पोखरा
गण्डकी प्रदेश सभाको विशेष अधिवेशन शुरु भएको छ ।
गत ३० मंसिरमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड १९ को उपचार, नियन्त्रण, व्यवस्थापन, मूल्यवृद्धि, बेरोजगारी लगायतका विषयमा सरकारको जवाफ माग्दै विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरे अनुसार मंगलबार १ बजे विशेष अधिवेशन बोलाइएको हो ।
प्रदेश सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले कोभिड १९ को नियन्त्रण गर्न तथा आर्थीक गतिविधि चलायमान गराउन र कालोबजारी नियन्त्रणमा गण्डकी प्रदेश सरकारले सधै अग्रसरता देखाएको बताउनुभयो ।
मुख्यमन्त्री गुरूङले प्रतिनिधि सभा विघटन गर्नु लोकतान्त्रिक भएको बताउनुभयो । उहाँले लोकतान्त्रिक पार्टीका लागि जनताका बीचमा जाने प्रधानमन्त्रीको कदमलाई अलोकतान्त्रिक भन्न नमिल्ने बताउनुभयो । चुनावले नेतृत्वलाई सुध्रने अवसर दिने भन्दै नेतृत्व विकास र हस्तान्तरणमा पनि चुनाव महत्वपूर्ण माध्यम भएको बताउनुभयो । संसदमा ६४ प्रतिशत सांसदको दलको नेता प्रधानमन्त्री आफै रहेको र बाँकी रहेका ३६ प्रतिशतले सरकार बनाउने सम्भावना नरहेकोले संसद विघटन संवैधानिक रहेको बताउनुभयो ।
प्रदेश सभाको विशेष अधिवेशनमा बोल्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रधानमन्त्रीले अलोकतान्त्रिक तथा संविधानको मूल्यमान्यताको विपरीत प्रतिनिधि सभा विघटन गरेको बताउनुभएको थियो ।
संविधानले नदिएको कुरा प्रधानमन्त्रीले प्रयोग गरेको भन्दै नेपालीले सर्वोच्चले लोकतन्त्र र संविधानको पक्षमा निर्णय दिनेमा आफूहरू ढुक्क रहेको बताउनुभयो ।
प्रदेश सभाको विशेष अधिवेशनमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा, जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य लगाएतले बोल्नुभएको थियो ।
अर्को बैठक यही पुस २६ गते दिनको ठिक १ बजे बस्ने छ ।