बिहीबार , असोज ३ गते २०८१

अनेरास्ववियूआन्दोलन : ओलीको पुत्ला दहनदेखि बयलगाडा प्रदर्शनसम्म

अनेरास्ववियूआन्दोलन : ओलीको पुत्ला दहनदेखि बयलगाडा प्रदर्शनसम्म

अखबार दैनिक
मंगलबार, पुस २१ २०७७
  • अनेरास्ववियूआन्दोलन : ओलीको पुत्ला दहनदेखि बयलगाडा प्रदर्शनसम्म

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा बिघटन गर्ने ओली सरकारका विरुद्ध देशव्यापी संघर्ष गर्ने भएको छ। मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियूले देशव्यापी आन्दोलनको घोषणा गरेको हो।

    images

    संगठनका सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘प्रधानमन्त्री केपी ओलीद्वारा गत पौष ५ गते असंवैधानिक रुपमा प्रतिनिधि सभाको बिघटन गर्दै चालिएको प्रतिगमनकारी र अलोकतान्त्रिक कदमका विरुद्ध हाम्रो गौरवशाली संगठन अनेरास्ववियू सोही दिनबाटै निरन्तर आन्दोलनरत छ। अनेरास्ववियू आफैले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ सङ्घर्षको मैदानमा दृढतापूर्वक अघि बढिरहेको छ।

    यसै बिचमा संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुल्चिँदै प्रदर्शनकारीलाई धम्क्याउने तर्साउने र धरपकड गर्ने कायरतापूर्ण कार्य नगर्न चेतावनी दिन चाहन्छौं। यदि नागरिकको वाक स्वतन्त्रता र मौलिक हकलाई सत्ताको बुटले कुल्चिने धृष्टता गरेमा त्यसको सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं । असंवैधानिक रुपमा बिघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना गर्दै प्रतिगमनकारी कदम नसच्याउंदा सम्म हाम्रो सङ्घर्ष अझ सशक्त रुपमा अघि बढ्नेछ।’’

    अनेरास्ववियूले सरकारको कदमविरुद्ध पहिलो चरणमा गरिएको संघर्षको कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। दोस्रो चरणका संघर्षका कार्यक्रममा पौष २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन, पौष २१ गते प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा, पौष २२ गते उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकताअनुसार लाल्टिन/सिटी/लाठी जुलुस, पौष २३ गते ( देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन, पौष २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, पौष २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम, पौष २६ गते बयलगाडा प्रदर्शन, पौष २७ गते प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम, पौष २८ गते सडक नाटक र सडक आर्ट, पौष २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन लगायत रहेका छन्।

    त्यसैगरि अनेरास्ववियूले शैक्षिक कार्यक्रमसमेत तय गरेको छ। शैक्षिक संघर्षका कार्यक्रममा संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल बितरण गर्न सङ्घर्ष गर्ने, कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमूलक कार्यक्रम सञ्चालन, कोभिड–१९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरि ढंगले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने लगायत रहेका छन्।

    संगठनले माघ १ गतेपछि तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने भन्दै संघर्षको मोर्चामा होमिन आफ्ना सम्पूर्ण संगठन र कार्यकर्तालाई अपीलसमेत गरेको छ।

    136338686_3753042874758110_3039128303474750433_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ