शुक्रबार, मंसिर ७ गते २०८१

नेकपा विवादमा बाबुराम भट्टराईको रहस्यमय सक्रियता !

नेकपा विवादमा बाबुराम भट्टराईको रहस्यमय सक्रियता !

अखबार दैनिक
मंगलबार, मंसिर ९ २०७७
  • नेकपा विवादमा बाबुराम भट्टराईको रहस्यमय सक्रियता !

    मंसिर ९,

    images

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुल बास्कोटाले नेकपाको आन्तरिक विवादमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको ‘रहस्यमय सक्रियता’ रहेको बताएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् बाबुरामको सक्रियता अर्थपूर्ण भएको बताएका हुन् । ‘नेकपाको आन्तरिक शक्ति सङ्घर्षमा भूतपूर्व कमरेड डा. बाबुरामको रहस्यमय, तर सक्रिय र खुला प्रवेशले धोवीघाट गठबन्धनका स्वघोषित सूत्रधार काजी कमरेड मात्र हैन, म पनि खुशी छु’, उनले फेसबुकमा लेखेका छन्, ‘अब पोल्टो र भुइँ बचाउने सङ्घर्षले सही दिशा समात्छ भन्ने हाम्लाई लाइराछ, हेरौं के हुन्छ !’

    पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सोमबार देशको मुख्य मुद्दा र व्यक्ति ओली नभई ओली प्रवृत्ति भएको भन्दै ट्वीट गरेका थिए । उनको अभिव्यक्तिमाथि प्रधानमन्त्री ओलीका विश्वासपात्र बास्कोटाले कटाक्ष प्रहार गरेका हुन् ।

    ‘व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् । तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्प विकासको मुख्य वाहक हो,’ अध्यक्ष भट्टराईले लेखेका छन्, ‘अग्रगमनको मुख्य बाधक हो । यो एउटा पार्टीको मुद्दा मात्र हैन । कुनैपनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौं ।’ नेकपाभित्रको विवाद चर्किँदै गएपछि प्रधानमन्त्री ओलीले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेको समाचारहरू बाहिरिएका छन् । तर, उनीनिकट नेताहरू त्यो कुरा स्वीकार गर्न चाहँदैनन् । नेकपाभित्रको एकपछि अर्को विकसित घटनाक्रमले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको दुरी बढिरहेको छ ।

    के हो धोवीघाट गठबन्धन ?

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टीएकता हुनुपूर्व माओवादीभित्र देखिएको दरारको अवस्थामा धोवीघाट गठबन्धन उत्पन्न भएको थियो । तत्कालीन माओवादी केन्द्रमा रहँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘साइजमा ल्याउन’ भन्दै माओवादी उपाध्यक्षत्रय भट्टराई, मोहन वैद्य, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापाबीच २०६८ साउनमा धोवीघाट गठबन्धन बनेको थियो ।

    माओवादीमा धोवीघाट गठबन्धनले दाहाललाई अल्पमतमा पारेको थियो । धोवीघाट गठबन्धनको नेतृत्व नेता भट्टराईले नै गरेका थिए । अहिले सत्तारुढ नेकपाभित्र देखिएको विवादलाई लिएर प्रधानमन्त्री ओली निकटका नेता बास्कोटाले धोवीघाट गठबन्धनको कुरा उठाएका हुन् । नेकपामा प्रधानमन्त्री ओलीविरुद्ध अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरिरहेका छन् । यो मोर्चाबन्दीले प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ