असोज १० काठमाडौं । दशैंको मान्यजनबाट टीका ग्रहण गर्दा टीका संगै कानमा लगाइने धान, गहुँ, मकै र जौका लामा आँकुरा विजयदशमी र जमरा नेपाली संस्कृति एंव परम्पराका परिपुरक शब्द हुन् । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देविको प्रसादको रुपमा लगाउने परम्परा हिन्दु धर्मावलम्बी नेपालको मात्र हो । वर्ष दिनमासम्म घरबाट टाढा भएका व्यक्तिहरु पनि मान्यजनबाट आर्शिवाद सहित टीका थाप्न गाउँ घर पुग्ने गर्दछन् । पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । यसरी धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।
शरद् ऋतुको आश्विन महिनाको शुक्लपक्षमा पर्ने विजयादशमीको नवरात्र (बडादशै) को पहिलो दिन दशै घरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ छरिन्छ । विभिन्न जातजातिमा धान, गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ । नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । दुर्गाका नौ स्वरूपको उल्लेख गर्दै बराहपुराणमा भनिएको छ । नवदुर्गा भन्नाले शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिरात्रीलाई बुझिन्छ । यसको साथै ती मातृशक्तिहरूमा ब्राहृमी, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्णवी, नारसिंही, ईश्वरी, लक्ष्मी रहेका छन् । नवरात्रका विशेष दिन महासप्तमी, महाष्टमी र महानवमीका दिन क्रमशः महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ ।