गण्डकी प्रदेशको प्रमुख विपक्षी दल नेकपा एमालेले कांग्रेस नेतृत्वको प्रदेश सरकारको शुरुवात भ्रष्टचार बाट भएको बताएको छ । एमाले संसदीय दलले शनिबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहँदा कांग्रेस नेतृत्वको प्रदेश सरकारले १६ करोड रुपैयाँ रकमान्तर गर्नु भ्रष्टाचारको सुरुवात भएको अरोप लगाएको हो ।
एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथबी सुब्ब गुरुङले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी बाँडेको भन्दै ‘गैरबजेटरी खर्च नै भ्रष्टाचार भएको बताउनुभयो । कार्यकर्ता पोस्नलाई गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यमा रकामान्तर गरेको आरोप लगाउनुभयो । गुरुङले आफ्नो सरकारले जाँदाजाँदै ४ अर्बभन्दा बढीको टेण्डर गरेको आरोप झुट भएको प्रष्टीकरण समेत दिनुभयो । आफ्नो नेतृत्वको सरकारले कुनै बजेट, नीति तथा कार्यक्रममा नभएका योजनामा रकम खर्च नगरेको दाबी गर्दै बजेट अभावका कारण एकैपटक टेण्डर गर्न नसक्ने भएपछि टुक्र्याउनु परेको उहाँले स्पष्ट पार्नुभयो । प्रदेश सरकारले आफु नेतृत्वको सरकारका वहुवर्षीय योजनालाई हटाउन बहानाबाजी गर्दै यस्तो तर्क गरेको बताउनुभयो । सरकारको नेतृत्व परिवर्तन भएपनि लक्ष्य एउटै भएकाले आफ्नो सरकारले थालेका बहुवर्षी योजनालाई निरन्तरता दिदै दिगो विकासका लक्ष्य, अल्पकालीन, मध्यकालिन योजना पूरा गर्न समेत सरकारलाई सुझाव दिनुभयो । गुरुङले अघिल्लो सरकारले अगाडी बढाएका योजनाहरु लाई बिचैमा अलपत्र पार्ने काम भए कडा प्रतिपाद गर्ने समेत बताउनुभयो ।