काठमाडौं । काठमाडौंको नक्सालमा पौने दुई अर्बको अपार्टमेन्ट बन्ने भएको छ । ‘रोयल स्टेट’ प्राइभेट कम्पनीले नक्सालस्थित हाँडीगाउँमा १४ तले लक्जरियस प्रिमियम अपार्टमेन्ट बनाउन लागेको हो ।
पौने दुई अर्ब लागतमा निर्माण गर्न लागिएको उक्त अपाटमेन्ट अबको ३ वर्ष अर्थात सन् २०२४ सम्ममा तयार हुने बालाजी इन्भेष्टमेन्ट प्रालि र रोयल स्टेट प्रालिका प्रबन्ध निर्देशक नितिन गोयलले जानकारी दिए ।
‘रियल स्टेटको क्षेत्रमा काम गरिरहेका तीनवटा व्यवसायिक समूह (बालाजी इन्भेष्टमेन्ट, कालिका कन्सट्रक्सन र पायोनियर ग्रुप) मिलेर यो परियोजना संचालन गर्न लागेका हुन् ।
रोयलस्टेट प्रालिको अर्को व्यवसायिक साझेदार संस्था बालाजी इन्भेष्टमेन्ट प्रालि रियलस्टेट क्षेत्रमा राम्रो अनुभव हासिल गरिसकेको कम्पनी हो । सो कम्पनीले यसअघि अमेरिकन पुरानो दुतावास रहेको करिब २१ रोपनी जग्गामा पानीपोखरी हाइट्स नामक परियोजनामा ४५ वटा अत्याधुनिक हाउजिङ निर्माण गरेर बिक्री गरेको थियो ।
बालाजी इन्भेष्टमेन्टले बनाएको सो हाउजिङ लक्जरी हाउजिङका कारण पनि चर्चित थियो । पानीपोखरी हाइट्समा पनि अत्याधुनिक निर्माण सामग्रीको प्रयोग गरी अत्याधुनिक डिजाइनमा हाउजिङ बनाइएको थियो । सो कम्पनीले काठमाडौंकै जडिबुटीमा अर्को परियोजना पनि सफलतापूर्वक सम्पन्न गरेको छ । यस्तै, रोयलस्टेट प्रालिको अर्को साझेदार पायोनियर ग्रुप पनि व्यवसायिक रुपमा सफल ग्रुप मानिन्छ ।
अपार्टमेन्ट निर्माण गर्नको लागि कम्पनीले नक्सालको गहनापोखरीमा सबा ५ रोपनी जग्गा पनि खरिद गरिसकेको छ । अहिले कम्पनीले नक्सा डिजाइन तयार पारिरहेको छ भने छिट्टै नै उपत्यका विकास प्राधिकरणबाट स्वीकृति लिइने गोयलले जानकारी दिए । लक्जरियस सो अपार्टमेन्टको नक्सा डिजाइनको काम स्वदेशी तथा विदेशी अनुभव प्राप्त डिजाइनर कम्पनीले तयार पारिरहेका छन् ।
सो लक्जरी अपार्टमेन्ट एउटैको २ करोड ६० लाख रुपैयाँको हारहारीमा बिक्री गर्ने योजना कम्पनीको छ । लोकेसन तथा निर्माण गुणस्तरका कारण लक्जरियस हुने सो अपार्टमेन्ट बढ्दो शहरिकरणका लागि उच्च वर्गका उपभोक्ताको रोजाइमा पर्न सक्ने कम्पनीको आंकलन छ ।
अपार्टमेन्ट बन्न लागेको स्थान शान्त रमणीय हुनाका साथै सांस्कृतिक र पुरातात्विक हिसावले पनि उत्तिकै महत्वपूर्ण स्थान भएकोले उक्त अपार्टमेन्ट रोज्ने क्लाइन्टको आर्कषण अझ बढी हुने प्रबन्ध निर्देशक गोयलले बताए । ‘यो स्थान काठमाडौंको मात्र नभएर संसारमा परिचित स्थान हो, कही नभएको जात्रा हाडीगाउँमा भन्ने उखान यहि स्थानबाट भएको हो ।
यस्तै कैलाशकुट भवन तथा राष्ट्रिय विभूति भृकुटीको जन्म स्थान पनि यहीँ रहेको छ । हिन्दु धर्मालम्बीहरूको महत्वपूर्ण धार्मिक स्थल पशुपतिनाथको मन्दिर पनि छोटो दूरीमै पुग्न सकिन्छ ।
अपार्टमेन्ट प्लस हाउसिङ र त्यहाँ बन्ने स्विमिङ पुल, बाल उद्यान समेतको लागत इस्टिमेट हुँदै गरेकोले एक अर्ब ८० करोड रुपैयाँसम्म खर्च हुन सक्ने अनुमान कम्पनीले गरेको छ । ‘यो हाम्रो ठूलो प्रोजेक्ट हो,’ गोयलले भने ‘हामी यसलाई नमूना प्रोजेक्टको रुपमा विकास गर्दैछौं ।’ अपार्टमेन्टमा बस्ने क्याइन्टले फोहोर समेत उचाल्न पर्दैन, उनले भने ‘यो काम सबै त्यहाँ जडान गरिएको मेशिनले गर्नेछ । यो अपार्टमेण्ट समग्रमा अत्याधुनिक सुविधासम्पन्न हुनेछ ।
यसअघिसम्म अमेरिका, भुटान, नेपाल जस्ता देशका विकास आयोजना निर्माण गरिरहेको कालिका ग्रुप अफ कम्पनी अन्तर्गतको कालिका कन्सट्रक्सन कम्पनीले रियलस्टेट व्यवसायमा हात हालेको पहिलो पटक हो । सो ग्रुप अन्तर्गत जलविद्युत, संचार, निर्माण, सफ्टवयर आउटसोर्सिङ जस्ता क्षेत्रमा लगानी गरिरहेको छ । सन् १९७६ मा स्थापना भएको सो ग्रुपको अध्यक्ष पूर्वमन्त्री तथा राप्रपा नेता विक्रम पाण्डे छन् । अहिले सो ग्रुपको व्यवसाय उनका छोरा निकोलस पाण्डेले हेर्ने गरेका छन् । निकोलस पाण्डे अहिले निर्माण व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्ष पनि हुन् ।