१९ कात्तिक, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई पदबाट हटाइएको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।
सरकारले आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेपछि कार्कीले उक्त निर्णयलाई अन्यायपूर्ण भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् ।
कार्कीको रिट लिएर केहीबेरअघि उनका कानुन व्यवसायीहरू सर्वोच्च अदालत पुगेका छन् । अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि रिट दर्ता हुने वा नहुने विषयमा टुंगो लाग्नेछ ।
यसअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाउँदै उक्त पदमा एआईजी मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी, कार्कीका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी उक्त जिम्मेवारी दिने निर्णयसमेत सरकारले गरेको थियो ।
सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्की न्यायिक उपचारको मागसहित सर्वोच्च अदालत पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस