तपाईंको हालसालै बजारमा आएको पुस्तक हृदयको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ?
अहिलेसम्म प्रतिक्रिया दिनेहरुले राम्रो दिनु भएको छ। मैले खासै धेरै प्रतिक्रियाको अपेक्षा गरेको पनि थिइन्। किनकि मेरो लेखनको उद्देश्य डकुमेन्टेसनको हिसाबले व्यक्तिगत अनुभूति मात्रै नभई संस्थागत सम्झना समेत बसोस् भन्ने सोचेको हो। तर समग्रमा राम्रो प्रतिक्रिया पाइरहेको छु।
नेपालमा ओपन हार्ट सर्जरी गरेको २५ वर्ष पुगेको छ। यो पछिल्लो २५ वर्ष तपाईं मुटु सँगसंगै हुनुहुन्छ। फर्केर हेर्दा यो २५ वर्ष कस्तो रह्यो?
नेपालमा मुटु रोगको उपचार गर्ने प्रयत्न धेरै अगाडिदेखी भएका हुन्। तर नेपालीहरुको टिमबाटै सम्पूर्ण जनशक्ति, प्रविधि, स्रोत र ज्ञानसिप सहित आफ्नै टोलीले ओपन हार्ट सर्जरी गर्न थालेको २५ वर्ष पुगेको छ। मलाई लाग्छ यो नेपालको स्वास्थ्य क्षेत्रको लागि एउटा महत्वपूर्ण कुरा हो। यसको लागि म एक मात्रै पात्र होईन्। मलाई साथ दिने मेरो सिनियरहरू र साथीहरू हुनुहुन्थ्यो। त्यो समयमा टिमको र त्यसपछिको कार्यक्रमको नेतृत्वदायी भूमिका मैले पाएको भएर मलाई गर्व लाग्छ। तर त्यसपछि धेरै उतारचढाव आए। त्यो बेलाको दिन सम्झिंदा मलाई अझै नी कहाली लाग्छ। हामीले ओपन हार्टको सामग्री ल्याईदिनुस् भन्दा व्यावसायीहरुले नपत्याउने स्थिति थियो। कहाँ नेपालमा त्यस्तो सम्भव हुन्छ र भनेर हाँसेर उडाइने हुन्थ्यो। अनी बिस्तारै नतिजाले उत्तर दिन थाल्यो र त्यसलाई निरन्तरता दिन सजिलो भयो।
त्यसपछि मैले अमेरिका र क्यानडाबाट तालिम लिएर फर्किएपछि एक तहको विश्वास बढेपछि बल्ल यसले विस्तारित रुप लिएको हो। मलाई अहिले सम्झदा समग्रमा सन्तोषजनक अनुभव याद हुन्छ।
यति लामो समय स्वास्थ्य क्षेत्रमा काम गरिरहँदा राजनीतिक नेतृत्व, त्यसमा पनि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रीहरुको कस्तो(कस्तो सहयोग र असहयोग रह्यो?
हामी विज्ञहरुले जस्तोसुकै राजनीतिक नेतृत्व हुँदा पनि जनताको भलाइको लागि के चाहिँ निकाल्न सकिन्छ भनेर कोसीस गर्ने हो। र त्यस्ता नेतृत्वको राम्रो पाटोलाई प्रयोग पनि गर्ने हो र साथ पनि दिने हो। त्यसअर्थमा भन्दा, गंगालालमा मैले आठ वर्ष नेतृत्व गर्दा १४ जना मन्त्री र १५ वटा सरकार भयो। हामी निकै अस्थिर राजनीतिक अवस्थाबाट गुज्रीरहेका छौँ। तर असहयोग नै भनेर खासै धेरैले गर्नु भएन र गर्ने अवस्था पनि दिइएन। गंगालालमा हुँदा धेरै मन्त्रीहरुले सहयोग गर्नु भयो। तर मलाई अफ्ट्यारो परेको समयमा भेषबहादुर थापाले धेरै सहयोग गर्नु भएको थियो। त्यस्तै असहयोग गर्नेहरू पनि हुनुहुन्थ्यो तर उहाँहरुको नाम सार्वजनिक रुपमा किन लिनु।
काममा मन्त्रालयको सहयोग चाहिन्छ नै। नत्र धेरै एजेन्डाहरूमा काम गर्न नसकिने रहेछ। त्यस्तै शिक्षण अस्पतालमा हुँदा माधव घिमिरे र खिलराज रेग्मीहरुले साथ धेरै पाएको थिएँ। पछि गगन थापा स्वास्थ्य मन्त्री हुँदा धेरै नीतिगत छलफल भए। छलफल संगै नीतिगत काम पनि भयो। मेरो विचारमा त्यो लङ ट्रमलाई चेन्ज गर्ने एउटा महत्वपूर्ण समय थियो। त्यसपछि बाल अस्पतालको अवधारणामा काम गर्दै गर्दा पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो। उहाँले बालस्वास्थ्यको क्षेत्रमा गर्नुपर्ने कामको लागि धेरै सहयोग गर्नु भएको थियो। मैले नाम लिएका बाहेक पनि धेरैले मलाई सहयोग गर्नु भएको थियो। समग्रमा जस्तो सुकै नेतृत्व भए पनि जनतालाई फाइदा हुन्छ र यसले तपाईंको एजेन्डालाई सहयोग गर्छ भन्ने मेसेज दिन सकियो भने सहयोग आउने रहेछ।
तपाईं शल्यचिकित्सक मात्रै नभई स्वास्थ्य क्षेत्रको नीतिगत विषयमा पनि उत्तिकै काम गरिसक्नु भएको छ। नीतिगत रुपमा तपाईंले आफ्नो भनाईहरू राख्दै गर्दा, सुझाव दिंदै गर्दा त्यसलाई गम्भीर
रुपमा लिने, त्यसलाई कार्यन्वयन गर्ने नेतृत्व कसकसलाई भेट्नु भयो?
मैले दुईतीन थरीको नेतृत्व देखें। एक थरीले मन्त्रलयको दैनिक कामहरू नियमित गर्ने, कसैले नीतिगत छलफलहरू गर्ने र कसैले यी दुवै कुरालाईसँगै लैजाने। मन्त्रालयको काम र नीतिगत तहमा पनि सँगै काम गर्नेहरू निकै कम थिए। मैले अघि पनि नाम लिएको थिएँ, गगन थापाको। उहाँको पालामा नियमित काम संगै नीतिगत कामहरू पनि धेरै भएको थियो। पद्मा अर्यालजीको पालामा पनि लामो समयसम्म फाइदा हुने धेरै काम भएको थियो। राम्रो काम गर्ने नेतृत्वलाई साथ दिने हाम्रो दायित्व हो। हामी राजनीतिमा धेरै उछलपुछल गर्नु पनि राम्रो हुँदैन किनकी जनताप्रति समर्पित नेतृत्व छन् भने उनीहरु जस्तोसुकै ठाउँबाट आए पनि जनतालाई भलो हुने काम गर्छन्।
मैले साथ मात्रै दिएको छैन, विभिन्न ठाउँमा यसरी हुँदैन भनेर बोलेको छु। जानेको कुरा सहि छ भने साथ दिने हो गलत छ भने यो मिल्दैन भन्ने न हो।
पछिल्लो समय राजनीतिक पार्टीहरुले सार्वजनिक गरेको घोषणापत्रबाट तपाईंको कस्तो अपेक्षा छ?
आजकल घोषणापत्रहरू जनताले पत्याउन छाडीसकेका छन्। किनकी त्यसमा लेखेको एउटा हुन्छ तर व्यवहारमा त्यस्तो हुन्न। तापनि, नलेखेपछि त भिजन नै रहेनछ भन्ने हुन्छ। लेखेपछि मात्रै राजनीतिक पार्टीहरुले के सोचेका छन् भनेर देखिन्छ। त्यसकारण अहिले समग्रमा घोषणापत्र राम्रै आएका छन्। त्यसलाई नीतिगत तहमा कसरी ढाल्ने, कानुनी र वैधानिक तवरमा कसरी रुपान्तरण गर्ने र त्यो घोषणाप्रति इमान्दार हुने कुरा चाहिँ चुनौतीपूर्ण कुरा हो। जसले जिते पनि आफ्नो घोषणा पत्रमा लेखेको चिजप्रति वफादार हुनुपर्छ। पछिल्लो घोषणापत्रमा राजनीतिक पार्टीहरुले उठाएको स्वास्थ्य बिमा र स्वास्थ्य प्रणालीको सुधार्ने कुरा एकदमै सहि छ। नेपालको स्वास्थ्य क्षेत्रको मुलभूत रुपमा विकास गर्नको लागि स्वास्थ्य प्रणाली बलियो बनाउनु पर्ने छ र अर्कोतर्फबाट बिमालाई प्रभावकारी बनाउनै पर्ने छ। यी दुई पक्षलाई सुधार्नुमा देशको ठूलो भविष्य छ।
स्वास्थ्य बिमामा ठूला राजनितिक पार्टीहरुले अंकमा बढी जोड दिएको हो की जस्तो देखिन्छ, १ लाखबाट यति लाख पुर्याउने भन्ने खाले। खासमा बिमामा सुधार गर्नुपर्ने कुरा के हो?
अंक पनि महत्वपूर्ण कुरा हो। अंक बिना राम्रो गर्छु भन्दा के हो त्यो राम्रो भनेको भन्ने खाले अमुख अर्थ लाग्न सक्छ। त्यसकारण टार्गेटको लागि अंक चाहिन्छ नै। त्यो नभई सफलता र असफलता दाज्न पनि मिल्दैन। तर पनि स्वास्थ्य बिमा सहि कुरा भएको हुनाले यसलाई हामीले सहयोग गर्नु पर्छ। समस्याहरूहरूलाई कटौती गरेर वैज्ञानिक कसरी बनाउने, बिरामीहरूलाई कसरी जिम्मेवार बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ। सुधार गर्नुपर्ने धेरै ठाउँहरू छन्। प्रशासनिक र केही टेक्निकल कुराहरू सुधार गर्नुपर्ने छ। होल बडी चेकअप जस्ता अनावश्यक प्याकेजहरूलाई बिमाबाट हटाउनु पर्छ। तर संस्थालाई प्रभावकारी बनाउन संरचनागत बिमाको सुधार गर्नु पनि जरुरी छ।
अब आउने नेतृत्व कस्तो हुनुपर्छ? कस्ता नेतृत्वले स्वास्थ्य, शिक्षा लगाएत सबै विषय जहाँ जहाँ हामी कम्जोर छौँ त्यसलाई माथि उठाउन सक्छ?
हाम्रो राजनीतिक नेतृत्वले संस्थाहरूलाई बलियो बनाउन मद्दत गर्नुपर्छ। छोटो फाइदाको लागि प्रत्येक पटक हस्तक्षेप गरेर त्यसलाई अस्थिर र कमजोर बनाइदिने काम गर्नु हुँदैन। त्यो देशको लागि घातक हुन्छ। किनभने सरकार जति अस्थिर भए पनि संस्थाहरू बलियो भए भने माथि जे भए पनि फरक पर्दैन, चलिरहन्छ। त्यसैले स्वयतता माथि अनावश्यक दखल गर्ने काम देशको लागि हानिकारक हुन्छ। यसको अर्थ त्यो नेतृत्व पनि देश प्रति जिम्मेवार भइदिनु पर्छ। अब नेतृत्वमा आउनेले स्वास्थ्य पनि बुझेको होस्। स्वास्थ्य बुझ्दै नबुझेको मान्छे आउँदा त्यो मान्छेले बुझ्ने समयसम्ममा धेरै समय खेर गइसक्छ। त्यसकारण मेरो विचारमा पार्टीको नेतृत्व चाहिँ अघिल्लो पुस्ताले गरे हुन्छ। कार्यकारी भूमिकामा भने उमेर भएका, क्षमता भएका, नेतृत्व गर्न सक्ने नयाँ पुस्तालाई ल्याउनु पर्छ।