काठमाडौँ । डोटीमा आएको भूकम्पले घर भत्काउँदा पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घाइते भएका २ जनालाई धनगढी रिफर गरिएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि पूर्वीचौकी–३ की ४० वर्षीया चना बोहरा र ५० वर्षीया विष्ना बोहरालाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो ।
डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन श्रेष्ठका अनुसार चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ । उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । घाँटीका हड्डी भाँचिएकाले उनको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा.श्रेष्ठले बताए । यस्तै विष्नाको हात भाँचिएको छ । अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ ।