कार्तिक २५ कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीको पोखरामा आयोजित चुनावी सभालाई प्रसिद्ध अभिनेत्री मनिषा कोइरालाले सम्बोधन गरेकी छन् । पृथ्वीचोकमा शुक्रबार आयोजित कार्यक्रममा नायिका कोइरालाले इमान्दार पार्टी राप्रपा भएकाले भोट दिन आग्रह गरेकी थिइन् । आफ्नो स्वास्थ्यले साथ नदिएको बताउँदै उनले केही मिनेटमात्र सम्बोधन गरेकी हुन् ।
नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी मनिषाले राजेन्द्र लिङ्देनले नेतृत्व गरेको पार्टी मन परेकाले आफूले पनि साथ दिएको बताइन् । राप्रपाले बीपी विचारलाई पछ्याएको बताउँदै भनिन्, ‘मैले राजेन्द्र लिङ्देनको भाषण सुनिरहेको छु । मलाई उहाँको भाषण निकै घत लाग्दछ । जब नेताहरु गाउँ पुग्छन्, गाउँमा चोर आयो भन्छ भन्ने शब्द मलाई साह्रै मन पर्यो ।’अन्य पार्टीका नेताहरुले वचन दिने, आशा दिने कार्य मन नपरेकाले राप्रपा नै ठीक लागेको उनले बताइन् ।