आइतबार, मंसिर ९ गते २०८१

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदै

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदै

अखबार दैनिक
शुक्रबार, मंसिर २ २०७९
  • विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदै

     

    काठमाडौँ: आजबाट विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह सुरु भएको छ। विश्वमा प्रतिजैविक प्रतिरोध (एन्टी माइक्रोबियल रेजिस्टेन्स) को बारेमा सचेतना बृद्दी गर्दै रेजिस्टेन्स नियन्त्रणको लागि असल अभ्यास अपनाउन प्रोत्साहन गर्ने ध्येयका साथ हरेक वर्ष नोभेम्वर १८ देखि २४ तारिख सम्म यो सप्ताह मनाइन्छ।

    images

    नेपालमा पनि आजबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको सहकार्यमा विश्व एन्टीमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह 'सबै क्षेत्र जुटौं, प्रतिजैविक प्रतिरोध रोकथाम गरौ' भन्ने नारामा  आधारित भई  'एन्टीमाइक्रोबियल्सको प्रयोग सावधानी पूर्वक गरौँ' भन्ने मूल भावनाका साथ विभिन्न कार्यक्रमहरु संचालन गरी मनाईंदैछ।

    प्रतिजैविक प्रतिरोध विगत केहि दशक देखि विश्वव्यापी जनस्वास्थ्य चुनौतीको रुपमा देखा परेको छ। यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टीबायोटिक्स लगायतका एन्टीमाइक्रोबियल औषधिहरुको  प्रभावकारीता  कम हुँदै गएको छ।

    मानिस, पशुपंक्षी तथा वनस्पतिका संक्रामक तथा सरुवा रोगहरुका जीवाणु विरुद्ध प्रयोग हुने यी औषधिहरुको समुचित प्रयोग नहुनाले  प्रतिरोध विकास भई संक्रामक रोगहरुको उपचारमा बाधा उत्पन्न भएको छ। यसको कारण वर्षेनी करिब सात लाख मानिसहरुको मृत्यु भईरहेको र  यसको नियन्त्रणको लागि ठोस कदमहरु नचाल्ने हो भने यो संख्या बढेर सन् २०५० सम्ममा वर्षेनी एक करोड पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ।

    मानवीय क्षतिका साथै विश्वभरि करिब एक सय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन सक्ने  र यसको प्रत्यक्ष असर नेपालजस्तो विकासोन्मुख देशहरुमा पर्ने  विश्व स्वास्थ्य संगठनले चेतावनी समेत दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नेपालमा वर्षेनी एक अर्व अमेरिकी डलर बराबरको एन्टिबायोटिक्स आयात हुन्छ जुन कुल औषधी आयातको ३० प्रतिशत हो। नेपाली बजारमा करिब ३६५ ब्राण्डका एन्टिबायोटिक औषधीहरु उपलब्ध छन्। र देशभित्रै लगभग ५० कम्पनीले एन्टिबायोटिक औषधी उत्पादन गर्छन्।

    गाईवस्तु, सुँगुर र कुखुरा र दुध उत्पादन घाटा कम गर्ने उदेश्यले एन्टिवायोटिकको चरम दुरुपयोग गरिने गरेको छ। यसरी प्रयोग गरिने खुराकहरुले प्रतिरोधी जिवाणूहरु सिर्जना गर्ने सम्भावना हुन्छ जुन मानिसहरुमा समेत सर्न सक्छ। 

    अझै पनि दुग्धविकास फार्महरुमा एन्टिबायोटिकको सुरक्षित र न्यायोचित प्रयोग हुन सकेको छैन जसले गर्दा यस्ता मासु र दुध जन्य पदार्थको उपभोगले जनस्वास्थ्य जोखिम उच्च रहेको मन्त्रालयले जनाएको छ। 

    मन्त्रालयका अनुसार सिमित उपलब्ध तथ्याँकका आधारमा हेर्ने हो भने नेपालमा प्रतिजैविक प्रतिरोध को प्रयोग बढ्दो क्रममा रहेको देखाएको छ। एन्टीमाइक्रोबियल औषधि रेजिस्टेन्सले गर्दा मानव स्वास्थ्यमा  देखिने प्रतिकूल असर न्यूनीकरणका लागि सबै क्षेत्र र समुदायले समयमा नै प्रभावकारी कदम चाल्न अत्यावश्यक देखिन्छ।

    त्यसकारण सबै सरोकारवालाहरुलाई यही मंसिर २ देखि ८ गते सम्म पर्ने 'विश्व एन्टीमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह, २०२२' आ-आफ्नो क्षेत्रबाट भव्यता मनाउन मन्त्रालयले अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार