असोज ७ काठमाडौं । मिति २०७९ असोज २८ गतेदेखि २०७९ कार्तिक ०३ गतेसम्म पोखरामा संचालन हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९७ मा सहभागी हुने नेपाली सेना, त्रिभुवन आर्मी क्लबमा आबद्ध प्रशिक्षक तथा खेलाडीहरुको हौसला तथा मनोवल अभिवृद्धि गर्ने उद्देश्यले आज मिति २०७९ असोज ०७ गते त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा आयोजित कार्यक्रमकाबीच प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले सम्बोधनगर्नु भएको छ ।
सम्बोधनका क्रममा, प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाको सदस्यका रुपमा खेलकुद क्षेत्रमा आबद्ध भई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा नेपाल तथा नेपाली सेनाको छविलाई अभिवृद्धि गर्न योगदान दिनु हुने प्रशिक्षक एवं खेलाडीहरुलाई हार्दिक धन्यवाद दिनु भएको थियो ।
सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले खेलकुदका माध्यमबाट समग्र नेपाली सेनाको प्रतिनिधित्व गर्दै नियमित रुपमा आम नागरिकहरुसँग सम्पर्कमा रहने सम्पूर्ण नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरु नागरिक सैनिक सम्बन्ध विस्तारको महत्त्वपूर्ण सेतुका रुपमा स्थापित रहेको उल्लेख गर्दै सम्पूर्ण खेलाडीहरुलाई आसन्न राष्ट्रिय खेलकुदका क्रममा जुनसुकै प्रतिष्पर्धामा सहभागी हुँदा सबै भन्दा पहिला म नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात गर्दै नेपाली सेनाको मर्यादित र अनुशासित सदस्यको उदाहरणका रुपमा प्रस्तुत हुन समेत निर्देशन दिनु भएको थियो ।