ललितपुर, ९ मङ्सिरः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक रहेको बताउनुभएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्नुहुँदै मन्त्री बादीले लैङ्गिक हिंसा अन्त्यका लागि पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न न्याय प्रणालीलाई सहज, छिटो, छरितो र कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।
“हिंसापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक तथा सामाजिक अवरोध हटाउनु आवश्यक छ, नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र आठ प्रतिशतले यौन हिंसा भोगेको तथ्याङ्क छ । हिंसा प्रभावितमध्ये ५८ प्रतिशतले कसैसँग सहयोग नमागेको र न्यायका लागि पहल नगरेको तथ्य सार्वजनिक भएको छ, सामाजिक लाञ्छना, प्रतिशोधको डर, कानुनी सहायता अभाव र आर्थिक परनिर्भरता जस्ता पक्ष न्याय प्राप्तिमा बाधक बनेका छन्, त्यसतर्फ ध्यान जान आवश्यक छ ।”, मन्त्री बादीले भन्नुभयो ।
उहाँले लैङ्गिक हिंसाले प्रभावितको शिक्षा, रोजगारी, उत्पादकत्व र आयआर्जनमा प्रत्यक्ष असर पार्नुका साथै स्वास्थ्य उपचार, कानुनी प्रक्रिया र मनोसामाजिक परामर्शमा आर्थिक भार थप्ने बताउनुभयो । सरकारले लैङ्गिक हिंसाविरुद्ध राष्ट्रिय कार्ययोजना तयार गरी पीडितको उद्धार, संरक्षण, पुनःस्थापना, निःशुल्क कानुनी सहायता, सुरक्षित आवास गृह तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत सेवा विस्तार गरिरहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री बादीले लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन, तीनै तहका सरकारबीच समन्वय र निजी क्षेत्रसहित सबै सरोकारवालाको सहकार्यबाट हिंसामुक्त तथा आर्थिक रूपमा सबल समाज निर्माण हुने यथार्थलाई आत्मसात् गरी अघि बढ्न अनुरोध गर्नुभयो ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिक हिंसा न्यूनीकरण तथा अन्त्यका लागि सम्बद्ध सबै पक्षबीच सहकार्य गरी सहज पहुँचसहित न्याय सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले हिंसा प्रभावित महिलालाई निःशुल्क कानुनी सहायता, सुरक्षित आवास, मनोसामाजिक परामर्श, पुनःस्थापना र आर्थिक सशक्तीकरणका अवसर उपलब्ध गराउँदै लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस