काठमाडौँ । नेकपा एमालेका १५ पदाधिकारी चुनावी मैदानमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पदाधिकारीको मतगणनाको अपडेट आइरहेको छ । केही पदाधिकारी उम्मेदवार रहेका क्षेत्रबाहेक अधिकांशको मतगणनाको अपडेट आइरहेको छ ।
मंगलबार बिहान १० बजेसम्मको मतगणनाको अपडेटअनुसार एमालेका अधिकांश पदाधिकारी मतगणनामा पछि परेका छन् । एमाले अध्यक्ष झापा-५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । झापा क्षेत्र नं. ५ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले ८ हजार ९ सय ७८ मत ल्याई अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ५ हजार ४ सय ४८ मतका साथ दोस्रो स्थानमा छन् ।
एमाले अध्यक्ष ओलीले आफ्ना प्रतिस्पर्धीभन्दा ठूलो अग्रता लिइरहेको बेला एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने चुनावी प्रतिस्पर्धामा पछि परिरहेको देखिएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलले कांग्रेसका प्रदिप पौडेलसँग प्रतिस्पर्धा गरिरहेका छन् । कांग्रेसका उम्मेदवार पौडेलले ६ हजार १ सय ८१ मत ल्याई अग्रस्थानमा छन् भने एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले ४ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनी त्यहाँ दोस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २ हजार ८ सय ४४ मत ल्याई अग्रता लिइरहेका छन् भने पौडेलले २ हजार ६ सय ४४ मतका साथ पछ्याइरहेका छन् ।
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम २ मा उम्मेदवार छन् । उनी पनि दोस्रो स्थानमा रहेका छन् । इलाम क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का २ हजार १ सय ७८ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी बनेका नेम्वाङ २ हजार १ सय १ मतका साथ दोस्रो स्थानमा छन् ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन क्षेत्र नम्बर १ मा उम्मेदवार छन् । उनी त्यहाँ तेस्रो स्थानमा छन् । चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ७६ मतका साथ अग्रता लिइरहेका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएर पछ्याइरहेका छन् । एमाले उपाध्यक्ष पाण्डेले भने ४ हजार ५ सय २३ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।
एमालेमा अध्यक्षपछिको शक्तिशाली पद महासचिव हो । एमालेको यो पदमा रहेका शंकर पोखरेल दाङ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । दाङ क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार रेखा शर्माले ६ हजार ५ सय ७२ मत ल्याई अग्रता लिइरहेकी छन् । एमाले महासचिव पोखरेलले ५ हजार २ सय १० मतका साथ दोस्रो स्थानमा रहेका छन् ।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली उम्मेदवार बनेको गुल्मी १ मा मतगणना भएको छैन । यो निर्वाचन क्षेत्रका केही केन्द्रमा मंगलबार मतदान भइरहेको छ ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङमा अग्रता लिइरहेका छन् । लमजुङ क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार पृथ्वी सुब्बा गुरुङले ९ हजरा ३ सय ३ मत ल्याउँदा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ७ हजार ४ सय मत ल्याएका छन् ।
एमाले सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीमा अग्रता लिइरहेका छन् । उनले कांग्रेसकी पुष्पा भुसाललाई पछाडि पारेका हुन् । रायमाझी ८ हजार १ सय ८२ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली भुसाल ५ हजार ९ सय ९५ मतका साथ दोस्रो स्थानमा छिन् ।
एमाले सचिव लेखराज भट्टले कैलाली ४ बाट अग्रता लिइरहेका छन् । यो क्षेत्रमा कांग्रेसका उम्मेदवारसँग भट्टको कडा प्रतिस्पर्धा भइरहेको छ । भट्ट ५ हजार २ सय ७७ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायर ५ हजार १ सय मतका साथ दोस्रो स्थानमा छन् ।
एमाले सचिव गोकर्ण विष्टले गुल्मी २ बाट अग्रता लिइरहेका छन् । विष्टले १० हजार १ सय २४ मत ल्याई अग्रस्थान लिइरहेका छन् । यो क्षेत्रमा एकिकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री ८ हजार ८ मत ल्याएर पछ्याइरहेकी छन् ।
एमाले सचिव योगेश भट्टराई उम्मेदवार रहेको ताप्लेजुङमा मतगणना सुरु भएको छैन ।
एमाले सचिव छविलाल विश्वकर्मा रुपन्देही १ मा अग्रता लिइरहेका छन् । उनले २ हजार ३ सय ३८ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धनीराम चौधरी १ हजार ८ सय ७३ मतका साथ दोस्रो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले १ हजार ८ सय २ मत ल्याएर तेस्रो स्थानमा छन् ।
एमाले सचिव रघुवीर महासेठ उम्मेदवार रहेको धनुषा ४ मा मतगणना सुरु भएको छैन । एमाले सचिव पद्माकुमारी अर्याल उम्मेदवार रहेको स्यांजा २ मा पनि मतगणना सुरु भएको छैन ।