झरी
चकमन्न त्यो रातमा अनौठो
तपतप आवाज संगै ऊ बिउँझियो
धेरैपछि परेको ठूलो झरीले
उसको छानै छेडेको थियो
झरी, कुनै उदेश्य लिएर झर्दैन
कुनै दिन, समय र अवस्था पनि हेर्दैन
बस, आफ्नै गतिमा झर्छ
तर यथार्थ यो हो कि,
झरीले हर कोहिलाई उदेश्य दिन्छ,
कहिले झरीले जीवन दिन्छ
कहिले जिउने आशा दिन्छ
भने, कहिले सबथोक लिन्छ पनि
फरक यत्ति हो, महसुस कसरी गर्ने?
त्यो रात तपतप आवाज निकाल्दै
चुहिरहेको छानो हेर्दै मुस्कुरायो ऊ
उसलाई छानो चुहिएको पिर भन्दा
खुसी यो सोच्नमा थियो कि,
प्यासले चर्किएको माटोको तिर्खा मेटिनेछ
फिक्का पाखाहरुमा हरियाली छाउनेछ
अनि पौरखीको मनमा शितल पवन सल्बलाउँनेछ
त्यसैले ऊ छानो चुहिए पनि झरीलाई पुजिरहन्छ
किनकी ऊ त निमुखा किसान हो ।