काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । कांग्रेस सभापति समेत रहेका देउवाले प्रधानमन्त्रीको सपथ लिएको झण्डै तीन महिनापछि मन्त्रीपरिषद्लाई पूर्णता दिने भएका छन् । २९ असारमा सरकारको नेतृत्व सम्हालेकाक देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए । उनले मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै गठबन्धनदलका नेता र कांग्रेसकै शिर्ष नेताहरुले आलोचना गरिरहेका थिए ।
देउवाले आफ्नो पार्टी नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको छ । बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो । विहीबार मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषदलाई पूर्णता दिइन लागिएको हो ।
सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाएका छन् । कुल २५ सदस्यीय मन्त्रिपरिषदमा काँग्रेसबाट प्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्री गरी ११ जनाको उपस्थिति रहने भएको छ । सरकारको नेतृत्व गरेको काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने सहमति जुटेको हो । यसअघि काँग्रेसले ७, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्री र एक–एक राज्यमन्त्री पाउने सहमति भएको थियो । कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ? कांग्रेसबाट चार जना नयाँ मन्त्री हुने भएका छन् । एक मन्त्रीको जिम्मेवारी हेरफेर गर्न लागिएको हो ।
रक्षा मन्त्रीमा केन्द्रीय सदस्यसमेत रहेका सांसद मिनेन्द्र रिजाललाई जिम्मेवारी दिन लागिएको कांग्रेसका एक नेताले जानकारी दिएका छन । यस्तै सञ्चार मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई र कानुन मन्त्रीमा दिलेन्द्रप्रसाद बडुलाई पठाउने कांग्रेसको तयारी रहेको छ । अहिले कानुन मन्त्री कार्की छन् । उनी सूचना, सञ्चार तथा प्रविधि मन्त्रीमा सर्ने भएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मी र खानेपानी मन्त्रीमा उमाकान्त चौधरीलाई पठाउन लागिएको स्रोतको भनाई छ । सत्तारूढ अरू दलहरूले पनि मन्त्रीको नाम बालुवाटारमा पठाइसकेका छन् । आजै मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे सपथ खुवाउने कार्यक्रम रहेको छ । यी हुन् जसपाबाट मन्त्री हुनेहरुको नाम जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । देउवा नेतृत्वको सरकारमा रेणु यादव, रामसहाय प्रसाद यादव, प्रमोद साह र राजेन्द्र श्रेष्ठ मन्त्री बन्ने निर्णय भएको जसपाका नेता मोहमद इस्तियाक राईले बताएका छन ।
मन्त्री बन्न लागेका तीन जना अध्यक्ष उपेन्द्र यादव पक्षका हुन् भने राजेन्द्र श्रेष्ठ संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई पक्षका हुन् । बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले जसपालाई चार मन्त्रालय दिने टुंगो लगाएको थियो । मन्त्री चयनमा अध्यक्ष यादवले आफू पक्षधरलाई मन्त्री बनाउन खोजेको भन्दै अर्का अध्यक्ष भट्टराईले असन्तुष्टि पोखेका थिए । यी हुन् माओवादीबाट मन्त्री हुनेहरु नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने नेताहरुको जिम्मेवारी पनि तोकिएको छ । यसअघि मन्त्री बन्नेको नाम टुंगो लगाए पनि कुन मन्त्रालय कसलाई भन्ने टुंगिएको थिएन । माओवादी केन्द्रका एक नेताका अनुसार, देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनाउने भएका छन् । त्यस्तै शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मा दिने पार्टीमा निर्णय भएको छ ।
राज्यमन्त्रीमा सिफारिस बोधमाया यादवलाई शिक्षा वा भूमि व्यवस्थाको राज्यमन्त्री दिने तयारी छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाएको छ । देउवाले प्रधानमन्त्रीबाट सपथ लिएकै दिन जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका थिए । यी हुन् एकीकृत समाजवादीबाट मन्त्री हुनेहरु नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने पार्टीका मन्त्रीहरुको नाम टुंगो लगाएको छ । नेकपा (एस)ले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीबाट खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन् । एक नेताका अनुसार उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको छ ।
झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएको स्रोतको भनाई छ । बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो । आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको हो । गठबन्धनबाट कांग्रेस सभापति देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । यसअघि देउवाले कांग्रेसका बालकृष्ण खाणलाई गृहमन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री र ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री तथा उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएका थिए । यस्तै नेकपा माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भएका थिए । प्रधानमन्त्री बनेको झन्डै तीन महिनामा देउवाले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।