बिहीबार , कात्तिक १९ गते २०८३

उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

अखबार दैनिक
बुधबार, कात्तिक १८ २०८३
  • उपत्यकामा एकैदिन ६०८ सवारीचालक ट्राफिक कारबाहीमा

    काठमाडौँ, १८ कात्तिक : काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।    
        
    कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९, सिसीटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने २३ र तीव्रगतिमा सवारी चलाउने ५८ जना रहेका छन् ।    
        
    त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने १३, लेन अनुशासन उल्लङ्घन गर्ने आठ, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २१ र एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने दुई जना कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३६९ जना चालकलाई समेत कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।    
        
    उहाँका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा जाँचलाई तीव्रता दिइएको छ । ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको छ ।    
        
    विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्रगति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको जनाइएको छ ।    
        
    ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित जाँच गरी सिसीटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ । प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । (रासस)   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार