शनिबार, मंसिर ८ गते २०८१

‘काँग्रेसले ह्याकुलाले पेले विकल्प खोजिन्छ’

‘काँग्रेसले ह्याकुलाले पेले विकल्प खोजिन्छ’

अखबार दैनिक
मंगलबार, साउन २४ २०७९
  • ‘काँग्रेसले ह्याकुलाले पेले विकल्प खोजिन्छ’

    साउन २४, २०७९ । सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा चुनाव घोषणा गरेसँगै पाँच दलीय गठबन्धनले चुनावी तालमेल गरेर जाने सहमति गरिसकेको छ । यसका लागि काँग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल समेत बनिसकेको छ । गठबन्धन एक ढिक्का भएर गएमा सजिलै बहुमत ल्याउने नेताहरूको आङ्कलन छ ।

    images

    यसै सन्दर्भमा सत्ता गठबन्धनको चुनावी तालमेल, सिट बाँडफाँट, साझा घोषणापत्र, माओवादीको रणनीति र सत्ता साझेदारीका विषयमा माओवादी स्थायी समिति सदस्य एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश:

    माओवादीले मधेस प्रदेश कमिटी गठन गर्न सकेको छैन । पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी समेत नबनाएर नै प्रदेश र प्रतिनिधि सभा चुनावमा जाने हो ?

    –हामी पार्टीका कतिपय जिम्मेवारीहरू र कार्य विभाजनका प्रश्नहरूमा अल्झिएका छौँ । सबै कमिटी टुङ्गो लगाएर निर्वाचनमा गएमा थोरै सहज हुने थियो । तर यो टुङ्गिएन भने पनि केन्द्रीय समिति, स्थायी समिति र प्रदेशका कमिटीहरू यथावत् अवस्थामा नै छन् । त्यसैले पार्टीको पदाधिकारी र कार्य विभाजन नटुङ्गिए पनि सजिलै चुनावी वातावरण बनाउन सकिन्छ भन्ने मलाई लाग्छ ।

    माओवादीलाई विधान बमोजिम कमिटी प्रणालीमा लगेर व्यवस्थित गर्न किन समस्या भएको हो ?

    –माओवादीले समानुपातिक र समावेशिताको आधारमा केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । पार्टीका दश प्रदेश कमिटीमध्ये सहमति भएकालाई सहमतिको आधारमा र नभएकालाई चुनावी प्रतिस्पर्धाबाट टुङ्गो लगाएको छ । पोलिटब्यूरोको पनि टुङ्गो लगाइसकेका छौँ, सर्कुलर मात्रै गर्न बाँकी छ । स्थायी समिति टुङ्गो लगाएर नियमित बैठक बसिराखेका छौँ । हामी अल्झेको भनेको पदाधिकारीमा हो ।

    devendra_poudel_1_v70Vu8zsgd.jpg

    आगामी मङ्सिर ४ गतेको चुनाव अघि नै पदाधिकारी टुङ्गो लगाउनुहुन्छ ?

    –मलाई जहाँसम्म लाग्छ, यो पनि चुनाव अघि नै टुङ्गो लगाएर जान्छौँ । पार्टीमा पदाधिकारीलाई लिएर ठुलो समस्या छैन । पदाधिकारी टुङ्गो लगाउन दुई विधि छन् । एउटा सहमति गरेर सर्वसम्मत गर्न सकिन्छ । अर्को चुनावी प्रतिस्पर्धा गरेर फाइनल गर्न सकिन्छ । सकेसम्म चुनावी विधिबाट भन्दा सहमति गरेर टुङ्गो लगाउँदा राम्रो हुन्छ भन्ने पार्टीको स्प्रीट छ ।

    अब तपाईंहरू पदाधिकारीसहित कमिटी टुङ्गो लगाउनतिर जानुहुन्छ कि चुनाव प्रचार प्रसारमा लाग्नुहुन्छ ?

    –यो कमिटी प्रणाली टुङ्गो लगाऊँ भनेपछि एक दिनमै सकिन्छ । त्यो कुनै भयानक छलफल गरेर देशैभरि चुनाव गरेर गर्ने होइन । यदि भोटिङ गरौँ भने पनि एकैछिनमा सकिने विषय हो । पार्टीमा सर्वसम्मत गरौँ भन्ने भएमा अध्यक्षले राखेको प्रस्तावलाई मानेर जाने कुरा हुन्छ । यसअघि बसेको स्थायी समिति बैठकबाट पदाधिकारी टुङ्गो लगाउन अध्यक्षलाई जिम्मा दिएका छौँ । अध्यक्षलाई प्रस्ताव बनाएर ल्याउनुस् हामी मान्न तयार छौँ भनेका छौँ ।

    तपाईंहरूले पदाधिकारी चयन गर्न यति सहज बनाउँदा पनि अध्यक्षले नचाहेरै फाइनल नभएको भन्ने लाग्दैन ?

    –त्यस्तो अहिल्यै भन्दिनँ । पदाधिकारी चयन गर्ने दुई विधि भन्दा अर्को बाटो छैन । कि चुनाव कि सहमति नै हो ? अध्यक्षले प्रस्ताव ल्याए उहाँलाई त्यति धेरै प्रेसर हुँदैन भन्ने लाग्छ । मलाई लाग्छ अध्यक्षले ल्याएको प्रस्ताव सबैले मान्ने अवस्था बन्छ । माओवादीमा तपाईंहरूले महासचिवमा विवाद छ भनेर प्रचार गर्नु भएको छ । सबैतिरबाट दुई जना मात्रै प्रतिस्पर्धामा छन् भनिएको छ । तर महासचिवमा दुई जना मात्रै छैनन् अरू साथीहरू पनि छन् । महासचिव मात्रै होइन सबै पदमा नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । सबैले जिम्मेवारी पाउनुपर्छ । सबैलाई भूमिका दिइनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा टिम निर्माण गर्नुछ । सबैलाई मिलाएपछि मात्रै सामुहिकताको केन्द्रीकृत अभिव्यक्त हुने हो । तब मात्रै पार्टी निर्माण गर्नेतिर जाने छ ।

    यति धेरै अनुशासित भई आएको माओवादी पार्टी किन यति धेरै लथालिङ्ग भयो ? अध्यक्ष प्रचण्ड भए चल्ने, नभए नचल्ने किन भयो ?

    माओवादी लथालिङ्ग छैन । लथालिङ्ग र भताभुङ्ग भएको भए छरपस्ट भइसक्ने थियो । संगठनात्मक रूपमा माओवादीलाई व्यवस्थित बनाउनु पर्नेछ । कुनै समय हामी नै हौ संगठनमा व्यवस्थित र चुस्त भएको पार्टी । गर्दै जाँदा टुटफुट विभाजन हुँदा र गर्नुपर्ने निर्णयहरू भटाभट निर्णय नगर्दा बेलाबेला समस्यामा अल्झिने–बल्झिने र गति लिन नसक्ने भयौँ । कार्य विभाजनमा ठोस जिम्मेवारी नहुँदा समस्याहरू आएका हुन् ।

    माओवादी प्यारालाइज भइसकेको छैन । माओवादीले उठाएको एजेण्डामा नै देश चलिरहेको छ । माओवादी सिद्धिएको भए, स्थानीय तहमा देखिने थिएन नि !

    माओवादीमा वैचारिक अस्पष्टता र अलमल जस्तो किन देखिएको हो ?

    –हामी वैचारिक रूपमा स्पष्ट छौ । संविधान बमोजिम समाजवादको दिशामा अघि बढ्ने भनेका छौँ । हामी सबै समाजवादको यात्रामा जानुको विकल्प छैन । एकल रूपमा होइन प्रतिस्पर्धाकै बाटोबाट समाजवादमा जाने हो । संविधानमा निर्दिष्ट गरेको बाटोमा जनताको अभिमतबाट समाजवादमा जाने वैचारिक स्पष्टता हो । हिजोको मालेमावादको सिद्धान्त र अनुशासनका कुराहरूलाई सूत्रबद्ध गरेर पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्नुपर्ने छ । अब हामी राजनीतिक, सामाजिक, सांस्कृतिक र वैचारिक रूपले पार्टी पङ्क्तिलाई प्रशिक्षित गर्नुपर्ने छ । पार्टीका उद्देश्यमा सम्पूर्ण पार्टी पङ्क्तिलाई केन्द्रित गर्नुपर्ने छ । पद, प्रतिष्ठा र जिम्मेवारीमा मात्रै होइन कि उद्देश्यमा केन्द्रित गरेमा एउटा विधिमा ढाल्न सकिन्छ । यी पार्टीलाई उद्देश्यमा केन्द्रित गरेर हिँडाउन नसक्दा आएका समस्याहरू हुन् ।

    त्यसो भए किन यसरी एकपछि अर्को गर्दै माओवादी अलमलियो ?

     –किन भनेर सजिलै भन्न सक्ने अवस्था छैन । पार्टी महाधिवेशनले थोरै दिशा कोरेको छ । महाधिवेशनको निर्णयलाई छिचलेर कार्य विभाजन गरेर अघि बढ्नुपर्छ । यसअघि योजनामा काम गर्थ्यौँ, त्यो शृङ्खला टुटेर अलमलमा परेका छौँ । हामी मास बेस पार्टीमा छैनौँ । हामी मूल रूपमा क्याडर बेसमा छौँ । उनीहरूलाई प्रशिक्षित गर्ने होल टाइमरको रूपमा खटाउने, योजना अनुसार दिएको जिम्मेवारी पुरा गर्ने परिस्थिति बनाउनुपर्छ । हामी क्याडेर बेस वा मास बेस पार्टी हुन नसक्दा थोरै अलमल देखिएको साँचो हो ।

    तपाईंका अध्यक्षले भन्नुहुन्छ, ‘पार्टीका नेता कार्यकर्ता पदका लागि मरिमेट्ने भए । पद प्रतिष्ठा बाहेक केही हेर्दैनन् ।’ के तपाईंहरू त्यस्तै भएको हो ?

    –मैले यसअघि दिएको जवाफले प्रश्नको उत्तर हुन्छ जस्तो लाग्छ । कार्यकर्तादेखि नेतासम्म विचार, उद्देश्य र लक्ष्यप्रति केन्द्रित हुने कुरालाई प्रधानता नमान्दा यस्तो भएको हुन सक्छ । हिजो जनयुद्धमा मृत्यु वा मुक्ति भन्ने प्रधानता थियो । जीवनमा केही प्राप्त गर्ने उद्देश्य थिएन । त्यसरी नै प्रशिक्षित थिए । पढे लेखेका डाक्टर, इन्जिनियर, शिक्षक र कर्मचारीहरू पद छोडेर क्रान्तिमा होमिएर आएको यही पार्टी हो । आज पद छोड्ने कुरै गर्न सकिँदैन । राजनीतिक उद्देश्यमा केन्द्रित गर्न नसकेपछि कहाँ लागेर के पाइन्छ भन्ने कुरा खोजिदोरहेछ । त्यो प्रभाव माओवादीमा परेको यथार्थ हो ।

    devendra_poudel_4_HMH2aa2h9a.jpg

    माओवादीभित्र यति धेरै समस्या देखिएपछि नेतृत्वको विकल्प खोजेको भन्ने लाग्दैन ?

    –अहिलेको नेतृत्वभन्दा राम्रो विकल्प छ भन्ने लाग्दैन । अहिले भएकै नेतृत्वबाट समस्याको समाधान खोज्ने हो । आदर्श खालको नेतृत्व गर्न सक्ने नेता आए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो । व्यावहारिक रूपमा जे जस्तो छ, त्यसले चलाउनुपर्छ । अहिले अध्यक्ष प्रचण्डले नेतृत्व गर्नु भएको छ । उहाँको विकल्प खोज्ने स्थिति छैन । उहाँकै नेतृत्वमा केन्द्रीय समिति टिम केन्द्रित छ । एउटा खुसीको कुरा ठुलो युवापंक्ति केन्द्रीय समितिमा आएको छ । समावेशीको कुरा पनि केन्द्रीय समितिमा प्रकट भएको छ । स्थानीय निर्वाचनमा वडादेखि पालिकासम्म युवाहरू आउनु भएको छ । त्यस हिसाबले नयाँपन आएको अनुभूति गरेका छौँ । त्यसलाई सकारात्मक सङ्केतको रूपमा लिनुपर्छ ।

    पार्टी कमिटी र जनवर्गीय संगठनलाई व्यवस्थित गर्न नसक्ने माओवादीले जनताले दिएको भोटलाई कसरी व्यवस्थित गर्छ भनेर टिप्पणी गर्ने गरेका छन् । यसबारे के भन्नुहुन्छ ?

    –माओवादी विरोधीहरू दुई खालका छन् । एक खालका शुभेच्छा प्रकट गर्ने खालका विरोधी छन् । हाम्रो विचार र दृष्टिकोणमा विमति राख्ने कहिलेकाहीँ सहकार्य गरेर जाने खालका आलोचनात्मक दृष्टिकोण राख्ने विरोधी छन् । एकथरी विरोधी माओवादी सिद्धिए हुन्थ्यो, नामेट भइदिए हुन्थ्यो भन्ने खालका विरोधी छन् । माओवादी नामेट भइदिए हुन्थ्यो भन्नेहरूको कुनै तर्क छैन । लेखेर राख्नुस् माओवादी उनीहरूले भने जस्तो धुलिसाध हुँदैन । माओवादीको नाम फेरिन सक्छ तर यो वैचारिक धारको रूपमा यो वा त्यो रूपमा रहिरहन्छ । माओवादी विचार, शैली, दृष्टिकोण र भावनाको प्रतिनिधित्व गरेर अघि बढिरहन्छ ।

    उनीहरूले निरन्तर चुनाव जित्न सक्दैन भन्दै आएका छन् । त्यो उनीहरूले जहिले चुनाव आउन थालेपछि भन्न थाल्छन् । उनीहरूको त्यो आधारभूत कर्तव्य जस्तै बन्न पुगेको छ । २०६४ सालमा माओवादीले जित्दैन भनेका थिए, तर काँग्रेस र एमाले जोडेर पनि माओवादी जत्ति सिट आएन । देशको पहिलो पार्टी बन्यो । बीचमा थोरै टुटफुट भयो । २०७० सालमा एक सिट पनि आउँदैन भनेका थिए । तेस्रो शक्ति भयो । एमालेसँग एकता गरेर मात्रै हो नत्र सिद्धिने थियो भन्न थाले । अहिले एमालेबाट अलग भएपछि स्थानीय चुनावमा पहिलेको चुनावभन्दा धेरै सिट सङ्ख्या बढाएका छौँ ।

    तर गत वैशाख ३० गतेको चुनावमा पनि पाँच दलीय गठबन्धन गरेर नै माओवादीले त्यति सिट ल्याएको हो नि ?

    –हामीले गोरखामा ११ पालिकामध्ये ९ पालिका गठबन्धन गरेर ल्याएको सिट हो ? हामीले कुल २५ प्रतिशत महानगर र उपमहानगर मात्रै गठबन्धन गर्न सफल भयौँ । रोल्पा, रुकुम, सल्यान लगायत कर्णाली प्रदेशका अधिकांश पालिका माओवादीविरुद्ध अरूले गठबन्धन गरे । गठबन्धनको केही मत माओवादीलाई पक्कै परेको छ । यति हुँदाहुँदै हाम्रो पनि मत छ भन्ने भुल्नु हुँदैन । हामीले काँग्रेस लगायत दललाई भोट हालेर जितायौँ । मत दोहोरो हालिएको छ भन्ने पनि नबिर्सौँ । चुनाव जित्नलाई माइनस प्लस भयो । कतिपय ठाउँमा उहाँहरूको सहयोगले जित्यौँ । कतिपय ठाउँमा हाम्रो सहयोगले उहाँहरूले जित्नुभयो । कति ठाउँमा आफ्नो मात्रै मतले पनि जित्यौँ । पार्टीको कूल मत जसरी सबै वडा र पालिकामा उम्मेदवार उठाउँदा प्रकट हुन्छ । गठबन्धन गर्दा सम्बन्धित पार्टीको मत बढ्दो रहेनछ ।

    तपाईंको पार्टीको मत २०७४ सालमा १७ लाख थियो, अहिले १३ लाखमा झर्‍यो । यसले तपाईंहरू कमजोर भएको देखाएन र ?

    –गठबन्धन गर्‍यौँ गठबन्धन गर्दा सबै ठाउँमा उम्मेदवार उठान सकेनौँ । त्यसैले कूल मत कम आयो । तर सिट सङ्ख्या बढायौँ ।

    त्यसो भए गठबन्धन गर्दा माओवादीलाई घाटा भयो है ?

    –सिट सङ्ख्या जित्ने हिसाबले माओवादीलाई घाटा भएन । त्यसमा केही न केही सहयोग भयो । सबै स्थानीय तह र वडामा उम्मेदवार उठाउँदा मतको सुरक्षा हुन्थ्यो, त्यो हुन सकेन ।

    पाँच दलीय गठबन्धन गर्ने भनेर कार्यदल समेत बनिसकेको छ । काँग्रेसले गठबन्धनबाट एकल बहुमत ल्याउने कुरा गरेको छ । यस्तो अवस्थामा सिट बाँडफाँटमा काँग्रेसले तपाईंहरूलाई सिट कम दियो भने फेरि वाम गठबन्धन बन्ने स्थिति हुन्छ कि हुँदैन ?

    –अहिले इमानदारीपूर्वक गठबन्धनमा जाऔँ भनेका छौँ । काँग्रेस माओवादीसहितको गठबन्धनमा नहुँदा के स्थिति थियो ? भन्ने कुरा काँग्रेसले २०७४ सालको चुनावमा राम्रैसँग बुझेको छ । एमाले माओवादी मिलेर चुनाव लड्दा काँग्रेसको सिट धेरै घट्यो । त्यो कुराको काँग्रेसले समीक्षा गर्न जरुरी छ ।

    ‘एमाले नै सबै थोक हो’ भन्नेले पनि स्थानीय चुनाव पछि राम्रैसँग समीक्षा पक्कै गरेको होला । संघको केपी सरकार गयो । सातै प्रदेशको सरकार गयो । केपी ओलीको घमण्डले गर्दा केही रहेन । घमण्डले केही नहुँदो रहेछ । अहिलेको स्थानीय चुनावमा एमालेको सिट सङ्ख्या त्यही घमण्डले घट्यो ।

    काँग्रेसले गठबन्धनको बहुमतबाट सरकारको नेतृत्व गरेको छ । यो गठबन्धन नभएको भए कमजोर हुने रहेछु भन्ने कुरा काँग्रेसले बुझ्नुपर्छ । त्यसैले काँग्रेसले गठबन्धनका सबै दललाई लिएर जाने संस्कार, संस्कृति र शैलीको विकास गर्नुपर्छ ।

    मैले बुझेसम्म प्रधानमन्त्री गठबन्धनप्रति इमानदार हुनुहुन्छ । तर ह्याकुलाले पेल्ने, काँग्रेसबाहेक कसैको अस्तित्व छैन भन्ने रह्यो भने इतिहासमा नकारात्मक पटाक्षेप हुन सक्छ । यस्तो खालको हर्कत नगर्न पार्टीको जिम्मेवार व्यक्तिको हैसियतले आग्रह गर्दछु । त्यसैले घमण्ड गर्नुहुँदैन, नभए जनताले विकल्प खोज्छन् ।

    पाँच दलीय गठबन्धनको कार्यदल बनेको छ । कुन–कुन मोडालिटीमा छलफल भई भागबण्डा गर्नुहुन्छ ?

    पक्कै पनि विगतका मतहरूलाई आधार बनाइने छ । कहाँ कुन पार्टीको मत र सिट छ भन्ने कुरालाई आधार बनाइने छ । पार्टीका सिनियर नेताहरू संसद्मा को–को आउनुपर्छ भन्ने कुरालाई आधार बनाइन्छ । यद्यपि कार्यदलले होमवर्क गरेको विषयमा सबै थाहा छैन । समानुपातिक समावेशीका आधारमा व्यक्तिहरूको सहभागिताको विषय र गठबन्धनको समझदारी लगायत विषयलाई आधार बनाएर भागबण्डा गरिने छ ।

    devendra_poudel_3_znDe4bjuhU.jpg

    तपाईंहरू सिट सङ्ख्या मात्रै बाँडफाँट गर्नुहुन्छ कि प्रधानमन्त्री, राष्ट्रपति सभामुख लगायत राजकीय पदको समेत बाँडफाँट गर्नुहुन्छ ?

    –सबै विषयहरू प्याकेजमा सल्लाह गर्छौँ । पहिला सिट बाँडफाँट हुने छ । त्यसपछि संसद्मा कुन दल कत्रो बन्छ ? कुन दलले कति सिट प्राप्त गर्छ ? चुनावपछि राजकीय पदमा बाँडफाँट हुन्छ । चुनाव नजित्दै राजकीय पदमा बाँडफाँट गर्नु उचित हुँदैन । अहिले संघीय सिट र प्रदेश सिट मात्रै बाँडिने छ । त्यसपछि निर्वाचनको सिटको आधारमा अरु राजकीय पदका विषयमा छलफल गरेर टुङ्गो लगाउँछौ । चुनाव नजित्दै यो दलले यो लिने त्यो दलले यो लिने भनेर सहमति गर्नुको कुनै अर्थ हुँदैन । जनताले मत अर्कैतिर लगे भने के भन्ने ?

    माओवादीले प्रतिनिधि सभामा कति सिट ल्याउने आङ्कलन गरेको छ ?

    –अहिले नै यति सिट भनेर गणित प्रस्तुत गर्न सकिँदैन । पहिलेको भन्दा हामी ठूलो दल बन्छौँ । हामी संसद्को दोस्रो दल बन्छौँ । लेफ्टभित्रको पहिलो शक्ति बन्ने पक्का छ ।

    तर गठबन्धनभित्रै अन्तर विरोध हुन्छ भनेर एमाले आफू पहिलो शक्ति बन्छौ भनेर दाबी गरिरहेको छ नि ?

    –उहाँहरूले दाबी गरी रहनुभएको छ । उहाँहरूलाई घमण्ड प्रस्तुत नगर्न आग्रह गर्दछु । हामीले गठबन्धन गर्दा एमालेलाई ठुलै क्षति हुन्छ । गठबन्धन नभए हुन्थ्यो भनेर विभिन्न तरिकाहरू अपनाइरहनु भएको छ ।

    उहाँहरूले यो सरकारलाई परमादेशको भन्नुहुन्छ । उहाँको पार्टी एमाले परमादेशबाट बनेको हो । तत्कालीन नेकपामा बहुमत हामीतिर थियो । अदालत प्रयोग गरेर एमाले परमादेशबाट बनाउनुभयो । बरु प्रधानमन्त्री बहुमतबाट प्राप्त भएको हो । संसद्को बहुमतले प्रधानमन्त्री चुनेको हो । एमाले परमादेशको पार्टी हो, म ठोकेर भन्छु । अदालतको परमादेश नभएको भए नेकपा हुन्थ्यो । खड्ग ओली नेतृत्वको पार्टी अस्तित्व रहने थिएन ।

    devendra_poudel_2_JyXWUPDrwl.jpg

    गठबन्धनको घोषणापत्र कसरी तयार गर्नुहुन्छ ?

    –त्यो बारेमा हाम्रो साझा न्यूनतम कार्यक्रमहरू तय गर्ने पक्षमा छौँ । आधारभूत रूपमा जुन जुन विषयहरू मिल्छन्, त्यो लिएर जनतामा जान्छौँ ।

    उम्मेदवार नभएको क्षेत्रमा चुनाव चिन्ह रहन्छ कि रहँदैन ?

    यो पटक सच्याउँछौ । स्थानीय चुनावको जस्तो उम्मेदवार धेरै हुँदैनन् । निर्वाचन आयोगसँग पनि चुनाव चिन्हका विषयमा छलफल गर्ने छौँ । उम्मेदवार नभएको क्षेत्रमा चिन्ह राख्ने भन्ने छ । धेरै मतदाताले बुझ्न नसक्ने गरी चुनाव चिन्ह राख्नुभन्दा मतपत्र ढिलो छापेर उम्मेदवारको टुङ्गो लागेपछि मत पत्र छाप्नुपर्छ । त्यसो भएमा मत बदर हुँदैन ।

    तपाईंहरूले बाबुराम भट्टराईलाई किन गठबन्धनबाट निकाल्नु भयो ?

    हामीले गठबन्धनबाट बाबुरामजीलाई निकालेको होइन । हिँड्दै जाँदा छुट्नुभयो । तत्कालीन गठबन्धनमा भएको उहाँको पार्टी फुट्यो । उहाँसँगै कसरी जाने भन्ने विषयमा छलफल चलेको छ । उहाँ पहिला जुन पार्टीमा हुनुहुन्थ्यो त्यहाँबाट उहाँलाई निकालेको हो, गठबन्धनबाट निकालेको होइन । बाबुराम जी गठबन्धनमा आउने कुरा भइरहेको छ ।

    बाबुराम माओवादीमै आएर गठबन्धनमा आउन किन समस्या भयो ?

    –उहाँ माओवादीमा आएर गठबन्धनमा जोडिन तयार भए काइदा हुने थियो । उहाँ कुनै हालतमा माओवादी हुन्न भन्नुहुन्छ । माओवादी विरोधीले भनेको भए ठिकै हुन्थ्यो । तर बाबुरामजी नै माओवादी भन्नुहुन्न भन्ने पक्षमा हुनुहुन्छ । यही नाम राखेर १० वर्षे जनयुद्ध भयो । यही पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशी लगायत थुप्रै परिवर्तनका मुद्दा संस्थागत गरायो । यही नाममा उहाँले जिन्दगी बिताउनुभयो । यही पार्टीबाट अर्थमन्त्रीदेखि प्रधानमन्त्री हुनुभयो । उहाँ माओवादी पार्टीमा आउँदिन भन्नुहुन्छ । हामी पूर्व माओवादी एक ठाउँमा ल्याउन लागिपरेका छौँ । सबै पूर्व माओवादीहरू मूल घरमा आउनुस् । पार्टीको नाम फेर्न पर्छ भने यहीँ आएर फेरौँ, शैली फेर्नुपर्छ भने यहीँ फेरौँ । म बाबुराम, किरण, विप्लव सबैलाई एक ठाउँमा आउन अनुरोध गर्दछु ।

    तपाईं यसपटक पनि बागलुङबाटै चुनाव लड्नुहुन्छ ?

    –यो विषयमा पार्टीले निर्णय गर्ने छ । जिल्लाको विकास निर्माणका काम र जनताको दैनिक कामलाई जोडेर हेर्दा मैले चुनावी प्रतिस्पर्धा गर्नुपर्‍यो भने सबैभन्दा सजिलो जिल्ला बागलुङ हुन्छ ।


    रातोपाटिवाट साभार

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ