बिहीबार , कात्तिक १५ गते २०८१

कलाकारद्वारा मतदान, मताधिकार सदुपयाेग गर्न आह्वान

कलाकारद्वारा मतदान, मताधिकार सदुपयाेग गर्न आह्वान

अखबार दैनिक
आइतबार, मंसिर ४ २०७९
  • कलाकारद्वारा मतदान, मताधिकार सदुपयाेग गर्न आह्वान

     

     

    मङ्सिर ४ काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका लागि कलाकारहरुले समेत आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदान गरिरहेका छन् । 

    images

    हास्य कलाकार हरिवंश आचार्यले गत वर्षको निर्वाचनकाे तस्विर समाजिक सञ्जालमा सार्वजनिक गर्दै लेख्नुभएको छ, “लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचनबाट आफूलाई मन पर्ने जनप्रतिनिधि आफैँले छान्न पाउनु हो  । सबैले  निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गरौँ।”

    अभिनेता भुवन केसीले काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गर्नुभएको छ । केसीले आफ्नो रुचि राजनीतिमै रहेको बताउँदै अर्को चुनावमा मौका पाए उम्मेदवार बन्ने बताउनुभयो । 

    यस्तै, अभिनेता राजेश हमालले लैनचरस्थित शान्ति विद्या निकेतन मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउन सक्नेसमेत बताउनुभयो । 

    अभिनेता दीपकराज गिरीले काठमाडाैंकाे दहचोक मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदान गरिसकेपछि गिरी सामाजिक सञ्जालमा अघिल्लो वर्षको तस्विर राख्दै लेख्नुहुन्छ, “५ वर्ष अगाडिको फोटो हो , त्यति बेला गरिएको गल्ती, यो पटक दोहोरिन्न । नयाँ जोशका साथ आएका युवा उम्मेदवारहरूलाई शुभकामना ।”

    दीपाश्री निरौलाले विराटनगर क्षेत्र नं ६ बाट मतदान गर्नुभयो । उहाँले आफूले हाम्रो मान्छेभन्दा पनि राम्रो र देश विकास गर्नेलाई आफ्नो अमूल्य मत दिने बताउनुभयो । उहाँका अनुसार उम्मेदवार जुनसुकै पार्टीबाट होस् त्यो सरोकार भएन, आफ्नो क्षेत्रलाई राम्रो बनाउने मान्छे हुनुपर्छ ।

    उता, अभिनेत्री रेखा थापा राप्रपाबाट आफैँ उम्मेदवार भएकाले आफ्नै निर्वाचन क्षेत्र मोरङ–३ मा सक्रिय हुनुहुन्छ । 

    निर्वाचनको शुभकामना दिँदै अभिनेत्री थापा लेख्नुहुन्छ, “अब एउटा इतिहास बोक्ने बिहानीको पर्खाइ छ । जहाँ एउटा बाकसमा हजारौं सपनाहरू खस्नेछन्  ।”

    अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका–३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गर्नुभयाे । उहाँले पति विनोद मानन्धरसँगै निर्वाचनमा मतदान गर्नुभएको हो ।

    उहाँका अनुसार हामीले पाएको मतदानको अधिकारको प्रयोग हामी सबैले गर्नुपर्छ  ।मतदानपछि करिश्माले कलाकारहरुले पनि सक्रिय राजनीति गर्न आवश्यक रहेको बताउँदै रेखा थापालाई शुभकामना दिनुभयाे ।

    यस्तै, हास्य कलाकार निर्मल शर्माले काठमाडौं क्षेत्र नम्बर ४ को सिफलबाट मतदान गर्नुभएको छ । मतदान गरेपछि उहाँले पनि आफू अब सक्रिय राजनीतिमा लाग्ने बताउनुभयो । यसका लागि आफूले तयारीसमेत सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

    “यसबाहेक समृद्ध देश, सुदृढ समाज र सुशासनको चाहना राख्नेहरुले यसपटकको मतदान महत्वपूर्ण छ । विगतमा धेरै मतदान गरियो तर देशले बाटो पहिल्याउन सकेन । तर यसपटक युवा राजनीतिमा सक्रिय भएको देख्दा केही आशा पलाएको छ”, उहाँले भन्नुभयो । 

    यस्तै, अभिनेत्री केकी अधिकारीले चाबहिलस्थित मतदान केन्द्रबाट भोट हाल्नुभयाे । आफूले चाहेको परिवर्तन के हो भन्नेबारे सामाजिक सञ्जालमा केकी लेख्नुहुन्छ, “आज खसाल्ने मतले हाम्रो वर्तमान र भविष्य उठाओस् । मतदान गर्नु ठूलो जिम्मेवारी हो । मतदान गर्न पाउने अधिकार हामीले सजिलै पाएका पनि होइनौं। त्यसैले आफ्नो मत हाल्ने अधिकार र कर्तव्य पूरा गर्न आ–आफ्नो मतदान केन्द्रमा जाऔँ। कोही पनि नछुटौँ । आफैँ बनाऔँ, आफ्नाे सरकार ।” 

    यस्तै, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार निश्चल बस्नेतले पनि मतदान गरेको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ । अभिनेत्री खड्काले आफूले राम्रो परिवर्तनका लागि राम्रोलाई मतदान गरेको जानकारी दिनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार