नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको टिप्पणी गरेका छन्। आइतबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले यस्तो बताएका हुन्।
ओलीको असंवैधानिक कदमको विरुद्धमा आफ्नो पार्टी सडक आन्दोलनमा रहेको पनि उनले स्पष्ट पारे। पौडेलले ओलीको कदमले संविधानको रक्षाको प्रश्न गम्भीर भएर आएको पनि बताए। उनले प्रधानमन्त्री ओलीको बहिर्गमनपछि राजनीतिक दलहरुले सहमतिका आधारमा पछाडिको बाटो तय गर्नेसमेत दाबी गरेका छन्।
नेता पौडेलले देशमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरु संसद बिघटनको विरोधमा, लोकतन्त्रको पक्षमा, कानूनी राजको पक्षमा सडकमा आएको भन्दै प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालहरु नै जनताको वास्तविक नेता भएको बताए। उनले भने, ‘‘प्रधानमन्त्री भइसकेका व्यक्तिहरु सडक हुनुहुन्छ। लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा, कानूनी राजको पक्षमा। उहाँहरुले सडकबाट जनताको आवाज बोल्नुभएको छ।’’
‘‘प्रधानमन्त्री केपी शर्मा ओली कुनै अलौकिक शक्ति होइन, उहाँ पनि हामीजस्तै जनताबाट चुनिएर आएको नेता हो’’ उनले भने, ‘‘ओलीको कदमले देश नै संविधानको पक्षमा छ, लोकतन्त्रको पक्षमा छ। सिंगो देश एकातिर छ, ओली अर्कोतिर छन्। ओलीसँग कोही जनता छैनन्। लोभपापमा रहेका नेताहरु मात्र ओलीको पक्षमा छन्। पद र लोभको पक्षमा रहेका मान्छेबाहेक कोही पनि नेता–कार्यकर्ता ओलीको छैनन्। उनीहरु पनि पछुताउँदै हिडेका छन्।’’
‘‘नेपालको राजनीतिमा प्रचण्ड जनताको पक्षमा हुनुहुन्छ। उहाँले पार्टी एकता जोगाउन अन्तिमसम्म प्रयास गर्नुभएको हो’’ नेता पौडेलले भने, ‘‘पौष ५ गते बिहान प्रचण्डले हामीलाई बोलाउनुभएको थियो। हामीले एकता जोगाउनुस् भन्यौं, प्रचण्डले पार्टी एकता जोगाउन अन्तिमसम्म प्रयास गर्नुभएको थियो। तर, ओलीले मान्दै मान्नुभएन। प्रधानमन्त्रीलाई पार्टीले कुनै असहयोग गरेको थिएन। हामीले प्रधानमन्त्रीलाई सच्चाउन खोजेका थियौं। तर, प्रधानमन्त्रीले त व्यवस्थामाथि नै आक्रमण गर्नुभयो।’’
आफू प्रचण्ड–नेपालको पक्षमा दृढतापूर्वक उभिएको नेता पौडेलले बताए। उनले भने, ‘‘पार्टी एकताको रक्षाका निम्ति मैले पनि सम्भव भएसम्म प्रयास गरेको हो। तर, हाम्रो प्रयासले मात्र सम्भव भएन। म प्रचण्डको पक्षमा थिएँ र छु, तपाईहरु मिल्नुस्, पार्टी एकता मिलाउनुस् भनेको हुँ। तर, ओलीले त्यो मान्नुभएन। उहाँले आफ्नै पार्टी भत्काउनुभयो, लोकतन्त्रमाथि प्रहार गर्नुभयो, संविधानमाथि आगो लगाउनुभयो।’’
ओलीले अलोकतान्त्रिक बाटो रोजेको उनले बताए। उनले भने, ‘‘ओली संकटकाल लगाएर शासन चलाउने सोचमा हुनुहुन्छ। यस्तो पनि लोकतन्त्र हुन्छ ? हामीले उहाँलाई लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दिएको हो। लोकतन्त्रको खिलाफमा उभिने जनादेश दिएको होइन। तर, उहाँले त्यसको अपमान गर्नुभयो। प्रधानमन्त्रीले आफ्नै कमरेडहरुको कुरा सुन्नसमेत सक्नुभएन। उहाँले सुन्नुपर्दैन ? के उहाँ पार्टीभन्दा माथि हो, संविधानभन्दा माथि हो ? उहाँले छलफलबाट समाधान खोज्नुपर्दैन ?’’
‘‘ओलीले बनावटी कुरा गरिरहनुभएको छ, संसदले उहाँलाई कहाँ छेक्यो, कसले अवरोध गर्यो ?’’ नेता पौडेलले भने, ‘‘सरकारका तीनवटा नीति, कार्यक्रम र बजेट आए। त्यहाँ पार्टीले कहाँ असहयोग गर्यो, संसदले कहाँ असहयोग गर्यो ? उहाँले कहिल्यै सही बाटो रोज्नुभयो ? उहाँले पार्टीले हात बाँध्यो भनेर भाग्न मिल्छ ? के उहाँले भ्रष्टाचारीलाई कार्वाही गर्न खोज्नुभयो, के त्यहाँ पार्टीले असहयोग गर्यो ? लिम्पियाधुरा, लिपुलेकको नक्शा जारी गर्दा सरकारलाई पार्टीले पूरै सहयोग गरेको होइन ? उहाँले झुटो कुरा गर्दै हिँड्नुभएको छ।’’
ओली सरकारको आयु धेरै नभएको नेता पौडेलले बताए। उनले भने, ‘‘वैशाखदेखि उता ओलीले कुनै पनि अवस्थामा सरकार लम्बाउनसक्ने अवस्था छैन। अदालतमा बहस छ, अदालत संसद पुनर्स्थापना गर्छ। मानिलिउँ, अदालतले बिघटन बदर गरेन भने वैशाखपछि उहाँहरु जाने राष्ट्रपति शासनमा हो। त्यसपछि जनता सडकमा आउँछन्, त्यो अवस्थामा ओलीले थेग्न सक्नुहुन्छ ? त्यसपछि जनताले फैसला गर्दैनन् ?’’
‘‘जनता सडकमा आइसकेका छन्। जुन दिन यो सरकारको आयु लम्बाउन संकटकाल लगाउने कोशिस हुन्छ’’ नेता पौडेलले भने, ‘‘त्यसपछि देशमा संयुक्त जनआन्दोलन हुन्छ। अहिले कांग्रेसमा अलिअलि चुनावको आशा छ, त्यो नहुने अवस्थामा फेरि आन्दोलनले गति लिन्छ। जनता सबै मिलेर सडकमा आउँछन्। जनआन्दोलनपछि प्रचण्ड, देउवा र डा. बाबुराम भट्टराईमध्ये जो–कोही पनि प्रधानमन्त्री हुन सक्नुहुन्छ, त्यतिबेला जे समझदारी हुन्छ, उहाँ नै प्रधानमन्त्री बन्नुहुन्छ। त्यो सबै कुरा समझदारीबाट हुन्छ। संविधानका पक्षधर शक्तिहरु मिलेर अघि बढ्छौं।’’