बुधबार, वैशाख २६ गते २०८१

टुंगियो अमेरिकी सेनाको २० वर्षदेखिको अफगानिस्तान मिसन 

टुंगियो अमेरिकी सेनाको २० वर्षदेखिको अफगानिस्तान मिसन 

अखबार दैनिक
मंगलबार, भदौ १५ २०७८
  • टुंगियो अमेरिकी सेनाको २० वर्षदेखिको अफगानिस्तान मिसन 

    संयुक्त राज्य अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको छ।

    images

    काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जेनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ।

    सेना फिर्ती अभियानको सुपरिवेक्षण गरेका जेनरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको बताए।

    अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जेनरल मकेन्जीले भने,"हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभन्टीन विमान उडेको छ। योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ। जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जसअन्तर्गत ओसामा बिन लादेन तथा उनका थुप्रै अलकायदा षड्यन्त्रकारीहरूमाथि कारबाही भएको थियो।"

    उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको बताए।
     
    अन्तिम अमेरिकी विमान बाहिरिएसँगै तालिबानले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मशीन गनबाट गोली चलाएर हर्षोल्लास गरेका थिए।

    बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेटका अनुसार बाहिरिन लागेका अमेरिकी सैनिक र तालिबानका एलिट सुरक्षा गार्डहरू एउटा अप्ठेरो क्षणमा आमनेसामने भएका थिए।

    अन्त्यहीन युद्धपश्चात् अमेरिकी फौज फर्किन लागेपछि तालिबानको समूह विमानस्थललाई आफ्नो नियन्त्रणमा लिन आएको थियो।

    यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ भित्र अमेरिकाबाट सेना फिर्ता गर्ने बताएका थिए।

    विगत दुई साताजतिको अवधिमा अमेरिकी, अरू विदेशी र अफगान नागरिक गरी लगभग एक लाख २० हजार जनालाई उद्धार गरिएको थियो।

    यसैबीच अमेरिकी राष्ट्रपति बाइडनले फौज फिर्तीबारे मङ्गलवार अमेरिकी जनतालाई सम्बोधन गर्दैछन्।

    उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिँदै उनले मानवीय सहयोग र अफगानिस्तान छाड्न चाहनेहरूको आवतजावतको सुनिश्चितताका लागि तालिबानहरूसँग निरन्तर रूपमा कूटनीतिक तहबाट वार्ता गरिनुपर्ने उल्लेख गरेका छन्।

    अघिल्लो साता इस्लामिक स्टेट खोरोसान समूहको आक्रमण बेहोरेको काबुल विमानस्थलमा सोमवारर पनि बारम्बार रकेट आक्रमण भएको थियो।

    अमेरिकी सेनाले गरेको एउटा ड्रोन आक्रमणमा आइतबार छ बालबालिकासहित १० जना मारिएको तिनका आफन्तहरूले बताइरहेका छन्।

    अमेरिकी रक्षा मन्त्रालय पेन्टगनले विमानस्थलका गैरसैनिकमाथि हुनसक्ने आक्रमण रोक्न आफूले ड्रोन हमला गरेको भन्दै ती विवरणको अनुसन्धान गरिरहेको जनाएको छ।

    पेन्टगनको पत्रकार सम्मेलनमा जेनरल मकेन्जीले सन् २००१ सेप्टेम्बर ११ को केही पछि अफगानिस्तानमा सुरु भएको सैनिक कारबाही समाप्त भएको घोषणा गरेका थिए।

    तर हाल तोकिएको समयसीमाभित्र उद्धार हुन नसकेका व्यक्तिहरूको कूटनीतिक ढङ्गबाट उद्धार प्रयास जारी राखिने उनले उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार