बुटवल । मत्स्य तथा पशुपक्षी विकास निर्देशनालयका डा। परवेज आलमले ‘कुखुरा र दूधको परिक्षण तीन जिल्लामा गरिएको र त्यो रिपोर्ट भन्न नसकिने गरि एन्टिबायोटिक प्रयोग भएको पाइएको’ बताउनुभएको छ। रूपन्देही कपिलवस्तु र बाँकेमा बोइलर कुखुरा र दूधमा एन्टिबायोटिकको प्रयोगका बारेमा परीक्षण गरिएको डा.परवेजले बताउनुभयो।
लुम्बिनी प्रदेश, देउखुरी दाङको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गाउँपालिकाले बिना परिक्षण एन्टिबायोटिक चलाउनको लागी विभिन्न कार्यक्रम गरेको बताउनुभयो। तर समस्या भने जटिल छ। राउत भन्नुहुन्छ, ‘एउटै ठाउँमा औषधी बेच्छ, त्यही साइकल पनि बेच्छ अनि पेयपदार्थ लगायतका सामाग्री बेच्छ। यसबाट मानिसको स्वास्थ्यमा खेलवाड भएको छ। जनचेतना नभइ यो रोकिनेवाला छैन। त्यसैले जनचेतना जगाउन प्रदेश तथा संघले कार्यक्रम बनाउनुपर्छ।’ नारायण राउतले गाउँपालिकाले आफै गर्न जनशक्ति, ल्याब र बजेट जस्ता समस्या रहेको बताउनुभयो।
डा.परवेज र नारायण राउत रुपन्देहीमा एन्टिमाइक्रोवायल (प्रतिजैविकं) रेसिस्टेन्सको सम्बन्धमा आयोजित एक कार्यशालामा बोल्दै हुनुहुन्थ्यो।
नारायणले संघले र प्रदेशले नियम बनाएपनि कार्यान्वयन स्थानीय निकायले गर्ने भएकाले समस्या भएको समेत बताउनुभयो। राप्ती गाउँपालिका पशुसेवा कार्यालयका झविन्द्र भण्डारीले कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहमा जानुपर्ने भएकोले बजेट र जनशक्तिको अभाव रहेको बताउनुभयो।
बुटबल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले ल्याब परिक्षण पछि मात्र एन्टिबायोटिक चलाउनु पर्ने बताउनुभयो। पाण्डेले जुनसुकै बिरामीलाई पनि एन्टिबायोटिक दिने गरिएका कारणले समस्या आएको बताउनुभयो।
बिरामी हुँदा औषधी ल्याउने तर बिचमा खान छोड्दा समस्या हुने गरेको पाण्डेले बताउनुभयो। पाण्डेले बुटबल उपमहानगरपालिकाले यो सम्बन्धी जनचेतना जगाउने कार्यक्रम सञ्चालन गर्ने गरेको पनि बताउनु भयो।
बिरामीलाई सङ्क्रमणजन्य रोगबाट टाढै राख्न चिकित्सकको सिफारिसमा एन्टिबायोटिक औषधिको प्रयोग हुन्छ। यसले शरीरमा भएका ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ। एन्टिबायोटिक सङ्क्रामक रोगविरुद्ध प्रयोग हुने महत्वपूर्ण औषधि हो। पछिल्लो समय एन्टिबायोटिकको जथाभावी प्रयोग गर्नाले जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका थिए।
नेपाललगायत विश्वव्यापी रूपमै एन्टिमाइक्रोबियल प्रतिरोधले ठूलो समस्या निम्त्याएको छ। पशुपक्षी पालनबाट छिट्टै लाभ लिने उद्देश्यले एन्टिबायोटिकको गलत प्रयोग गरिएको एन्टिबायोटिक बिना चिकित्सकको प्रेसकिप्सन सहजै मेडिकल र भेटनरीबाट खरिदबिक्री गर्ने र प्रयोगकर्ताले पनि बिना परामर्श प्रयोग गर्ने गरेको र यसरी प्रयोग गरिएका एन्टिबायोटिकले वातावरणमा समेत असर पर्ने र माछामासु प्रयोगकर्ताका साथै प्रयोग नगर्नेलाई समेत असर गरेको उनीहरूले बताए।
त्यस्तै नेपालमा औषधि बिक्री वितरणका लागि बनेका कानुन कार्यान्वयन गर्ने निकाय प्रभावकारी नभएको कारण एन्टिबायोटिकको प्रयोगमा समस्या देखिएको एन्टिबायोटिकको दुरुपयोग हुनुमा फार्मेसीमा चिकित्सकको प्रिसकिप्सन बिना नै खरिद गर्न पाउनु, जनचेतनाको अभाव, कानुनी रूपमा अनुगमन नहुनु, एन्टिबायोटिकको प्रयोग विधिका बारेमा पूर्ण ज्ञान नहुनु, औषधिको मात्रा प्रयोग नगर्दा औषधिको प्रभावकारिता न्यून हुँदै मानिसको शरीरमा ईकोलाईको वृद्धि हुँदै गएको बताइएको छ। यसका साथै वातावरणीय प्रभावसमेत रहेकाले मानिसमा हावा, पानी र वातावरणबाट पनि ईकोलाईको मात्रा बढेको छ।
सरोकारवालाहरूले अस्पतालमा पुरानो दरबन्दी को समस्या स्थानीय तहमा ल्याब कर्मचारी र बजेटको समस्या भएको बताए। त्यस्तै औषधी व्यवसायीहरूले तालिम जानकारी अनुगमन नभएको बताएका छन्।
नेपाल औषधी व्यवसायी संघ लुम्बिनीका महासचिव लुकराज न्यौपानेले भन्नुभयो, “हामी औषधी व्यवसायीले बचेपनि लेख्ने चिकित्सक स्वास्थ्यकर्मीकै समस्याको कारण जथाभावी एन्टिबायोटिकको प्रयोग बढी भएको हो।” न्यौपानेले मुहानबाट नै सफा गर्दे आउनु पर्ने बताउनुभयो।
उहाँले औषधी व्यवस्था विभागको एक शाखा यस क्षेत्रमा राख्न नसकेकोमा गुनासो गर। लुकराज न्यौपानेले भन्नुभयो, ‘सरकारी निकायसँग हाम्रो भेट एक वर्षमा रिनु गर्ने बेलामा हुन्छ अनि कसरी अनुगमन हुन्छ। एन्टिबायोटिक जथाभावी प्रयोग नगर्नको लागी विद्यालयबाट जनचेतना जगाउनु पर्छ।’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सह प्रमुख बालकृष्ण अग्रवालले ल्याबको रिपोर्टको आधारमा एन्टिबायोटिक चलाउनु पर्ने बताउनुभयो।
यूएसए आईडी एस एस बि एसका निलकण्ठ गौतमले एन्टिबायोटिकको असर बिचमा छाड्दा र परिक्षण नगराई खादा हुने समस्याको बारे विद्यालय, कलेज र मिडियाबाट गराउनु आवश्यक भएको बताउनुभयो।
नेपालमा औषधि बिक्री वितरणका लागि बनेका कानुन कार्यन्वयन गर्ने निकाय प्रभावकारी नभएको कारण एन्टिबायोटिकको प्रयोगमा समस्या देखिएको गौतमले बताउनुभयो।
के हो एन्टिबायोटिक रेसिस्टेन्स ?
पछिल्लो समय ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ। यस्तो अवस्थालाई मेडिकल भाषामा एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ। जथाभावी प्रयोगका कारण यस्तो अवस्था आएको हो। एन्टिबायोटिक रेसिस्टेन्स विश्वभरि चुनौतीको विषय बनेको छ। नेपालजस्तो विकासोन्मुख देशमा चुनौती अझै भयावह छ।
एन्टिबायोटिक रेसिस्टेन्सका कारण:
विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिबायोटिक रेसिस्टेन्सको कारणहरू निम्न छन्।
– चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रिस्क्राइव गर्नु।
– बिरामीले उपचार बीचैमा छाड्नु।
– पशुपक्षीमा आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नु।
– अस्पताल तथा स्वास्थ्य केन्द्रमा सङ्क्रमण नियन्त्रण प्रणाली कमजोर हुनु।
– सरसफाइ तथा स्वच्छताको अभाव हुनु।
– नयाँ एन्टिबायोटिक उत्पादन नहुनु।
एन्टिबायोटिक रेसिस्टेन्सको लागि जिम्मेवार को ?
साधारणतया एन्टिबायोटिक रेसिस्टेन्स हुनुमा स्वास्थ्यकर्मीलाई आरोप लगाइन्छ। तर यसमा स्वास्थ्यकर्मी मात्र नभई उपभोक्ता, कृषक तथा पशुपालक, नीतिनिर्माता सबै जिम्मेवार छन्।
एन्टिबायोटिक रेसिस्टेन्स रोकथामका उपाय
एन्टिबायोटिकको जथाभावी प्रयोग तथा कमजोर सङ्क्रमण रोकथामको कारण एन्टिबायोटिक रेसिस्टेन्स बढिरहेको विश्व स्वास्थ्य संगठनको ठम्याइ छ। यसलाई रोक्नका लागि समाजका सबै क्षेत्रको जिम्मेवारी महत्वपूर्ण रहेको छ।