आइतबार, जेठ ६ गते २०८१

रुपा सुनारले डेढ करोड रुपैयाँ लिएको झूटो खबर फैलाउने व्यक्ति भारतीय एजेन्ट 'विकाश कुमार ठाकुर'

रुपा सुनारले डेढ करोड रुपैयाँ लिएको झूटो खबर फैलाउने व्यक्ति भारतीय एजेन्ट 'विकाश कुमार ठाकुर'

अखबार दैनिक
शुक्रबार, असार २५ २०७८
  • रुपा सुनारले डेढ करोड रुपैयाँ लिएको झूटो खबर फैलाउने व्यक्ति भारतीय एजेन्ट 'विकाश कुमार ठाकुर'

    ईमेज टेलिभिजनमा उकाली ओराली कार्यक्रम प्रस्तोता रुपा सुनार र बबरमहलस्थित घरभेटी प्रधान बिचको विवाद समाधान हुन नपाउँदै नेपालपाना नामक मिडियामा ‘अफवाह’ प्रकाशित भयो, जसको शिर्षक थियो,–‘नेपालमा जातिय द्वन्द भड्काउन रुपा सुनारलाई युरोपेली युनियनले दियो डेढ करोड ।’

    images

    कथित ‘समाचार’को लिडमै रुपा सुनार जातिय मुद्दालाई चर्काएर चर्चामा आएको उल्लेख थियो । जबकी रुपाले जातिय विभेद विरुद्ध बोलेकी थिइन् । त्यो कुनै जातिय मुद्दा थिएन । देशकै मुद्दा थियो । जातिय विभेद हटाउन राज्यले नै अर्बौं बजेट खर्च गरिरहेको जगजाहेर नै छ ।

    news-1024x551.jpg

    सोही समाचारको सातौँ प्याराग्राफमा शिर्षकसँग सम्बन्धित वाक्यांश छ । जसमा लेखिएको छ,– स्रोतका अनुसार चर्चामा आएकी रुपा सुनारलाई समेत ईयले यसै मुद्दाका लागि झण्डै डेढ करोड रुपैयाँ दिएको छ । सो पैसा ईयु निकट संस्थाले सुनारले दिएको स्रोतको दावी छ ।’

    रुपा सुनारलाई डेढ करोड दिएको भनिएको ‘ईय’ भन्ने कुनै संस्था नै छैन । शुरुमा इयले रुपालाई डेढ करोड दिएको भनिएको छ र अन्तिममा ईयु निकट संस्थाले सुनारले दिएको भनिएको छ ।

    यहाँनिर ईयु निकट संस्थाले सुनारलाई दिएको हो वा सुनारले ‘ईयु’लाई दिएको हो भन्ने नै खुलेको छैन । कसले कसलाई दिएको भन्ने नै यकिन खुल्ने गरि यो समाचारमा बुझ्न सकिन्न । डेढ करोड रुपैयाँ दिएर रुपालाई कोठा खोज्न पठाउने युरोपियन युनियनका कुन पदाधिकारी होलन् ? भन्ने यो समाचारमा कतै उल्लेख छैन ।

    यतिधेरै अस्पष्ट र तथ्यहिन समाचार एउटा पत्रकारले तयार पारेको भन्ने तपाईंलाई लागेको भए तपाईं भ्रममा हुनुहुन्छ ।

    एउटा समाचार समाचार बन्नका लागि लामो प्रक्रिया पार गरेर आउनुपर्छ । यो समाचार तयार पारेर रुपाको चरित्र हत्या गर्ने पात्र पत्रकार नभएर भारतीय दूतावासको ‘एजेन्ट रहेको’ फेला परेको छ ।

    आफुलाई नेपाल फाउन्डेशनका अध्यक्ष बताउने विकाश कुमार ठाकुर हिन्दु युवा जनशक्ति संघ नेपालका अध्यक्ष हुन् । उनै ठाकुरले आफ्नो भाई विवेक ठाकुरको नाममा यो अनलाइन दर्ता गराएका छन् । तर, कागजी रुपमा विवेकलाई अघि सारेर ठाकुरले भारतीय दूतावासको योजनामा नेपालमा अफवाह फैलाउँदै आएका छन् ।

    hindu.jpg

    उनी निकट स्रोतहरुका अनुसार उनी भारतीय हिन्दु अतिवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ ‘आरएसएस’का नेपाल प्रतिनिधि हुन् । नेपालमा भारतीय गतिविधि बढाउने र जातिय हिंसा भड्काउने उद्देश्यले विकासलाई दूतावासले एजेन्टकै रुपमा खटाएको स्रोतले बतायो ।

    उनले नेपालमा हुने विभिन्न घटनाक्रममा हिन्दु युवा जनशक्ति संघ नेपालको नाममा विज्ञप्ति निकालेका छन् । नेपालमा रहेर उनी चीन विरोधी गतिविधिमा समेत समलग्न छन् । २०७६ असोजमा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिङपिङ विरोधी गतिविधि गर्न सक्ने आशंकामा उनलाई प्रहरीले पक्राउ समेत गरेको थियो । असोज २४ गते उनलाई नेपाल प्रहरीले फर्पिङबाट पक्राउ गरि हिरासतमा राखेको भारतीय टेलिभिजन आजतकलाई ठाकुरले दिएको अन्तर्वार्तामा उल्लेख छ ।

    nn-963x1024.jpg

    सामाजिक सञ्जालमा उनको तस्विर हेर्ने हो भने भारतीय जनता पार्टीका नेताहरुसँग नै उनको उठबस छ । भाजपा नेता विजय जोली, भगतसिंह कोसियारी लगायत नेतासँग उनको उठबस देखिन्छ । त्यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग उनको उठबस बाक्लै देखिन्छ । उनलाई आदित्यनाथले मायाको चिनो नै नै दिएको तस्विर सामाजिक सञ्जालमा भेटिन्छ । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित नेपालले राजनीतिक नक्सा जारी गर्दा योगी आदित्यनाथले नेपालले भारतलाई सोध्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यति मात्रै होइन नेपालमा हिन्दुराष्ट्र हुनुपर्ने भन्दै उनले विवादास्पद अभिव्यक्ति दिएका थिए । उनै योगी समलग्न रहेको आरएसएसमा ठाकुर समेत समलग्न रहेको सम्बद्ध स्रोतको दाबी छ ।

    आरएसएसको भगिनी संगठनको रुपमा ठाकुरले हिन्दु युवा जनशक्ति संघको नाममा विज्ञप्ति निकाल्ने गरेका छन् । ठाकुर नेपालमा राजदूत नियुक्त भएर आउने भारतीय राजदूतलाई विमानस्थलमै स्वागत गर्न जाने गरेका छन् । दूतावासबाट आउने रकमलाई भने उनले ‘नेपाल फाउन्डेशन’ नामक संस्था मार्फत व्यापक भ्रष्टाचार गर्दै आएका छन् । सोही रकममा उनले नेपालका केही पत्रकारलाई भारत भ्रमणमा लैजाने गरेको विश्वस्त स्रोतले बतायो ।

    ठाकुरले तिनकुने स्थित नेपाल फाउन्डेशनकै कार्यालयबाट ‘नेपाल पाना’ नामक अनलाइन चलाउँदै आएका छन् । यो अनलाइन मार्फ उनले अफवाह फैलाउन भूमिगत शैली अपनाउने गरेका छन् । केहीदिन अघि अनलाइनको ठेगाना, सम्पादक र सम्पर्क समेत उल्लेख गरिएको थिएन । तर, रुपा सुनारले प्रेस काउन्सिल नेपालमा उजुरी दिएकै दिन उनले अनलाइनमा ठेगाना र सम्पर्क नम्बर राखेका छन् ।

    नेपालमा अहिले भारत भर्सेस ईयुको अवस्था छ । दूतावास यतिबेला युरोपिय युनियनलाई बद्नाम गराउन क्रियाशिल छ । रुपा सुनारले विभेद भोगेदेखि जाहेरी दिएको दिनसम्म थाहा नपाएको यो अनलाइनले घरबेटी प्रधान रिहा भएको दिन जब नेवारहरु सडकमा उर्लिए सोही दिन ‘ईयु’लाई जोडेर तथ्यहिन अफवाह फैलाउनुमा भारतकै स्वार्थ रहेको स्रोत बताउँछ ।

    साइबर अपराधमा कारबाही गरियोस् : रुपा सुनार

    आफ्नो चरित्र हत्या गरेको भन्दै रुपा सुनारले नेपाल पाना विरद्ध उजुरी दिएकी छिन् ।

    ‘दलित अभियान्ता रुपा सुनारको स्टन्ट जातिय द्वन्द गराउने युरोपियन युनियनको खेल घरबेटीका श्रीमानले ल्याए रुपाको असली कर्तुत’ लगायत शिर्षक राखि मेरो विषयमा हुँदै नभएको तथ्यहिन र फर्जी अफबाहा फैल्याइरहेको छ ।

    प्रकाशित समाचारहरुमा एउटा सम्प्रदाय, समुदायमाथि विभेदजन्य शब्दहरु उल्लेख गरि अर्को समुदायलाई उचाल्ने र हिंसा भड्काउने नियोजित प्रयासहरु समेत भएका छन्,’ उजुरीमा भनिएको छ,‘नेपालको संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने उल्लेख गरेको छ । तर, ममाथि सञ्चारमाध्यमको आवरणमा गलत अफबाह फैलाई मेरो बाँच्न पाउने अधिकार नै छिन्ने कोशिस गरिएको आभाष भएको छ ।’ उनले प्रेस काउन्सिल समक्ष साइबर अपराधमा उक्त अनलाइनका सञ्चालकमाथि कारबाही गर्नुपर्ने माग राखेकी छिन् ।

     

    श्रोत : दियोपोष्ट  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार