सोमबार, मंसिर ७ गते २०८३

नेपालको माग धाम्रा–मुन्द्रा, भारतको सहमति कान्डला–पारादीपमा

नेपालको माग धाम्रा–मुन्द्रा, भारतको सहमति कान्डला–पारादीपमा

अखबार दैनिक
सोमबार, मंसिर ७ २०८३
  • नेपालको माग धाम्रा–मुन्द्रा, भारतको सहमति कान्डला–पारादीपमा

    ७ मंसिर, काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका थप दुई बन्दरगाह प्रयोग गर्न पाउने भएको छ।

    भारतले गुजरातस्थित कान्डला र ओडिसास्थित पारादीप बन्दरगाह प्रयोग गर्न नेपाललाई पहुँच दिने भएको हो।

    नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यसबारे घोषणा गरेका हुन्।

    यसअघि नेपालले गुजरातको मुन्द्रा र ओडिसाको धाम्रा बन्दरगाह प्रयोग गर्न पाउनुपर्ने माग गर्दै आएको थियो। सन् २०१९ मै यी दुई बन्दरगाह प्रयोगका विषयमा सहमति भएको भए पनि कार्यान्वयनको विषय टुंगिएको थिएन।

    यसपटक भने नेपालले माग गरेका बन्दरगाहको सट्टा सोही राज्यमा रहेका अन्य दुई बन्दरगाह प्रयोग गर्न पाउने सहमति भएको हो।

    धाम्रा र मुन्द्रा बन्दरगाह निजी क्षेत्रको अडानी समूहले व्यवस्थापन गर्दै आएको छ। तर नेपालले पहुँच पाएका कान्डला र पारादीप बन्दरगाह भारत सरकारकै सञ्चालनमा छन्।

    हाल नेपालले भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै तेस्रो मुलुकसँग व्यापार गर्दै आएको छ। कोलकाता र हल्दियालाई नेपालले एउटै व्यापारिक मार्गका रूपमा लिने गरेको छ।

    थप दुई बन्दरगाहको पहुँच प्राप्त भएसँगै नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि समुद्री मार्गका विकल्प विस्तार हुने अपेक्षा गरिएको छ। यसले आयात–निर्यातमा बन्दरगाह छनोट र ढुवानी व्यवस्थापनमा थप विकल्प उपलब्ध गराउन सक्नेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ