्नु भएको छ । एमालेका पौडेलले नौ हजार ७८९ मत प्राप्त गर्नुभएको छ । राप्रपाका टलकबहादुर कार्कीले १७७ मत, मजदुर किसान पाटीका लक्ष्मण ग्वाछाले ३१ मत, मंगोल नेशनल अर्गनाईजेशनका तुलसी राईले २५१ मत र जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीले ७१ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।
डा. बाबुराम भट्टराइको समाजवादी पार्टीका उपाध्यक्ष रहेका प्रदेशसभा २ बाट निर्वाचित श्रेष्ठ माओवादी केन्द्रको चिन्हबाट प्रदेशसभा सदस्यमा उमेदवार बन्नुभएको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुलीको तत्कालिन निर्वाचन क्षेत्र नम्बर २ मा माओवादीको तर्फबाट उमेदवार बन्नुभएका श्रेष्ठले नेपाली कांग्रेसका उमेदवार मोहन बरालस“ग एक हजार तीन सय मतले पराजित हुनुभएको थियो ।
प्रतिनिधिसभा सदस्यको दुई वटै निर्वाचन क्षेत्रको र निर्वाचन क्षेत्र नम्बर १ को दुई वटै प्रदेशसभाको मतगणना कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।