४ पुष २०७७
नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गरेका बालागुरु षडानन्दले नेपाली समाजमा पुर्याएको योदानको स्मरणमा आज उनको जन्मजयन्ती मनाइँदैछ । विसं १८९२ मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भोजपुर जिल्लाको दिङ्लामा पिता लक्ष्मीनारायण र माता रुक्मिणी अधिकारीको पुत्रकारुपमा जन्मलिएका षडानन्दले विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरी सबै जातजातिका मानिसले पढ्न पाउने व्यवस्था मिलाका थिए । राजधानी शहरमा समेत राणा र उच्चवर्गीय परिवारले मात्र पढ्न पाउने त्यो बेलामा जनताको समेत सहयोग लिएर पठनपाठनको व्यवस्था मिलाइएको थियो । यो औपचारिकरुपमा स्थापना भएको नेपालको पहिलो पाठशाला मानिन्छ । त्यसबेला आममानिसले दैनिक उपभोग गर्ने अत्यावश्यक चीजबीजको सहज आपूर्ति थिएन । किसानले उत्पादन गरेका अनाज बिक्री गर्ने व्यवस्था नहुँदा मानिस कष्ट भोग्न बाध्य थिए । षडानन्दले दिङ्ला भञ्ज्याङमा प्रत्येक शनिबार हाटबजार लाग्ने व्यवस्था मिलाए । यसले भोजपुर र सङ्खुवासभाका धेरै जनतालाई दैनिक जीवन उपार्जनमा सहजता मिलेको थियो । त्यसैबेलादेखि दिङ्लामा स्थापना भएका शिवालय एवं राम, सीताका मन्दिरमा बाला चतुर्दशी र रामनवमी पर्वको मेला शुरु भयो । मेलामा पनि बजार लाग्ने व्यवस्था मिलाएपछि त्यस क्षेत्रका मानिसको जीवन यापनमा सजिलो भयो । षडानन्दले बगैँचा स्थापना गरेर धेरै प्रकारका बिरुवा लगाए । त्यसक्षेत्रका वनजङ्गलमा प्रशस्त हुने रुद्राक्षलाई उनले व्यावसायिक खेती गर्न जनतालाई प्रेरित गरे। यो खेती हाल भोजपुर, सङ्खुवासभा र धनकुटाका विभिन्न स्थानमा भइरहेको छ जसले अर्थोपार्जनमा सहयोग गरेको छ । १५० वर्षअघिदेखि वन संरक्षण शुरु गरेकैले यस क्षेत्रको पर्यावरण सुधारमा योगदान गरेको दिङ्ला पुर्ख्यौली थलो भएका दयाकृष्ण न्यौपाने बताउँछन् । षडानन्दले विसं १९४० मै जगेडा वनको अवधारणा ल्पयाएका थिए। उनको सोचअनुसार स्थापना भएको वनलाई हाल विकासका नाममा वन विनाश गर्न थालेको राजधानीमा बस्दै आएका भोजपुरवासीको गुनासो छ । नेपालमै पहिलोपटक सामुदायिक वनको सोच अघि सारेका षडानन्दको यो पाटो ओझेलमा परेको इन्द्रमणि सुवेदी बताउँछन् । अष्ट्रेलियन वन परियोजनाले पञ्चायतकालमा सिन्धुपाल्चोकको ठोकर्पामा शुरु गरेको अभियानलाई पहिलो सामुदायिक वनको शुरुआत भनिएकामा उनको आपत्ति छ । वनलाई समुदायको हितमा उपयोग गर्ने षडानन्दको योगदान बिर्सन नहुने सुवेदीको माग छ । षडानन्दको कालदेखि नै भोजपुर र यस वरपरका जिल्लामा शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा भएको विकासले पूर्वी क्षेत्रको अर्थतन्त्र धानिएको बताइन्छ । षडानन्दले विसं १९४० मा बहुआयामिक उद्देश्य समेटेको सीताराम गुठी स्थापना गरे। गुठी अन्तर्गत विद्यालय, मन्दिर, भौतिक संरचना, धार्मिक सांस्कृतिक कामको उन्नयन एवं व्यवस्थापनका साथै ऋण प्रदान सेवा पनि समेटिएको उनका विषयमा अन्वेषण गरिरहेका यादव चापागाईँ बताउँछन् । गुठीमा तीन हजार २१७ रोपनी जग्गा राखिए पनि हाल त्यो मासिएर करिब ९०० रोपनीमा सीमित भएको छ । राजनीतिक दाउपेचले सामाजिक हितमा उपयोग हुँदै आएको गुठी जग्गा संरक्षण हुन नसकेको स्थानीयवासीको गुनासो छ । षडानन्द नगरपालिकाले पुरातात्विक महत्वका सिँढी, राम, सीता र हनुमानका नाममा स्थापना भएका कुण्ड पुनःनिर्माण गर्न लागेको छ । गुठी व्यवस्थापनका लागि नगरपालिकामा गुठी शाखा नै स्थापना गर्न लागिएको नगरपालिकाले जनाएको छ । गुठीको अध्यक्ष रहेका दिङ्लावासी कृष्णप्रसाद पौडेल जग्गासमेत भएकाले षडानन्दको योगदानको कदरका लागि विश्वविद्यालय स्थापना गर्न ढिलाइ गर्नु नहुने माग गर्छन्। तीनै तहका सरकारको सक्रियतामा कृषि वा अन्य नामका विश्वविद्यालय बनाउन सकिने दिङ्लावासीको माग छ ।
षडानन्द र योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने षडानन्द प्रतिष्ठानका सदस्यसचिव लालनाथ सुवेदीले बताए। समाजसुधारका क्षेत्रमा योगदान गरेका दुवैको योगदानको कदर गर्दै विभूति घोषणामा ढिलाइ गर्नुनहुने उनको भनाइ छ ।
षडानन्दले विसं १९४० मा सती जान बाध्य पारिएका दुई महिलालाई मृत्युको मुखबाट बचाएर समाज सुधार आरम्भ गरेको भोजपुरवासी बताउँछन् । भोजपुर वितलवका ७० वर्षीय हरिलाल लम्सालको निधन हुँदा समवयी जेठी श्रीमती र १८ वर्षीय कान्छी श्रीमतीलाई सतीका रुपमा पठाउन बेग्लाबेग्लै डोलीमा राखिएको थियो । स्थानीय नन्दीकेश्वर अधिकारीबाट यसको जानकारी पाएपछि षडानन्द लम्सालको घरतर्फ लागे।
बाटो लागिसकेको शवयात्रालाई रोकी मलामीलाई दुवै महिलालाई सती पठाउन नहुने भनी उनले सम्झाएपछि दुई जनाको जीवन बचेको षडानन्दका विषयमा अध्ययन अनुसन्धानमा लागेका प्रा डा गोविन्दमानसिंह कार्की बताउँछन् । षडानन्दले आफ्नी आमा रुक्मिणीको निधन भई अरुण नदीको सतीघाटमा अन्तिम संस्कारको लागि गएका बेला अरुणपारी मृतक पतिसँगै पत्नीलाई जलाएको घटना सुनेका थिए । त्यहीबेलादेखि उनी यो अमानवीय प्रथाको अन्त्यका लागि दृढसङ्कल्पित भए।
सुदूर पूर्व भोजपुरको दिङ्लाबाट बालागुरु षडानन्दले शुरु गरेको अभियानले विसं १९७७ मा साकार रुप लियो । तत्कालीन श्री ३ राणा प्रधानमन्त्री चन्द्रशम्शेरले सतीप्रथा उन्मुलनको घोषणा गरे। शिक्षासेवामा महत्वपूर्ण योगदान गरेका षडानन्दले सतीप्रथा उन्मूलनका लागि राणा सरकारलाई उत्प्रेरित गरेको थिए ।
आबाल ब्रह्मचारी षडानन्दले २४ पटक गायत्री पुरश्चरण गरेका थिए। योग साधनामासमेत उनको विशेष योगदान छ । शिक्षा, स्वास्थ्य, समाजसुधार एवं जनजीविका चलाउन सीप सिकाउने षडानन्दको योगदान वैदिक ज्ञानको उन्नयनमा समेत छ । उनले राजधानीको टेकु, पचली, गोकर्णेश्वर उत्तरगया क्षेत्रलगायत स्थलमा आध्यात्मिक साधनासमेत गरेका थिए । उनको योगदानको स्मरण गर्दै उत्तरबाहिनीसमेत भनिने गोकर्णेश्वर उत्तरगया क्षेत्रमा शालिक निर्माण भइरहेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ षडानन्दले राणाकालमै पूर्वी नेपालमा बालेको अध्यात्मको ज्योति निभेकाले त्यसलाई पुनर्जीवित गर्न थप अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताउँछन्। मन्त्रमा विज्ञानलाई फेल गराउने ज्ञान भएकाले दिङ्लाको अध्यात्मको ज्योति फेरि जगाउनुपर्ने उनको भनाइ छ ।