असोज २६ काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको मूल्य तोकेको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदनको आधारमा खानेपानीको अधिकतम मूल्य निर्धारण गरिएको विभागले जनाएको हो।
विभागका अनुसार अब काठमाडौं उपत्यकाभित्र १ लिटरको बोटलको पानी १६ रुपैयाँ र २० लिटरको जारको पानी ४७ रुपैयाँभन्दा बढिमा बेच्न पाइँदैन। उपत्यकाबाहिर बोटलको पानीको २० रूपैयाँ र जारको पानी ६० रूपैयाँभन्दा बढि लिन पाइनेछैन।
तोकेको मूल्यभन्दा बढि मूल्य लिए उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने विभागको चेतावनी छ। साथै कसैले तोकिएको मूल्यभन्दा बढि लिन खोजेमा विभागका मातहतका कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशानसन कार्यालय वा स्थानीय तहलाई सूचना दिनसमेत विभागले आग्रह गरेको छ।