काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगले आगामी निर्वाचनको कार्यतालिका प्रस्ताव गर्दै स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ ।
शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले यस्तो प्रस्ताव प्रस्तुत गरेको हो ।
आयोगमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छलफलमा पुगेका थिए । तर उनले पार्टीका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएर आफू बाहिरिएका थिए ।
छलफलका क्रममा नेकपाका संयोजक प्रचण्डले आयोगले प्रस्ताव गरेको निर्वाचन कार्यतालिका उपयुक्त देखिएको प्रतिक्रिया दिएका छन् । स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव सकारात्मक रहेको उल्लेख गर्दै उनले यसबारे पार्टीभित्र थप छलफल र अध्ययनपछि अन्तिम धारणा बनाउने बताएका छन् ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने २०७९ मंसिर ४ गते प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो । ती निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते समाप्त हुँदैछ ।
स्थानीय तहका गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ । जनप्रतिनिधिको कार्यकाल सकिन करिब पाँच महिना मात्रै बाँकी रहेको अवस्थामा निर्वाचन आयोगले दलहरूसँग निर्वाचनको तयारी र समयतालिकाबारे छलफल अघि बढाएको हो ।
आयोगको प्रस्ताव कार्यान्वयनमा आए आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन हुनेछ । यद्यपि, निर्वाचनको अन्तिम मिति र कार्यतालिकाबारे राजनीतिक दलहरूसँगको परामर्श तथा आवश्यक निर्णयपछि टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस