१५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले तीन वर्षसँगै रहँदा आफूहरुले नेकपा एमालेमा बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले भित्रका हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरैर लैजान सकिने अनुभव पनि आफूले प्राप्त गरेको उनले बताए । ‘एमाले भित्रका पनि हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लान सकिने रहेछ,’ प्रचण्डको भनाइ छ, ‘तपाईंहरुलाई लाग्दो हो सकिनेरैनछ । सक्कियो, विग्रियो नि त भन्ने लाग्न सक्छ । तर, त्यहाँ बिउ रोपिएको छ । हामी माओवादीले बिउ रोपेर आएका छौं । हेर्नुहोला केही समयपछि त्यो फूल्छ, फल्छ ।’
प्रचण्डले एमालेभित्र केपी ओली नहुने हो भने हजारौंलाई समाजवादको यात्रामा डोर्याउन सकिने प्रचण्डको भनाइ छ । ‘एमालेभित्र केपी ओली प्रवृत्तिको नेतृत्व हुँदा विद्रोह गर्नुपर्यो,’ उनको भनाइ छ, ‘त्यो नेतृत्व नहुने हो भने अरु हजारौंलाई समाजवादको यात्रामा डोर्याउन सकिन्छ । एमाले भित्रका हजारौं नेता र कार्यकर्ताको नेतृत्व गर्न सकिन्छ ।’
माओवादी अध्यक्ष प्रचण्डले सबै माओवादीबीच एकता आवश्यक रहेको पनि बताए ।