शुक्रबार, जेठ ४ गते २०८१

कोरोना देखिएपछि विद्यालय बन्द

कोरोना देखिएपछि विद्यालय बन्द

अखबार दैनिक
बुधबार, मंसिर २२ २०७८
  • कोरोना देखिएपछि विद्यालय बन्द

    काठमाडौँ, २२ मङ्सिर । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो । यस्तै मङ्गलबार थप एक छात्रामा कोरोना देखिएपछि थप तीन दिन मङ्सिर २४ गतेसम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षिका सुशीला भण्डारीले जानकारी दिइन् ।

    images

    सङ्क्रमित विद्यार्थीको सम्पर्कमा रहेका विद्यार्थी र शिक्षकको कन्ट्र्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने भएकाले थप तीन दिन विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । यसअघि सो विद्यालयमा अध्ययनरत एक छात्रा मङ्सिर १७ गते कोरोना देखिएपछि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो । थप एक छात्रामा कोरोना देखिएपछि विद्यालय फेरि तीन दिनका लागि बन्द गरिएको हो । यस जिल्लामा हाल कोरोनाका चारजना सक्रिय सङ्क्रमित रहेका छन् ।

    सक्रिय सबै पाटन नगरपालिकाकै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’छिमेकी देश भारतमासमेत देखा परेकाले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोनाका कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ