मंसिर ११,
भारतीय विदेशसचिव हर्षवर्धन शृंगला बैठकमा सहभागी हुन बिहीबार नेपाल आउँदै छन् । नेपालका तर्फबाट परराष्ट्रसचिव भरतराज पौडेल र भारतका तर्फबाट विदेशसचिव शृंगलाले बैठकमा नेतृत्व गर्दै छन् । यो बैठक नेपाल र भारतबीच तत्काल देखिएका समस्याबारे छलफलभन्दा पनि नियमित र औपचारिक विषयवस्तुमा केन्द्रित हुने देखिएको छ ।
भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले संविधान संशोधन गरी नयाँ नक्सा सार्वजनिक गरेपछि दुई मुलुकबीचको सम्बन्ध सुमधुर छैन। सचिवस्तरीय बैठकमा सीमा विवादको मुद्दा नउठाउने पक्षमा भारत देखिएको छ। एजेन्डामा नभए पनि नेपालले कुनै न कुनै रूपमा भारतीय विदेशसचिवसँग कालापानी क्षेत्रमा देखिएको सीमा विवादबारे कुरा राख्ने तयारी गरेको छ ।
परराष्ट्रसचिव पौडेलले शृंगलासँगको एकान्त (वान टु वान) बैठकमा सीमा विवादका कारण देखिएको समस्याबारे छलफल गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। परराष्ट्रविदहरूले भने बैठकमा नेपालले सीमा विवाद र ईपीजी प्रतिवेदनबारे गम्भीर रूपमा कुरा उठाउनुपर्नेमा जोड दिएका छन् ।