पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले प्रधानमन्त्रीले संसद भंग गरेको अंवैधानिक भन्दै प्रचारमात्र गरिएको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै उहाँले संसद् विघटन सबैभन्दा लोकतान्त्रिक, संवैधानिक र गणतन्त्रात्मक भएको बताउनुभयो ।
संविधानको धारा मिचेर प्रतिनिधिसभा विघटन ग¥यो भन्नु गलत प्रचार मात्र भएको भन्दै मुख्यमन्त्री गुरुङले बहुदलीय शासन प्रणालीमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई जनताले म्याण्डेट हुँदाहुँदै काम गर्न नदिएपछि संसद भंग गरेर जनतामा जानु सबैभन्दा लोकतान्त्रिक र संबैधानिक भएको बताउनुभयो ।
उहाँले कुनै पनि हालतमा संसद पुनस्र्थापित नहुने दाबी समेत गर्नुभयो । प्रधानमन्त्रीले संसद भंग गरेर राजा तथा सेनालाई नबुझाएको बताउदै मुख्यमन्त्री गुरुङले सरकार चलाउन आफ्नै दलबाट घेराबन्दी गरेर जनताले दिएको मतको अपमान गर्ने परिपाटी अन्त्य गर्नका लागि प्रधानमन्त्री ओलीले जनताबाट फैसला गराउन चाहेको बताउनुभयो । गुरुङले ओली समूह नेकपाको संस्थापन भएको दाबी गर्दै सूर्य चिन्ह आफ्नै रहेको र चुनावमा जनताले भारी मतका साथ आफुहरुलाई विजयी गराउने दाबी गर्नुभयो ।
नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले आधिकारिक नेकपा आफूहरु भएको दावी गर्नुभयो । प्रचण्ड–माधव समूहलाई सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी दिदै बस्नेतले ओलीलाई अलोकप्रिय भन्नेहरुले चुनाव मार्फत आफ्नो लोकप्रियता देखाउन चुनौती समेत दिनुभयो ।
नेकपाका नेता खगराज अधिकारीले तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन हुने भन्दै युवालाई चुनावको तयारीमा सक्रियताका साथ लाग्न निर्देशन दिनुभयो ।