मंसिर ६ काठमाडौँ । मधेशवादी पार्टीका प्रमुख नेताहरू प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पछाडि देखिएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सप्तरी–२ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव पछाडि परेका छन्। उनी जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सीके) राउतसँग दोब्बरभन्दा बढी मतान्तरले पछाडि छन्।
राउतले १५ हजार ५ सय ८३ मत ल्याई अग्रस्थानमा रहँदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ७ हजार ७ सय ११ मतसाथ फराकिलो अन्तरले पछाडि परेका छन्। यादवले पाएको कुल मत संख्याभन्दा राउतको मतान्तर संख्या बढी छ।
त्यस्तै, महोत्तरी–३ मा मेधशको अर्को प्रमुख दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालका अध्यक्ष महन्थ ठाकुरभन्दा स्वतन्त्रका उम्मेदवार राम आधार कापर दोब्बर मतले अगाडि छन्।
प्रारम्भिक मतगणनामा कापरले २ हजार २ सय ४ मत ल्याउँदा ठाकुरले १ हजार १ सय ९६ मत ल्याएका छन्। सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार रहेका लोसपाका अर्का ठूला नेता राजेन्द्र महतो पनि पछाडि छन्।
बाबुराम भट्टराईको नेतृत्वको नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष रहेका र अहिले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार रहेका महिन्द्र राय यादवले १ हजार ८ सय २५ मत ल्याएका छन्।
यादवलाई पछ्याउँदै उनका निकटतम प्रतिद्वन्द्वी महतोले १ हजार ३ सय ३१ मतका साथ दोस्रो स्थानमा छन्। लोसपाका उम्मेदवार अर्का नेता अनिलकुमार झा पनि पछाडि छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार जुलीकुमारी महतो ९महासेठ०ले ४ हजार ९ सय ९५ मत ल्याउँदा ३ हजार ८ सय ६६ मतका साथ झा दोस्रो स्थानमा छन्।
स्थापित भइसकेका मेधशकेन्द्रित दलहरूबाट असन्तुष्ट भई पुरानो ‘तराई मधेश लोकतान्त्रिक पार्टी’लाई ब्युँताएर अध्यक्ष भएका नेता वृषेस चन्द्र लाल प्रतिनिधिसभा सदस्यमा महोत्तरी निर्वाचन क्षेत्र ३ बाट उम्मेदवारी दिएकोमा उनी चौथो स्थानमा छन्।
यहाँ स्वतन्त्र उम्मेदवार कापर २ हजार २ सय ४ मत ल्याएर पहिलो, उनका निकटतम प्रतिद्वन्द्वी रहेका ठाकुरले १ हजार १ सय ९६, जसपाका हरिनारायण यादवले १ हजार ३ सय २७ मत ल्याउँदा लालको मत ९१ मात्र छ । मतगणना जारी छ।