कार्तिक १४ काठमाडौं। सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन ।
लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक/पटक बलात्कार गरेको आरोप लागेको थियो ।
भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी२० खेल खेल्न केन्या गएका थिए । उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज गएका थिए ।
उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो । प्रहरीले काठमाडौंको उक्त होटलको सिसिटिभी फुटेजलाई पनि प्रमुख प्रमाणको रूपमा लिएको छ ।
उक्त फुटेजमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू राति ११ः५५ मा होटल पसेको देखिएको छ । त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेका थिए ।
सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ । किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन् । त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ ।